१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कोशी टप्पुमा मकुना हात्ती नियन्त्रणमा

कोशी टप्पु आरक्ष र आसपासका क्षेत्रमा आतंक मच्चाउँदै आएको मकुना हाती यतिबेला ‘कन्ट्रोलमा’ आएको छ। मकुना हाती ‘कन्ट्रोलमा’ आएपनि अन्य पाँँचवटा जंगली हातीले भने सप्तरीतर्फ विध्वंस मच्चाई रहेका छन् ।  

मकुना हात्तीले मंसिरयता दुई जनाको मानवीय क्षति गरेपछि नियन्त्रणमा लिनका लागि विभिन्न उपायको खोजी गरिएको थियो । जसमा पुस दोस्रो सातादेखि राष्ट्रिय प्रकृति संरक्षण कोष चितवनबाट आएको डाक्टर अमीर सडौला, तीर्थ लामालगायतको टोलीले डार्ट गरेर शिथिल बनाएपछि ‘कन्ट्रोलमा’ आएको हो । आरक्षका वार्डेन अशोक रामका अनुसार मकुना अहिले ‘कन्ट्रोलमा’ छ, तर अन्य पाँचवटा जंगली हातीले सप्तरीतर्फ भने विध्वंस मच्चाई रहेका छन् । ‘मकुना ‘कन्ट्रोलमा’ आएपनि अरु पाँचवटा हाती सप्तरीमा वस्तीमा छिरेका गर्दा नियमित गस्ती रहनु परेको छ,’ उनले भने, ‘हाती नियन्त्रणका लागि आरक्ष प्रशासनको टोली हाइ अर्लटमा रहने गरेको छ।’  

मकुनालाईं डार्ट गरेर  हर्मोन ‘कन्ट्रोल’ गरेपछि पाँच–छ महिनासम्म हाती चुपचाप बस्ने मान्यता छ। मकुनाले वर्षेनी मानवीय क्षती गर्दै आएको छ।  कोशी टप्पु आरक्ष र आसपासका क्षेत्रमा १६ वटाको संख्यामा हाती रहेकोमा सवैभन्दा बढी मानवीय क्षती मकुनाकै कारण हुने गरेको छ । हाती मकै, धान, उखु र आप लगायतमा लोभिएर  गाउँ प्रवेश गर्दा मानवीय क्षति हुने गरेको छ । कोशी टप्पु क्षेत्रमा रैथाने रुपमा सुरुवातमा ११ वटा हाती थिए । पछि तिनै हातीले छावा बच्चा जन्माएर १४ वटा पुगेका थिए । अघिल्लो वर्ष तीनवटा छावा जन्माएपछि १७ वटा पुगेका थिए । मंसिर ६ गते बिजुुलीको तारले जेलिएर सप्तरी कञ्चनरुप नगरपालिका क्षेत्रमा बुढो दाह्रे हातीको मृत्यु भएपछि १६ मा झरेका हुन् ।  

सुनसरी, सप्तरी र उदयपुर गरी एक सय ७५ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको आरक्षमा हातीलाईं गाउँ प्रवेश गर्नबाट रोक्नका निम्ति सुनसरीको वस्तीतर्फ विद्युतीय घेराबेरा गरिएपनि सप्तरी र उदयपुर क्षेत्रमा भने बाँकी छ । कोशी पूर्वको सुनसरीतर्फ २५ किलोमिटर विद्युतीय घेराबेरा भइसकेको छ। यद्यपी कतिपय स्थानमा हातीले विद्युतीय घेराबेरा भत्काउने गरेको छ। रुखको हागा डालेर लत्राएर घेराबेरा भत्काउने गरेको छ। जसले गर्दा सहजै वस्तीमा प्रवेश गर्छन् ।  

नेपालमा कुल २२७ वटा जंगली हाती छन् । कोशी टप्पुमा १६ वटा हाती रहेकोमा भारतबाट झापाको बाहुन डागीमा १३० देखि १५० वटासम्म आउने गरेका छन् ।  आरक्ष आसपासको मध्यवर्ती क्षेत्रमा १४ हजार ८६५ घर परिवारका ८४ हजार ४२३ जना बसोबास गर्छन् ।  

०४६ सालको परिवर्तनपछि बनेका हरेक सरकार र निर्वाचनताका प्रमुख मुद्धा बन्दै आएको हात्तीपीडितको पीडामा मल्हम लगाउन कसैले सार्थक प्रयास गरेको छैन् ।

प्रकाशित: २९ माघ २०७७ १३:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App