७ वैशाख २०८१ शुक्रबार
समाज

भागरथी हत्याको ६ दिनः फितलो अनुसन्धान, दोषी उम्किने चिन्ता

किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको पुष्टि भएको ६ दिनसम्म प्रहरीले दोषी पहिचान गर्न सकेको छैन। जिल्ला अस्पतालले दिएको पोस्टमार्टम रिपोर्टअनुसार बलात्कारपछि घाँटी थिचेर उनको हत्या भएको हो। तर प्रहरीले दोषी पत्ता लाग्ने गतिलो आधार फेला पार्न सकेको छैन। घटनास्थलमा फेला परेको भागरथीको मोबाइल र फेसबुक एकाउन्टबाट पनि सुराक पत्ता लगाउन सकिएको छैन।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी उत्तम सुवेदीले पोस्टमार्टम रिपोर्ट प्राप्त भएको बताए। ‘पोस्टमार्टम रिपोर्टअनुसार बलात्कारपछि घाँटी थिचेर हत्या भएको देखिएको छ,’ उनले भने, ‘सामूहिक बलात्कार हो वा होइन भन्ने विषय अहिले नै यकिन हुन सकेको छैन।’ थप अनुसन्धानका लागि भेजाइनल स्वाब आइतबार प्रहरी केन्द्रीय प्रयोगशाला पठाइएको प्रहरीले बताएको छ। पोस्टमार्टम रिपोर्टमा भागरथीको बलात्कारपछि बीभत्स तरिकाले हत्या गरिएको, टाउको, खुट्टा, हातमा चोट लागेको, मुख र गुप्तांगबाट रगत बगेको उल्लेख छ।  

घटना अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी सुवेदी, प्रदेश प्रहरीका एसएसपी जनक पाण्डे नेतृत्वको टोली र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) बाट डिएसपी नेतृत्वको टोली खटिएको छ। धनगढीबाट तालिम प्राप्त कुकुर पनि अनुसन्धानका लागि बैतडी ल्याइएको छ।

आइतबार बैतडी आएका डिआइजी सुवेदी अनुसन्धान नसकिएसम्म यतै बस्ने योजनामा रहेको प्रहरी स्रोतले बताएको छ। अहिलेसम्म सोधपुछ क्रम जारी रहेकाले नियन्त्रणमा कसैलाई नलिइएको बैतडीका डिएसपी नारायणप्रसाद अधिकारीले बताए। धेरैजना शंकाको घेरामा भएकाले निष्कर्षमा पुग्न ढिलाइ भइरहेको उनले जनाए । ‘अहिले हामीले मृतकसँग सम्बन्ध भएकालाई सोधपुछ गरेर घटना केलाइरहेका छौं। अनुसन्धानको दायरामा शंकास्पद धेरैजना छन्, यसको रिजल्ट चाँडै ल्याउँछौं,’ अधिकारीले भने।

घटनामा संलग्न दोषी पहिचान गरी पक्राउ गर्न नसक्दा भागरथीका आफन्त अपराधी उम्किने चिन्तामा छन्। विद्यालयबाट गत बुधबार घर नफर्केकी भागरथीको बिहीबार साँझ ५ बजेतिर शव भेटिएको थियो। दिन बित्दै जाँदा र कोही पनि पक्राउ नपर्दा न्याय पाइँदैन कि भन्ने शंका उब्जिएको भागरथीका काका शंकर भट्टले बताए। ६ दिन बित्दासमेत प्रहरीले दोषी पहिचान गर्न नसक्दा अपराधि उम्किने हो कि भन्ने चिन्ता लाग्न थालेको स्थानीय नवराज भट्टले बताए। स्थानीयका अनुसार फितलो अनुसन्धानका कारण दोषी पहिचानमा विलम्ब भएको हो।

दिनहुँ प्रदर्शन

प्रहरीले दोषी पत्ता लगाउन नसकेको भन्दै स्थानीय बासिन्दा र विद्यार्थी विरोधमा उत्रिएका छन्। बैतडीका धेरै स्थानमा शिक्षक, विद्यार्थी, अधिकारकर्मीलगायतले भागरथीलाई न्यायको माग राखेर दिनहुँ प्रदर्शन गर्न थालेका छन्। प्रशासनले भने उनीहरूलार्ई शान्त हुन र अनुसन्धानमा सहयोग गर्न आग्रह गर्दै आएको छ । भागरथीको हत्यारा पहिचान र कारबाही माग राख्दै दीप प्रज्वलन, सिट्टी जुलुसलगायत विरोधका कार्यक्रम गरिएका छन्। दोगडाकेदार, सदरमुकाम, पाटन, सतबाँज, देहीमाण्डौलगायत स्थानमा विरोध प्रदर्शन भइरहेको छ।  

शव बुझ्न अस्वीकार

शनिबार जिल्ला अस्पताल बैतडीमा भागरथीको पोष्टमार्टम गरिए पनि परिवारले अझै शव बुझ्न मानेको छैन। दोषी पहिचान नहुञ्जेलसम्म शव नबुझ्ने आफन्तको अडान छ। ‘हाम्री छोरीलाई यो अवस्थामा पुर्‍याउने दोषी पहिचान होस्, हदैसम्मको कारबाही होस्,’ भागरथीका काका शिवराज भट्टले भने, ‘अनिमात्र शव बुझ्ने छौं।’ शव जिल्ला अस्पतालकै शवगृहमा राखिएको छ।

प्रकाशित: २८ माघ २०७७ ०१:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App