coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सिद्धिचरण लोकमार्ग स्तरोन्नति माग गर्दै दबाब समूह गठन

सिद्धिचरण लोकमार्गमा पर्ने कटारी ११ स्थित ठाँटी भन्ज्याङमा सडक मर्मत गरिदै। तस्विरः महेश्वर

सिराहाको मिर्चयादेखि उदयपुरको पश्चिमी व्यापारिक केन्द्र कटारी हुँदै ओखलढुंगा जोड्ने सिद्धिचरण लोकमार्ग स्तरोन्नतिको माग गर्दै स्थानीय उपभोक्ता आन्दोलित भएका छन्। वषौंदेखि जिर्ण सडकमा पटकपटक दुर्घटना हुँदा धेरै धनजनको क्षति भएको भन्दै सडक स्तरोन्नति तत्काल गर्न स्थानीयले दबाब समूह गठन गरेका हुन्।

दीगो मर्मत र स्तरोन्नतिका लागि सरोकारवाला निकायको धेरै पटक ध्यानाकर्षण गराए पनि बेवास्ता गरेपछि आन्दोलन गर्न बाध्यत भएर दबाब समूह गठन गर्नु परेको कटारी नगरपालिका ११ का वाडाध्यक्ष दिपक बुढाक्षेत्री (सरोज) ले बताए। अघिल्लो दिन भएको स्थानीय उपभोक्ताको भेलाले वडाध्यक्ष क्षेत्रको संयोकजत्वमा गठित ५७ सदस्यीय ‘सिद्धिचरण लोकमार्ग स्तरोन्नित दबाब समूह’ गठन गरी आन्दोलनको घोषणा गरेको हो।  

कटारी ११ को बेतेनीमा सम्पन्न भेलाले सहसंयोजकमा अम्बर मगर र सचिव क्षेत्रबहादुर खड्कालाई चयन गरेको छ। समूहमा कटारी ८ का वडाध्यक्ष कमल श्रेष्ठ, ९ नं. वडाध्यक्ष बेगबहादुर आलेमगर, १० नं. वडाध्यक्ष लिलानाथ भट्टराई, १३ का वडाध्यक्ष नेत्र श्रेष्ठ र १४ नम्वर वडाध्यक्ष तेजबहादुर आलेमगर पनि सदस्य बसेका छन्। सडक स्तरोन्नतिका लागि यसअघि पनि स्थानीयले पटकपटक नगर, सडक डिभिजन, भौतिक तथा पूर्वाधार मन्त्रालय, सडक विभागलगायत सरोकारवाला निकायमा लिखित र मौखिक अनुरोध गर्दै आएका थिए।  

पत्राचार तथा प्रतिनिधिमण्डल गएर लिखित तथा मौखिक अनुरोध गर्दा लोकमार्गको स्तरोन्नति नभएपछि बाध्य भएर संघर्ष गर्न दबाब समूह गठन गर्नुपरेको कटारी ८ का वडाध्यक्ष श्रेष्ठले बताए। उनका अनुसार समूहले सडकको दीगो स्तरोन्नति र मर्मतका लागि छिट्टै नगरपालिका, प्रदेश तथा संघीय सरकार, सडक विभाग तथा डिभिजनमा प्रतिनिधिमण्डल जाने योजना बनाएको छ।  

सिद्धिचरण लोकमार्ग सिरहाको मिर्चयासँग जोडिएको सीमानाका कटारी १ चुरेदेखि वडा नं. १४ घुर्मीसम्म ४६ किलोमिटर खण्डले उदयुरलाई छोएको छ। तर, वर्षौंदेखिको जिर्ण सडकमा पटकपटक दुर्घटना हुँदा धेरै जनधनको क्षति भईसकेको छ। साँघुरो, भिरालो र समयमा मर्मत नहुँदा खाल्टैखाल्टा सडक वर्खायाममा पहिरो जाने, भत्काउने गरेर जिर्ण भए पनि दीर्घकालीन मर्मत र स्तरोन्नतिप्रति सरकारले चासो नदिएको वडा नं. १४ का वडाध्यक्ष मगरले बताए। उपभोक्ताको मागप्रति स्थानीय, प्रदेश र संघीय सरकार उदासिन रहँदै आएपछि दबाब समूह गठन गरेर आन्दोलन गर्न बाध्य भएको उनले बताए।  

झण्डै २० वर्षअघि निर्माण भएको सिद्धिचरण लोकमार्ग माथिल्लो सगरमाथाका ओखलढुंगा, खोटाङ र सोलुखुम्बुलाई तराईभेगसँग जोड्ने व्यापारिक मार्गको रुपमा सञ्चालनमा ल्याइएको हो। तत्कालीन नेपाली सेनाको कालीबक्स गणले निर्माण गरेको लोकमार्ग पहाडी भेगको भएकाले साँघुरो, घुम्ती र भिरालो रहेको छ। ६ मिटर चौडाई कालोपत्रे गरिएको उक्त सडक एकदशकसम्म राम्रै भए पनि मारुती सिमेन्ट उद्योग सञ्चालनमा आएपछि चुनढुंगा ढुवानी गर्ने टिपरकै कारण भत्कन सुरु गरेको थियो। वर्षेनी मर्मत गर्ने गरिए पन ३–४ महिना नपुग्दै भत्केर जस्ताको तस्तै हुने सडक अहिले भर्खर खनेको कच्चीभन्दा गएगुज्रेको अवस्थामा पुगेको छ।  

प्रकाशित: १३ फाल्गुन २०७७ ०८:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App