७ भाद्र २०८१ शुक्रबार
image/svg+xml
समाज

रुकुममा वृद्ध एकल महिलाको बलात्कारपछि हत्या भएको आशंका

रुकुम पश्चिममा एक वृद्ध महिला मृत अवस्थामा फेला परेकी छिन् । चौरजहारी नगरपालिका–८ टाकुरा टोल नजिकैको जंगलमा करिब ५५ वर्षीया देवकला घर्ती मृत अवस्थामा भेटिएकी हुन् ।

आफन्त र स्थानीयले उनको बलात्कारपछि हत्या भएको हुन सक्ने अनुमान गरेका छन् । प्रहरीले पनि बलात्कारपछि हत्या भएको हुन सक्ने सामान्य शंका व्यक्त गरेको छ । देवकला २५ गते सामान किन्न जान्छु भन्दै घरबाट निस्केकी थिइन् । आफन्त वा माइत गएको हुन सक्ने शंका गरिएको थियो ।  

लामो समयपछि उनी सम्पर्कमा नआएपछि आफन्तले खोजी गरिरहेका थिए । बिहीबार विहान जंगलमा उनको धोती, माला, चप्पल, चुरालगायतका सामान भेटिएको स्थानीयले प्रहरीलाई खबर गरेका थिए । देवकला जंगलमा शरीरको माथिल्लो भागमा कालो रङको ब्लाउज र कम्मरभन्दा मुनि नांगो अवस्थामा सालको काठले हल्का च्यापी राखेको अवस्थामा मृत भेटिएकी थिइन् ।  

प्रहरीले घटनास्थलमै पुगेर मुचुल्का तयार पारेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख (प्रहरी नायब उपरीक्षक) ध्रुव श्रेष्ठले जानकारी दिए । ‘देवकलाको लाश भेटिएको छ,’ उनले भने, ‘बलात्कारपछि हत्या हो या अन्य हत्या वा अरु के हो यस विषयमा अनुसन्धान भइरहेको छ ।  

चौरजहारी नगरपालिका–८ की कार्यवहाक वडाध्यक्ष देवी भण्डारीले पनि बलात्कारपछि हत्या भएको हुन सक्ने आशंका व्यक्त गरिन् । ‘घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या भएको जस्तो देखिन्छ,’ उनले भनिन्, ‘यथार्थ अनुसन्धान र पोस्टमार्टम रिपोर्टले देखाउँला ।’ देवकलाको हत्यापछि घिसार्दै खोल्सामा फालिएको हुनसक्ने उनले बताइन् । उनका अनुसार घटनास्थलमा थोरै रगत पनि देखिएको छ । मृतक देवकलासँग सुन पनि भएको र एउटा सानो तिलरी मात्र भेटिएको कार्यबहाक वडाध्यक्ष खड्काले जनाइन् ।

मृतकका जेठाजुका छोरा मानबहादुर घर्तीले पनि अनुसन्धानपछि घटनाको रहस्य खुल्ने बताए । ‘बलात्कारपछि हत्या भएको हो की भन्ने शंका छ,’ उनले भने, ‘रिपोर्ट नआउँदै यसै भन्न सकिन्न ।’ देवकलाका श्रीमान् डिल्के करिब १०/१२ वर्ष अघि मृत्यु भएको थियो । छोरा पनि तीन वर्षभन्दा बढी समयदेखि रोजगारीका लागि भारतमा गएका छन् । उनी घरमा एक्लै बस्दै आएकी थिइन् ।  

प्रकाशित: २९ माघ २०७७ १२:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App