१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

फेश्की फछ्र्यौटका लागि नक्कली बिल र हस्ताक्षर

नमुना समाजको बेइमानी

चिंगाड गाउँपालिका

चिंगाड गाउँपालिकाले वीरेन्द्रनगरस्थित नमुना समाजसँग अघिल्लो आर्थिक वर्ष चार वटा टोललाई नमूना गाउँ निर्माणका लागि छ करोड २९ लाखको संझौता ग¥यो । संझौतामा गाउँपालिकाले एक करोड २९ लाख र नमुना समाजले पाँच करोड रुपैयाँ खर्चिने उल्लेख छ । संझौता लगत्तै नमुना समाजले गाउँपालिकाबाट १२ लाख रुपैयाँ पेश्की लग्यो । आर्थिक वर्ष २०७६/०७७ को अन्त्यतिर नमुना समाजले एक करोड बराबरको बिल भपाई गाउँपालिकामा पेश ग¥यो ।  

‘संस्थाले उपलब्ध गराएका कागजातमा शंका लागेपछि सम्वन्धीत वडामा बुझेका थियौं,’ प्रमुख प्रशासकीय अधिकृत हरि देवकोटाले भने, ‘कामै नगरेर नक्कली विल र कागजात पेश गरेको पाइयो ।’ वडाले पेश्की फछ्र्यौटका लागि पटक–पटक पत्र पठाएको छ । नमुना समाजका पदाधिकारी अहिले सम्पर्कमा छैनन् ।

गाउँपालिकासँग भएको संझौतामा तीन वर्षको अवधिमा वडा नम्वर–१ को सुब्बा टोल, वडा नम्वर–२ को काँडापोखरी, वडा नम्वर–३ को काँडाघुवानी र वडा नम्वर–६ को पुडे टोललाई नमुना गाउँ बनाउने उल्लेख छ । यस अन्र्तगत टोलहरुमा सरसफाई, नमुना बस्ती निर्माण, होम–स्टेलगायतका कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ ।  

संझौता अनुसार काम गर्नुको सट्टा नमुना समाजले पेश्की फछ्र्यौटका लागि स्थानीयहरुको किर्ते हस्ताक्षर र बिलहरु बनाएर गाउँपालिकामा बुझाएको छ । स्थानीयका अनुसार चार मध्ये दुई वटा वडाका दुई टोलमा एक रुपैयाँ पनि नमुना समाजले खर्च गरेको छैन् । तर, तालिम सञ्चालन गरेको, गाडी भाडा उपलब्ध गराएको, खाना–खाजालगायतका बिल र भपाई पेश गरिएका छन् ।

नमुना समाजले कार्यक्रम सञ्चालन गर्ने भनिएका टोलहरुमा टोल संयोजक तोकेको छ । वडा नम्वर–३ को काँडाघुवानी टोलका संयोजक जंगबहादुर घर्तीले नमुना समाजका नामबाट टोलमा एक रुपैयाँ पनि खर्च नभएको बताए । संस्थाले गाउँपालिकामा पेश्की फछ्र्यौटका लागि बुझाएको भपाईमा भने घर्तीको नाममा ५० हजार ४६० रुपैयाँ बुझेको उल्लेख छ । ‘नमुना समाजका नाममा अहिलेसम्म टोलमा कुनै कार्यक्रमहरु भएका छैनन्,’ घर्तीले भने, ‘मेरो नाममा किर्ते हस्ताक्षर गरेको भरपाई गाउँपालिकामा पेश भएको पत्ता लाग्यो ।’  

उनले नमुना समाजबाट एउटा डायरी र रजिष्टरबाहेक केही पनि प्राप्त नभएको बताए । ‘तर, मेरै नामको चार–पाँच ठाउँमा किर्ते हस्ताक्षर गरेर गाउँपालिकामा बिल, भरपाई पेश भएको छ,’ उनले भने, ‘यो विषयमा पटक–पटक संस्थाका अध्यक्ष र कार्यकारी निर्देशकसँग बुझ्न खोन्दा उनीहरु सम्पर्कमा आएनन् ।’

प्रमुख प्रशासकीय अधिकृत देवकोटाले पेश्की फछ्र्यौटका लागि ताकेता गरेपनि अहिलेसम्म संस्थाका कुनै पनि पदाधिकारी सम्पर्कमा नआएको बताए । ‘धेरै पटक पत्र पठायौं, अहिलेसम्म कोही पनि सम्पर्कमा आएका छैनन्, पेश्की पनि फछ्र्यौट भएको छैन्,’ उनले भने, ‘अव कारवाही प्रक्रियामा जान्छौं ।’ उनले संस्थाले ठगी गरेको पाइएकाले चालू आर्थिक वर्षका लागि बजेट नछुट्याइएको बताए ।  

नमुना समाजका कार्यक्रम संयोजक लालबहादुर जिएमले आफुहरुले फेश्की फछ्र्यौटका लागि गाउँपालिकामा बिल, भरपाई पेश गरेको बताए । ‘अघिल्लो आर्थिक वर्षको अन्त्यमै बिल र भरपाई पेश गरेका हौं,’ उनले भने, ‘त्यसपछि के भयो थाहा छैन् ।’

प्रकाशित: १५ फाल्गुन २०७७ ११:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App