१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

गरे के हुँदैनः प्राचीन नगरको नवीन अभ्यास

नगरको मूल ढोकाबाट भक्तपुर जति आकर्षक देखिन्छ त्योभन्दा बढी आकर्षक देखिन्छन् सर्वसाधारणको ढोकाबाट चियाइरहेका जीवनशैली र विकासका नवीन अभ्यासहरू । कोरोनाको संकटकालमा अन्य नगर ‘हब्बेकब्बे’ भएको अवस्थामा यो सहरले आफूलाई विभिन्न क्षेत्रमा ‘भव्य’ बनाउन सफल भयो । नगर भव्य बन्नुमा यहाँको प्राचीन संस्कृति र कलामात्र हैन, जनप्रतिनिधिले ल्याएका विकासका नवीन अभ्यास उत्तिकै महत्वपूर्ण भेटिए । आधुनिक शिक्षासँगै परम्परागत ज्ञानको जगेर्ना गरेर भत्किएका सम्पदा थप बलियो बनाउने कामले प्रतिकूल अवस्थामा पनि तीव्रता पाएको छ । यहाँ रोगीको लागि अस्पताल बनाउने मात्र हैन, निरोगी रहनलाई सार्वजनिक ठाउँमा व्यायामशालासमेत व्यवस्था गरिएको छ । बहुआयामिक सोचका साथ अगाडि बढेको नगरपालिका नेतृत्वलाई फराकिलो सोच राख्ने सर्वसाधारणले उत्तिकै साथ दिएका छन् । त्यसैले कोरोनाकालमा भैरवको रथ तान्ने भिड नदेखिए पनि विकासको रथ भने निरन्तर अगाडि बढेको छ ।

भक्तपुरको पुरानो नगरलाई अष्टमातृकाका आठ देवीले संरक्षण गर्दे आएको प्राचीन मान्यता छ । सम्पदा र संस्कृतिले भव्य यो सहरमा यति बेला भने १० वटा वडा रहेको नगरपालिकाले संरक्षण गरेको नवीन मान्यता भेटिन्छ ।

‘हामी नगरबासीको साझा भावनालाई लिएर एक पाइला मात्र अगाडि बढेका हौं,’ नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भने, ‘हेर्दाहेर्देै विकासको रथ धकेल्ने भिड तयार भयो ।’ आफ्नै लागि काम गरेको भन्ने नगरबासीमा विश्वास पलाउनु नै हरेक सफलताको सूत्र भएको उनले सुनाए ।

अन्य नगरले चासो नदिएका ससाना कुरालाई समेत भक्तपुर नगरपालिकाले प्राथमिकतामा राखेर काम गर्दा जनता थप खुसी भएका छन् । जस्तो कि ‘अन्य नगरमा भत्ताका लागि जेष्ठ नागरिक बैंकको दैलो धाउनुपर्ने अवस्था छ,’ ८२ वर्षीया पुन्यकेशरी नागा भन्छिन्, ‘हाम्रो नगरले बैंकलाई नै घरदैलोमा ल्याउने काम गरेर नागरिकको मन जितेको छ ।’ यतिमात्र हैन, यहाँका बुढाबुढी अस्पताल जानुभन्दा पहिल्यै नर्सहरू घरमै आइपुग्छन् । अन्य नगरले संघीयताको अभ्यास भर्खरैजस्तो थालेका हुन् । तर यो नगरले लामो समयदेखि स्थानीय तहको अधिकारको अघिकतम उपयोग गर्दैे आएको छ । नगर विकासका लागि केन्द्रको मुख नताकेर आफ्नै आम्दानी खर्चंदै आएका कारण यो स्वतन्त्र नगरको रूपमा अगाडि बढेको छ ।

जनतासँग जोडिएर पारदर्शी ढंगले काम गरेर अगाडि बढेका कारण नगरको कार्यलाई धेरैले सकारात्मक ढंगले हेरेका छन् । नगर आम्दानीका प्रमुख स्रोत पर्यटक हुन् । तर पर्यटकको आगमन ठप्प भएको समयमा समेत श्रमदानमार्फत काम हुनु नगरबासीको सफलता रहेको मेयर प्रजापति सुनाउँछन् ।

त्यस्तै लकडाउनका बेलामा कतिपय नगरका कर्मचारी काम नभएको भन्दै आराम गरेर बसे । तर यस नगरले मध्य लकडाउनको बेलामा नगरबासीको स्वास्थ्यलाई ध्यानमा राख्दै क्वारेन्टिन स्थल निर्माण, घरघरमा पुगेर सर्वसाधारणको अवस्थाबारे दैनिक जानकारी राख्नेदेखि कोभिड लागेका बिरामीको उचित व्यवस्थापनमा उल्लेखनीय भूमिका निर्वाह गरेको छ, जुन अझै जारी राखेको छ ।

विदेशबाट आएकाका लागि क्वारेन्टिइन व्यवस्था, नगरपालिकाकै ७५ बेडको आइसोलेसन केन्द्र स्थापना, घरघरमा एकान्तबास बसेकाका लागि उचित व्यवस्थापन गर्न नगरपालिकाले सक्दो सहयोग पु¥याएको मेयर प्रजापतिले बताए । कोभिड १९ संक्रमण समुदायस्तरमा फैलिन नदिन एवं संक्रमितहरूको उपचार, कन्ट्याक्ट ट्रेसिङ र आइसोलेसन व्यवस्थापनका लागि २ करोड ३१ लाखभन्दा बढी रकम खर्चेको नगरपालिकाले जनाएको छ । जसमा नगरले कोरोना रोगथाम र नियन्त्रणको लागि जनस्तरबाट सहयोगको आह्वानसमेत गरेको थियो ।

शिक्षा, स्वास्थ्य, सम्पदा क्षेत्रमा मारेको फड्कोले त जो कोही पनि प्रभावित बन्ने गरेका छन् । त्यसैगरी संस्कृति जगेर्ना, रोजगारमूलक तालिम, पुस्तकालय सञ्चालन, खेलकुद प्रशिक्षणलगायत विभिन्न क्षेत्रमा नगरले देखाएको अग्रसरताले नगरबासी दंग छन् । प्राचीन सभ्यताले समृद्ध भक्तपुर नगरले बाहुआयामिक विकाससँगै भव्य फड्को मारेको छ । कला संस्कृतिको प्राचीन सहरमा विकासको बिगुल फुक्न नगरपालिका सक्षम भएको छ । नगरको मूल ढोकाबाट भक्तपुर जति आकर्षक देखिन्छ त्योभन्दा बढी आकर्षक देखिन्छ सर्वसाधारणको ढोकाबाट चियाइने जीवनशैली, यहाँ भएका विकासका नवीन कार्यहरू । यस अर्थमा भक्तपुरभित्रको भक्तपुर झनै जीवन्त छ ।

शिक्षा

विद्यालय तथा कलेज स्थापना तथा सञ्चालनमा नगरले देखाएको बुद्धिमताका कारण यहाँका गल्लीगल्लीमा इन्जिनियर रहेको चर्चा चल्ने गरेको छ । नगरका चोकचोकमा स्नातक तथा स्नाकोत्तर अध्ययन गरेका छोरीहरू भेटिन थालेका छन् । ‘सर्वसाधारण जनताका छोराछोरीले कम शुल्कमा उच्च शिक्षा हासिल गरुन् भन्ने उद्देश्यले सञ्चालनमा ल्याइएको शिक्षालयले नयाँ पुस्तालाई नयाँ चुनौती सामाना गर्न सक्षम बनाउँदै गएको छ,’ मेयर प्रजापतिले भने, ‘शिक्षालाई उत्पादन श्रमसँग मिलाउन सहयोग गर्न तथा श्रमलाई सम्मान गर्ने नागरिक तयार गर्न हामी सक्षम भएका छौं ।’

उनले भनेजस्तै दक्ष इन्जिनियर तथा आर्किटेक्ट तयार गर्ने उद्देश्यले २०५८ सालमा स्थापित ख्वप इन्जिनियरिङ कलेज नगरको सान हो । यो कलेजमा स्थापनाकालदेखि हालसम्म स्नातकदेखि स्नातकोत्तर तहमा देशभरिका (मनाङबाहेक) ४ हजारभन्दा बढी विद्यार्थी भर्ना भएको तथ्यांक छ । जसमा स्नातक तहको सिभिलमा ७ सय ५०, आर्किटेक्चरमा २ सय ८४, कम्प्युटरमा ३ सय ६५, इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसनमा ३ सय ६२ गरी १ हजार ७ सयजना उत्तीर्ण हुन सफल भएका छन् ।

त्यस्तै २०६५ सालबाट सञ्चालनमा आएको ख्वप कलेज अफ इन्जिनियरिङमा मनाङ र धनकुटाबाहेक ७५ जिल्लाबाट १ हजार ८ सय ७१ विद्यार्थीले अध्ययन गरेका छन् । जसमा भक्तपुर नगरपालिकामा ५ सय ४१ छन् । नगरपालिकाले भर्ना भएका मध्येबाट उत्कृष्टलाई सतप्रतिशत छात्रवृत्ति दिने गरेको छ भने भक्तपुर नगरपालिकाभित्रका गरिब तथा जेहेन्दारलाई पनि छात्रवृत्ति कार्यक्रममा समेट्दै आएको छ । त्यस्तै नगरले सञ्चालनमा ल्याएको ख्वप कलेजका कारण नगरमा स्नातक गर्ने चेलीको संख्या बढ्दै गएको छ । यहाँ स्नातक तहमा बिबिएस, बिए, बिएस्सी, बिबिएम तथा स्नातकोत्तर तहमा एमएस्सी, एमबिएस र एमएको पढाइ हुने गरेको छ । स्नातक तहमा अध्ययनरत १ हजार २ सय विद्यार्थीमध्ये ८ सय २२ छात्रा रहेको कलेजले जनाएको छ ।

त्यस्तै नगरले ख्वप माध्यमिक विद्यालय तथा ख्वप बहुप्राविधिक अध्ययन संस्थानसमेत सञ्चालनमा ल्याएको छ । २०६१ सालबाट सुरु भएको ख्वप बहुप्राविधिक अध्ययन संस्थानमा स्टाफ नर्स तथा डिम्लोमा इन सिभिल इन्जिनियरिङको पढाइ हुँदै आएको छ ।

योसँगै बालबालिकाका लागि खोलिएका शिशु स्याहार केन्द्रले एकल परिवारका अभिभावकलाई धेरै सहयोग पुगेको छ । साना नानीहरूलाई नगरका विभिन्न वडामा रहेका स्याहार केन्द्रमा राखेर उनीहरू निर्धक्क काममा जान थालेका छन् । आफ्नो जिम्मेवारी र पेसालाई निरन्तरता दिन पाउँदा अभिभावक खुसी भएको शिशु स्याहार केन्द्रका शाखा अधिकृत दीपेन्द्र प्रजापतिले जानकारी दिए । नगरका ६ स्थानमा शिशु स्याहार केन्द्र सञ्चालनमा छन् । प्रत्येक शिशु केन्द्रमा २ जना शिक्षिका र २ जना आया दिदीहरूको व्यवस्था गरिएको छ ।

स्वास्थ्य

नगरपालिकाले भर्खरै भक्तपुरमा नेपालकै पहिलो र एकमात्र श्वासप्रश्वास केन्द्र सञ्चालनमा ल्याइएको छ । भक्तपुर नगरपालिका–९ तुमुचो डुगुरेमा सो केन्द्र स्थापना गरिएको छ । नेपालमा दिनप्रतिदिन दीर्घरोगी बिरामीको संख्या बढ्दै गइरहेकाले न्यूनीकरण गर्न पुनस्र्थापना केन्द्र स्थापना गरी सेवा सुरु गरिएको अस्पतालले जनाएको छ ।

नगरपालिकाले च्यामासिंह र ब्यासीमा रहेका जनस्वास्थ्य केन्द्रमार्फत नगरबासीलाई २४ सै घन्टा सेवा दिँदै आएको छ । जहाँ विशेषज्ञ चिकित्सक १४, मेडिकल अफिसर १७, स्टाफ नर्स १६ लगायतका स्वास्थ्कर्मी तथा कर्मचारी कार्यरत छन् ।

त्यस्तै नगरपालिकाले २०६२ सालमा तिलगंगा आँखा प्रतिष्ठानको सहकार्यमा जिल्ला सामुदायिक आखा केन्द्र सञ्चालनमा ल्याएको छ । आयुर्वेेदिक केन्द्रको सहकार्यमा नगरपालिकाले आयुर्वेदिक उपचार सेवा सञ्चालनमा ल्याएको छ । त्यस्तै ख्वप अस्पताल निर्माणाधीन अवस्थामा छ ।

रोगीलाई अस्पतालमा मात्र हैन, उनीहरूको उचित स्वास्थ्यका लागि घरदैलोमै नर्सिङ सेवा पनि उपलब्ध गराएको छ । २०७४ सालमा सुरु भएको यस सेवामा स्वास्थ्यसम्बन्धी पारिवारिक विवरण तयार गर्ने, अशक्त तथा वृद्धवृद्धाको हेरचार गर्ने, गर्भवती आमाहरूको स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यकताअनुसार स्वास्थ्य संस्थामा रेफर गरिन्छ । यसका लागि नगरका सबै वडामा एकएकजना नर्स र स्वास्थ्य स्वयंसेविका परिचालित छन् ।

अझ निरोगी बन्न तयार भएको व्यायामबालाले नगरको रौनक झनै बढाएको छ । २०७५ सालदेखि नगरका १ देखि १० वडाका विभिन्न स्थानमा राखिएका व्यायामशालामा केटाकेटीदेखि वृद्धवृद्धासम्मले कसरत गर्ने गरेका छन् । यसले नगरवासी झनै स्वस्थ रहने विश्वास नगरपालिकाले लिएको छ ।

सम्पदा संस्कृति

२०७२ वैशाख १२ को भूकम्पले बिथोलिएको भक्तपुर नगर सम्पदा पुनर्निर्माणको तीव्रतासँगै आफ्नै लयमा फर्किंदैछ । भूकम्पको धुलो टकटकाएजस्तै सफा सुन्दर सांस्कृतिक नगरी यति बेला चिटिक्क देखिएको छ । भूकम्पले क्षति पु¥याएकामध्ये २३ मन्दिर, ४० पाटी, ६ द्योछे ‐देवघर) र तीन प्रवेशद्वार पुनर्निर्माण सम्पन्न भइसकेको छ । त्यस्तै आठवटा पोखरी, सातवटा इनार, आठवटा सत्तल, सातवटा ढुंगेधाराको जीर्णोद्धार तथा पुनर्निर्माण कार्य सम्पन्न भएसँगै नगर थप सुन्दर देखिएको छ । इतिहासका जानकार र संस्कृतिविद्को सल्लाहमा मौलिकता नगुम्ने गरी नगरलाई थप सुन्दर र आकर्षक बनाउन पाएकामा नगरवासी दंग रहेको मेयर प्रजापति बताउँछन् । यस कार्यका लागि उनीहरूले विदेशीको सहयोगसमेत लिएनन् । विदेशीलाई खासमा यहाँको मौलिक शैलीबारे जानकारी नहुने अनि उनीहरूका सर्त मान्दा हामीले आफ्ना सम्पदाको मूल्यमा समेत सम्झौता गर्नुपर्ने भएकाले आफैं काम गर्ने प्रयास गरेको उनले बताए ।

नगरले सम्पदा संरक्षणमा नगरबासीको सहयोग लिएको छ । परम्परागत सीपको ज्ञान राख्ने ज्येष्ठ नागरिकलाई समेत उचित सम्मान दिएर नयाँ पिँढीको हातमा सीप हस्तान्तरण गर्ने कार्यमा नगरपालिकाले सफलता हासिल गरेको छ । आफ्नै जिल्लामा उत्पादन भएका डकर्मी र इन्जिनियरको सहयोगमा सम्पदाको उत्कृष्ण पुनर्निर्माण हुँदैछ । यहाँका सर्वसाधारणको सीपको लाभ छिमेकी जिल्लाले समेत पाएको छ । काठमाडौंको प्रसिद्ध रानीपोखरीको पुनर्निर्माणमा भक्तपुरे महिलाको उल्लेखनीय योगदार रह्यो ।

भक्तपुर नगरपालिकाको आम्दानीको स्रोत नगर घुम्न आउने पर्यटकबाट उठाइएको शुल्क पनि हो । यसैबाट नगरपालिकाले शिक्षा, स्वास्थ्य र सम्पदा संरक्षणमा टेवा पुर्‍याउँदै आएको हो। लकडाउनका कारण पछिल्लो समय पर्यटक नआउन आम्दानीमा कमी आएको छ । तर नगरवासीले सम्पदा संरक्षणमा उत्साह देखाएको कारण पुनर्निर्माण कार्य रोकिएको छैन । त्यस्तै यहाँको यसबाहेक भक्तपुर नगरले परम्परागत स्वरूप जोगाउन निजी घरको पुनर्निर्माण र नयाँ घर निर्माणमा नगरको मापदण्ड कडाइसाथ लागू गरिएको छ । नगरले विश्वसम्पदा तथा सांस्कृतिक क्षेत्रभित्र निजी आवास भवन बनाउँदा मोहडाको निर्माणमा ३५ प्रतिशत लागत खर्च अनुदानस्वरुप दिने गरेको छ । जसले नगरमा परम्परागत ढंगबाट घर निर्माण गर्ने अभियान नै चलेको छ ।

नगर क्षेत्रका भित्री सडकमा पिच गर्न पहिलेदेखि नै रोक लगाइएको थियो । इँटा बिछ्याएका सडक फोहोर हुन थालेपछि अहिले ढुंगा बिछ्याउन थालिएको छ । यसले नगरको सौन्दर्यमा थप वृद्धि भएको छ ।

त्यस्तै नगरपालिकाले कला संस्कृतिको क्षेत्रमा उल्लेख्य काम गरेको छ । पुर्खाले सिर्जेको सम्पत्ति, हाम्रो कला र संस्कृति भन्ने मूल नारा आत्मसात् गर्दै नगरपालिका यसको संरक्षणमा अगाडि बढेको छ । संस्कृति संरक्षणका लागि हरेक वर्ष विभिन्न प्रतियोगिता आयोजना गर्ने गरेको छ । त्यस्तै स्थानीय पाठ्यक्रममा ‘ख्वपको पहिचान’ मा यहाँका बाजागाजा, नाचगान परम्परागत खेलहरूको जानकारी दिइएको छ । जसका कारण नयाँ पिँढीले हराउँदै गएको परम्पराबारे सिक्ने अवसर पाएका छन् ।

नगरपालिकाले यहाँका चाडपर्व, मौलिक जीवनशैली, संस्कार, दाफा भजन, गुठी, परम्परागत बाजागाजा तथा नृत्यलगायत मूर्त अमूर्त कलाको संरक्षणमा विशेष ध्यान पुर्‍याएको संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगले बताए । ‘कला, संस्कृति र सम्पदाको संरक्षणले भक्तपुर नेपालकै मौलिक सहरका रुपमा जीवित छ,’ उनी भन्छन्, ‘यहाँको मौलिक जीवनशैली र सम्पदाले देशीविदेशी सबैको मन लोभ्याउने गरेको छ ।’ त्यस्तै संस्कृति जगेर्नामा पछिल्लो समय युवा सहभागिता भने बढ्दो छ । कलासंस्कृतिप्रति उनीहरूमा देखिएको मोहले भक्तपुरलाई भक्तपुर नै बनाइराख्न सघाउने निश्चित छ । जसले भक्तपुरको वैभवमात्र जोगाउँदैन, तिनै युवाको भविष्य पनि सुनौलो हुन्छ । जात्रालाई भनेर टोलटोलमा धिमे बजाउने अभ्यास, रथको डोरी तान्न उत्साहपूर्वक सहभागी हुन युवाका रुचि आशलाग्दा छन् । मानौं, उनीहरू रथको डोरीमात्रै हैन, संस्कृति पनि सँगसँगै तानिरहेका छन् ।

रोजगारी

खेती किसानीका लागि समेत चर्चित यो सहरमा पछिल्ल्लो समय बढ्दो सहरीकरणसँगै कृषि संकटमा परेको छ । तर नगरपालिकाले सर्वसाधारणको आय आर्जनका लागि वैकल्पिक अवस्थाबारे सोचिसकेको छ । उसले युवाहरूलाई लक्षित गर्दै नगर घुम्न आउने पर्यटकलाई सहयोग हुने उद्देश्यले गाइड तालिम, चाइनिजलगायत विभिन्न भाषाको प्रशिक्षण दिएको छ । त्यस्तै काष्ठकला, बुटिक, फोटोग्राफी, प्लम्बिङ, विद्युतीबारे तालिम लिदएर युवालाई सीपयुक्त बनाउन थालेको छ । जसले गर्दा परम्परागत निर्माण कार्यमा डकर्मी, सिकर्मीको समस्या भएन । त्यस्तै भाषा ज्ञानका कारण पथप्रदर्शनका लागि थप सजिलो भएको छ । पाक शिक्षाका तालिमका कारण होटल रेस्टुरेन्ट व्यवसाय फस्टाएको छ । ‘समग्रमा यो सहर आफ्नै खुट्टामा उभिएको छ,’ नगरप्रमुख प्रजापति भन्छन्, ‘नगरबासीको सहयोगले नगर झनै मजबुत भएको छ ।’

धार्मिक सद्भाव

भक्तपुरमा बौद्ध धर्मावलम्बी र हिन्दु धर्मावलम्बीबीच सदियौँदेखि एकअर्काप्रति अगाध स्नेह छ । एकै ठाउँमा मिलेर बसेका मन्दिर र चैत्यले आपसी भाइचाराको सन्देश प्रवाह गरिरहेको भान हुन्छ । अन्य धार्मिक सम्प्रदायबीच पनि उत्तिकै मिलाप छ । नगरका एकै पाटीमा विभिन्न धर्मावलम्बी लस्करै बसेर बात मार्दै गरेको दृश्य यहाँ सामान्य लाग्छ । हरेक समुदायको जात्रा र पर्वमा नगरपालिकाले मन फुकाएर सहयोग गर्ने गरेको छ ।

उज्यालो भक्तपुर

नगरलाई उज्यालो बनाउन नगरपालिकाले मुख्य ढोकामा आकर्षक बत्तीको व्यवस्था गरेको छ । बिस्तारै अन्य सम्पदामा पनि बिजुली बत्ती राख्ने प्रयास भइरहेको मेयर प्रजापति सुनाउँछन् । ‘सिंगो नगरलाई उज्यालो बनाइराख्न नगरपालिका प्रतिबद्ध छ,’ मेयर प्रजापति भन्छन्, ‘बत्तीसँगै विकासको उज्यालोले नगरवासीको अनुहार उज्यालो बनाउन नगरपालिका प्रतिबद्ध छ ।’

प्रकाशित: ८ फाल्गुन २०७७ ००:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App