भागरथी भट्टको हत्यामा संले आरोपमा प्रहरीले बुधबार एक किशोरलाई सार्वजनिक गरेको छ । बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथीको बलात्कारपछि हत्या उनकै आफन्त पर्ने छिमेकी दिनेश भट्टबाट भएको प्रहरीले जनाएको छ । भागरथीको परिवारले भने दिनेश नै अभियुक्त हुन् कि होइनन् भन्नेमा शंका गरेको छ। दिनेश एक्लैले मात्र हत्या गर्न नसक्ने भन्दै आफन्तले शव बुझ्न मानेका छैनन् । माघ २३ देखि जिल्ल अस्पतालको शवगृहमा शव रहेको छ । मृतकका आफन्त भने किशोर एक्लैले यति जघन्य अपराध गरेकोमा पूर्ण विश्वस्त हुन सकेका छैनन् ।
‘आरोपी किशोर एक्लैले यति ठूलो अपराध गराउन सक्छ भन्नेमा हामीलाई विश्वास छैन, घटनाको सम्पूर्ण अनुसन्धान सकिएको छैन, न्याय पाउने निश्चित नभएसम्म शव उठाउँदैनौं,’ पीडित परिवारका आफन्तको भनाइ छ । दुई साता लामो समयदेखि राखिएको शव सुरक्षित गर्न अस्पताललाई समेत हम्मे परेको छ । काठको बाकसमा दैनिक आइस राखेर शव राखिएको अस्पतालले जनाएको छ ।
हत्या गरेको स्वीकारेका दिनेश भागरथी पढ्ने सनातन धर्म माविकै कक्षा ११ का छात्र हुन् । उनलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको थियो । गाउँकै भाइ पर्ने किशोरले उनको हत्या गरेको प्रहरी दाबी छ । ‘एकजनाले मात्र यस्तो घटना गराउन सक्दैन भन्ने हामीलाई लागेको छ । प्रहरीले भने एकै जना अभियुक्त भनेर सार्वजनिक ग¥यो,’ भागरथीका जेठाबुवा रामदत्त भट्टले भने, ‘स्पष्ट विश्वास नलागेसम्म हामीले शव नबुझ्ने निर्णय गरेका छौं ।’ प्रहरीले अझै राम्रोसँग अनुसन्धान गरोस् भन्ने परिवारको माग रहेको उनले बताए । अभियुक्तले हत्या मात्र गरेको बयान दिएकाले बलात्कारी को हो ? उनले प्रश्न गरे ।
अस्पतालमा गरिएको पोस्टमार्टम रिपोर्टमा टाउको र हातमा चोट लागेको, मुख र योनीबाट रगत बगेको उल्लेख गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी नारायणप्रसाद अधिकारीले बताए । उनका अनुसार मृतकको शवको प्रकृतिअनुसार बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको थियो । प्रहरीले थप अनुसन्धानका भागरथीको शरीरबाट संकलन गरिएको नमूना प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशालामा परीक्षणको लागि पठाएको छ । तर रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित: ७ फाल्गुन २०७७ ०२:१० शुक्रबार