२० श्रावण २०८३ बुधबार
image/svg+xml
समाज

मानव तस्करीको आरोपमा १९ जना पक्राउ, उद्धार गरिएका ४५३ लाई परिवार खोज्दै जिम्मा लगाइँदै

सामाजिक सञ्जालमार्फत आकर्षक रोजगारीको प्रलोभनमा परी भारतीय सीमावर्ती क्षेत्रमा श्रम शोषण तथा ठगीमा परेका ४५३ जना नेपाली नागरिकको उद्धार गरिएको छ।

नयाँ दिल्लीस्थित नेपाली दूतावासको समन्वयमा उत्तर प्रदेश प्रहरी, भारत सरकारका सम्बन्धित निकाय र गैरसरकारी संस्थाको संयुक्त प्रयासमा उनीहरूको उद्धार गरिएको हो।

​उत्तर प्रदेशको कुशीनगर जिल्लाका विभिन्न स्थानमा प्रहरीले गरेको कारबाहीका क्रममा अनलाइन वा सञ्जाल ठगी (नेटवोर्किङ फ्रड) मा फसेका ११५ महिला र ३३८ पुरुष गरी कुल ४५३ जना नेपाली नागरिकलाई फेला पारिएको दूतावासले जनाएको छ।

​उद्धार गरिएका सबै नागरिकलाई गत जेठ १६ गते जिल्ला प्रहरी कार्यालय, रूपन्देहीलाई हस्तान्तरण गरिएको थियो। रूपन्देही प्रहरीले उनीहरूमध्ये ६ जना महिलासहित १९ जना शंकास्पद व्यक्तिहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको छ। उनीहरूमाथि ठगी र मानव तस्करीको नेटवर्कमा संलग्न रहेको आशंका गरिएको छ।

यस्तै, नेपाल सरकार तथा भारतस्थित नेपाली दूतावासले भारतमा रहेका नेपाली नागरिकहरूको सुरक्षा र संरक्षणप्रति प्रतिबद्धता जनाउँदै वैदेशिक रोजगारी तथा अन्य विभिन्न प्रकारका प्रलोभनका नाममा गरिने भ्रमपूर्ण प्रस्तावहरू प्रति सचेत रहन सम्पूर्ण नेपाली नागरिकहरूलाई अनुरोध गरेको छ।

प्रकाशित: १९ जेष्ठ २०८३ १२:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App