९ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

सहमति पालना नगरेको भन्दै ट्याक्टर कम्पनीमा तालाबन्दी

कम्पनीको कार्यालयमा तालाबन्दी गर्दै स्थानीय बासिन्दा । तस्बिर : नागरिक

कोरोना महामारी चलिरहेका बेला गत असार १ गते राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ र ३ जोड्ने बाँकेको अगैयास्थित सिक्टा ब्यारेजबाट ट्याक्टर खस्दा दुई जनाको घटनास्थलमै मृत्यु भयो। ना ७ त ५१८ नम्बरको उक्त ट्याक्टर ब्यारेजको रेलिङ भत्काएर राप्ती नदीमा खसेको थियो। दुर्घटनामा राप्तीसोनारी गाउँपालिका वडा नम्बर ३ निवासी ट्याक्टर चालक १८ वर्षका सुनिल थारु र अर्का २५ वर्षीय चुर्णबहादुर थारुको मृत्यु भयो। दुर्घटनाबाट मृत्यु भएका सुनिलको परिवारलाई ट्याक्टर धनी रामसिंङ थारुले ब्यक्तिगत रुपमा ५ लाख रुपैयाँ क्षतिपुर्ति दिए।  

दुर्घटनाग्रस्त ट्याक्टरको उनीसँग न ब्लुबुक थियो, न त बीमा नविकरण। रामसिंङले एक वर्षअघि मात्र दुगड ब्रदर्श एण्ड सन्स प्रा.लि.अन्तर्गतको ‘जोन डियर’ कम्पनीको उक्त ट्याक्टर खरिद गरेका थिए। उनले खरिद गरे वापत डेढ लाख रुपैयाँ कम्पनीलाई बुझाउनुपर्ने बाँकी रहँदै ट्याक्टर दुर्घटनामा परेपछि कम्पनी र ट्याक्टर धनीबीच द्वन्द्व सुरु भयो। ट्याक्टर कम्पनी बिस्तारै आफ्नो जिम्मेवारीबाट पन्छिन थाल्यो।  

कम्पनीले ट्याक्टरको बीमा नविकरण नगरिदिएकै कारण रामसिंङले मृतकका परिवारलाई ब्यक्तिगत रुपमा ५ लाख क्षतिपुर्ति दिए। आर्थिक रुपले मारमा परेका रामसिंङले क्षतिग्रस्त ट्याक्टर मर्मत गर्न सक्ने सम्भवै थिएन। उनले कम्पनीलाई ट्याक्टर मात्र मर्मत गरिदिन आग्रह गरे। ईलाका प्रहरी प्रहरी कार्यालय कोहलपुरमा रामसिंङ र ट्याक्टर कम्पनीका कर्मचारीबीच केही महिनाअघि एउटा सहमति भयो।  

‘मैले ट्याक्टर खरिद गरेर लगेपनि मलाई कम्पनीले ब्लुबुक दिएको थिएन, अनि बीमा नविकरण पनि गर्न छुटाइदिएछ, ट्याक्टर दुर्घटनामा परेपछि मात्र मलाई थाहा भयो, कि बीमा गरिएको रहेनछ,’ उनले भने ‘दुर्घटनाको भोलिपल्ट मात्र कम्पनीले बीमा नविकरण गरेछ।’ रामसिंङ भन्छन्, ‘दुर्घटनामा मैले छोरो गुमाए, कम्पनीले बिमा नविकरण नगरिदिएका कारण ब्यक्तिगत रुपमा अर्का मृतकको परिवारलाई ५ लाख क्षतिपुर्ति दिए, कमाई गरेर खाने ट्याक्टर क्षतिग्रस्त अवस्थामा छ, कम्पनीले ट्याक्टर बनाईदिन्छु भन्छ, तर बनाउँदैन।’  

उक्त सहमति अनुसार ट्याक्टर मर्मत गरिदिने कम्पनीका कर्मचारीले प्रतिबद्धता जनाए। तर, सो सहमतिलाई कम्पनीले अहिलेसम्म पनि पालना नगरेपछि रामसिंङ मानसिक तनावमा छन्। रामसिंङमाथि कम्पनीले गरेको अन्यायविरुद्ध स्थानीय बासिन्दाले शुक्रबार जोड डियर ट्याक्टरको पार्वतीपुरस्थित सोरुम र नेपालगन्ज खजुरा रोडमा रहेको क्षेत्रीय कार्यालयमा तालाबन्दी गरिदिए। कम्पनीका क्षेत्रीय प्रबन्धक दिपक शर्माले ट्याक्टर मर्मत गर्न करिव ५ लाख रुपैयाँ लाग्ने र मर्मत गरिदिने विषयमा आफुले कम्पनीको केन्द्रीय कार्यालयलाई पटक पटक जानकारी गराइसकेको बताएका छन्। ‘हामीले पटक पटक केन्द्रमा जानकारी गराइसकेका छौं, केन्द्रले पनि हाम्रो कुरा सुनिराखेको छैन,’ उनले भने।  

उक्त आन्दोलनको अगुवाई गरेका राप्तीसोनारी गाउँपालिका वडा नम्बर ३ का युवा सन्तोष चौधरीका अनुसार तालाबन्दी पश्चात कम्पनीले आइतबार वार्तामा बसेर समस्या समाधान गर्ने आश्वासन दिएको छ। ‘पीडितको माग सम्बोधन नगरेमा हामी अझै चरणवद्ध रुपमा आन्दोलन गर्छौ,’ उनले भने।

प्रकाशित: २४ माघ २०७७ ०५:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App