१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

स्थानीय सरकारको भ्यू टावर मोह : सिन्धुलीको कमलामाईले बनायो 'रुख टावर'

सिन्धुलीको कमलामाई नगरपालिका - १० चदाहा दोभानमा बनेको रुख टावर।

शुक्रबार सिन्धुलीको कमलामाई नगरपालिकाले बनाएको एउटा फलामे टावरको फोटो एकाएक भाइरल भयो। धेरैका फेसबुकको वालमा कमलामाई नगरपालिकाले एउटा रुखमा बनाएको ३० लाखको भ्युटार भनेर फोटो पोष्ट गरिएपछि सबैको चासोको विषय बन्यो उक्त भ्यू टावर। यहाँको कमलामाई नगरपालिकाले एक रुखलाई भ्यू टावर बनाएपछि सोही टावरको चर्चा चुलिएको हो।  कमलामाई नगरपालिकाको वडा नं. १० चदाहा दोभानमा भ्यु टावर बनाएको हो। वनभोज स्थललाई आकर्षक बनाउन भन्दै त्यहाँको एक रुखलाई आधार बनाएर फलामको भ्यू टावर बनाएको छ।  

नगरपालिकाको पर्यटन पुर्वधार कार्यक्रम अनुसार ३० लाख रुपैयाँमा फलामको भ्यूटावर सहित प्रतिक्षालय, पोलिथिन खानेपानी ट्याङकी र १३ ओटा सिटिङ कुर्सी निर्माण गरिएको नगरपालिकाले जनाएको छ। जनताको अपेक्षा विकास निर्माणतिर भएपनि सिन्धुलीका स्थानीय तहका जनप्रतिनिधिहरुको भने भ्युटावरमा ध्यान गएको छ। यहाँका स्थानीय सरकार भ्युटावर बनाउन प्रतिस्पर्धानै गरेर लागेका छन्। यहाँको केहि गाँउपालिकामा भ्यू टावर बनिसकेको छ भने नगरपालिकाले समेत रुखमा फलामको घेराबेरा गरेर भ्यू टावर बनाएको छ। अहिलेको आवश्यकता भ्यू टावरको हो कि टेलिकम टावरको हो? स्थानीय सुर्य पौडेल भन्छन्, ‘आवश्यकता होइन भनौं भने, स्थानीय सरकारले बनाइसक्यो खर्च गरिसक्यो तर अनुत्पादक क्षेत्रमा सरकारको ध्यान गयो। अहिलेनै हामीलाई भ्यु टावर चाहिएको छैन,’ उनि भन्छन्, ‘जनताको अपेक्षा एकातिर छ, सरकार कार्यकर्ता पाल्ने बजेट मिलाउन व्यस्त छ। उनले गाँउमा टेलिकम टावर आवश्यकता रहेको भन्दै अहिलेकै अवस्थामा भ्यू टावरको आवश्यकता नभएको बताए। ‘भ्यू टावर बनाउने बजेट सुन्दा र स्थलगत काम हेर्दा गुणस्तरहीन काम भएको छ,’ उनले भने,‘तर हाम्रो कुरा स्थानीय सरकारले सुन्दैन।’  

कमलामाई नगरपालिका वडा नं. १० का वडाअध्यक्ष कैलाश ढुङगेलले पिकनिक स्पोर्ट रमणीय बनाउने उदेश्यले रुख टावर बनाइएको बताए। ‘रमणीय र केही नयाँ आयामको काम गरौं भनेर हामीले यस्तो रुख टावर बनाएका हौ,’ उनले नागरिकसँग भने, ‘हाम्रो सोच एउटा रुखबाट अर्को रुखसम्म जान सक्ने बनाउने हो।’ केही वर्षदेखि उक्त क्षेत्रमा पिकनिकको चाप बढेपछि पर्यटन शिर्षकको ३० लाख बजेटबाट टावर गजेबु लगायत अन्य संरचना निर्माण गरिएको नगरपालिकाका इन्जिनियर आस्तिक बरालले बताए।  

२०७७ साल असार ३० गते सम्झौता भई मंसिर ३० गते सम्पन्न गर्नुपर्ने गरि लामा कन्ट्रसन प्रालीले ठेक्का पाएको उक्त टावरसहित संरचना बनाउने काम ९७ प्रतिशत सम्पन्न भएको ठेकेदार कम्पनीका कमल लामाले बताए। सिन्धुलीमा पर्यटकीउय क्षेत्रको विस्तारका लागि भन्दै पछिल्लो समय भ्यू टावर बनाउनेको होड चलेको छ। यहाँको गोलञ्जोर गाँउपालिका र फिक्कल गाँउपालिकाले भ्यू टावर बनाइसकेको छ भने अन्य स्थानीय तहमा पनि धमाधम भ्यु टावर बन्दै छन्।

प्रकाशित: ८ फाल्गुन २०७७ १२:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App