१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

गोरखा–फिनाम सडकमा धुलोको सास्ती

कालोपत्रे गर्नुपर्ने धुलाम्य सडक । तस्विर ः नागरिक

गोरखा सदरमुकाम भएर ग्रामिण भेग जाने अस्पतालमार्ग–बराह–फिनाम सडक खण्डमा निमार्ण व्यवसायीको लापरवाहिले पैदलयात्रीलाई सास्ती भएको छ । २०७७ भदौ २४ गते पक्की नाली सहित कालोपत्रे गर्ने ठेक्का सम्झौता गरेको बानियाँ निर्माण सेवाले सडक निर्माण ढिला गर्दा समस्या भएको हो ।  

अत्यधिक धुलोका कारण उक्त सडक भएर दिनहुँ आउजाउ गर्ने सरस्वती मावि आहाले, वल्र्ड क्यापिटल लगायतका विद्यालयमा पढ्ने विद्यार्थीले निकै सास्ती भोगेका छन् । ४ दशमलव ६ किलोमिटर सडक दुईवर्ष भित्र निर्माण सक्ने गरी ८ करोड ४७ लाख रुपैयाँमा बानियाँ निर्माण सेवाले जिम्मा लिएको हो । सडकमा अहिले काम गर्ने मान्छे खासै देखिँदैनन् ।  

‘कामको गती सन्तोष मान्ने खालको छैन’ पूर्वाधार विकास कार्यालय गोरखाका इन्जिनियर गणेश सुवेदीले भने ‘हामीले पटक पटक निर्माण व्यवसायीलाई काम छिटो गर्न भनेका छौं । तर, काममा ढिलाई भएको छ ।’ निर्माण जिम्मा लिने कम्पनीले काम गर्दा अरुलाई बाधा नपर्ने, असर नहुने गरी धुलो मारेर काम गर्नुपर्छ । पानी बारम्बार राख्नुपर्छ । तर उक्त सडक खण्डमा पानी बोक्ने ट्याङ्कर नै देखिँदैन । सडक भएर यात्रा गर्नेहरु एउटा गाडी आएपछि टाढा दौडनुपर्ने, पर्खिएर बस्नुपर्ने बाध्यता छ ।  

एकदिन लगाएको विद्यालय पोशाक अर्को दिन लगाउन नमिल्ने गरी धुलाम्य हुने गरेको भन्दै विद्यार्थीले बारम्बार शिक्षकसँग गुनासो सुनायने गरेका छन् । ‘दिनदिनै विद्यालयबाट फोन आउँछ, अविभावकले पनि गुनासो गर्नुहुन्छ,‘गोरखा– ८ का अध्यक्ष कृष्ण केसीले भने ‘हामीले पूर्वाधार कार्यालयलाई बारम्बार भनिरहेका छौं, एक दिन पानी हालेको जस्तो गर्छन, फेरी उस्तै हुन्छ, नियमित पानी नहाल्दा समस्या भएको छ ।’  

बिहान विद्यालय आउने र बेलुकी फर्कने समयमा र पैदल यात्रीले दिनभरी उक्त सडक भएर हिड्दा धुलो खान बाध्य छन् । सडक वरपर घर भएकाहरुले पनि गुनासो गर्ने गरेको वडाअध्यक्ष खत्रीले बताए । ‘निर्माण व्यवसायले हामीलाई टेरेनन’ उनले भने । गोरखा सदरमुकाम भएर आरुघाट, घ्याम्पेसाल, बुङ्कोट, बोर्लाङ, सोती, माछाखोला, ताकुकोट लगायत ठाउँमा सवारी साधन आउजाउ गर्छन । ग्रामिण भेगको मूख्य व्यापारिक केन्द्र आरुघाट जाने उक्त सडक खण्डमा निरन्तर सवारी चलिरहन्छ ।  

सडकमा अत्याधिक धुलोका कारण पैदलयात्रीलाई सास्ती भएको गुनासो आइरहेको बताउँदै इन्जिनियर सुवेदीले निर्माण व्यवसायीलाई काम छिटो सक्न आग्रह गरेको बताए । सडक निर्माणको कामले सन्तोषजनक गति लिन नसकेको बताउँदै उनले अहिलेसम्म करिब २० प्रतिशत मात्र काम भएको अनुमान गरे । दुई वर्ष भित्र निर्माण पुरा गर्ने सम्झौता गरेको कम्पनिले करिब एककरोड रुपैयाँ भुक्तानी लिईसकेको पूर्वाधार बिकास कार्यालयले जनाएको छ ।  

निर्माण कम्पनीका इन्जिनियर गौतम गुरुङले दैनिक दुईसय भन्दाबढि गाडी उक्त सडक खण्ड भएर ओहोरदोहोर गर्ने हुँदा पानी राख्दा पनि निरन्तर धुलो उड्ने गरेको बताए । ‘हामीले हाम्रो क्षमता अनुसार पानी राखेका छौं, तर अझै पुगेको छैन’ उनले भने । कामदार थोरै हुँदा सडक निर्माणको कामले गती लिन नसकेको स्विकार्दै केही दिनमा कामदार थप गर्ने उनले बताए । 

प्रकाशित: ११ फाल्गुन २०७७ ०९:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App