१४ भाद्र २०८३ आइतबार
image/svg+xml
समाज

तस्बिर खिचेर सुरुङभित्र पसेका ४६ जना अझै फर्केनन्

अपर त्रिशूली हाइड्रोपावर–२१६ हाकुवेशीको ड्याम साइटमा अहिले पनि ४६ जना कामदारसहित प्राविधिक समूह सुरुङबाट बाहिर निस्कन पाएका छैनन्। तर सो साइटमा रसुवा बाढीबाट भाग्न सफल ६ जना भने शुक्रबार राति काठमाडौं आइपुगेका छन्। सुरुङभित्र ४ जना चिनियाँसहित ४२ जना नेपाली कामदार रहेका छन्। 

घटना विवरणअनुसार गत बुधबार ड्याम साइटकी कर्मचारी उषा गुरुङले सुरुङभित्र पस्नुअघि ३९ जनाको तस्बिर खिचिन्। सुरुङभित्र पस्नुअघि तस्बिर खिच्नु कम्पनीको नियम हो। तस्बिर खिचेपछि सबै जना कामतर्फ लागे। बिरामी परेको कारण र सुरुङबाहिर काममा रहेका कारण उनीहरू बच्न सफल भएका हुन्।

यसरी बच्नेमा पोखराकी उषा गुरुङ, चितवनका अमृत नेपाली, कैलालीका तुलाराम चौधरी, दिलबहादुर चौधरी, रमेश चौधरी र कमल शाही छन्। 

बुधबार बिहान ८ः४५ बजेको थियो। उषाका पतिले ड्याम साइटभन्दा माथिबाट फोन गर्दै भने, ‘बाढी आइरहेको छ, भागिहाल।’ उनले त्यसो भन्नेबित्तिकै बाढी आइरहेको देखिन्। उनी र त्यहाँ रहेका कामदार सबै ड्याम साइटमाथिको भीरतर्फ दौडिए। 

बाटो उकालो र अप्ठ्यारो थियो, तर हार नमानी माथि चढिरहे। त्यतिबेला ड्याम साइट सबै बगाइसकेको थियो। बाढी सुरुङमाथिसम्म उर्लियो। करिब १५ मिनेटपछि बाढी घट्यो। 

सुरक्षाका लागि दुई घण्टा हिँडेर उनीहरू धुन्चे पुगे। ‘भीरमा चढ्न नसकेको भए बाँच्ने थिएनौँ,’ उषाले भनिन्। ड्यामबाट निस्केको दिन गाउँलेको घरमा बसे। भोलिपल्टदेखि कम्पनीले धुन्चेको होटलमा राख्यो। फोन सम्पर्क थिएन। शुक्रबार हिँडेर नुवाकोटसम्म पुगे। त्यसपछि नुवाकोटबाट राति सरकारले उद्धार गरेको गाडीमा काठमाडौं आइपुगेका हुन्।

आफू सकुशल भए पनि सुरुङमा फसेका कामदारको उद्धार हुन नसकेकोमा उनीहरू चिन्तित छन्। उनीहरूका अनुसार सुरुङभित्र हावा जाने ठूला पाइप छन् भने सुरुङभित्रै पानी पनि छ। तर ड्याम साइटबाट सुरुङभित्र पानी पस्ने जोखिम र बत्ती नभएका कारण उनीहरू आफैँ निस्कन नसकेका हुन्। त्यसमा पनि लेदो पसेको अवस्थामा थप जोखिम बढेको फर्किएका अमृत नेपाली बताउँछन्। 

हाइड्रोपावर कम्पनीले सुरुदेखि नै विभिन्न सुरुङमा उद्धार गर्न माग गरे पनि अहिलेसम्म उद्धार हुन सकेको छैन। 

प्रकाशित: १४ भाद्र २०८३ १५:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App