२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

कर्णालीको हिमाली क्षेत्र सेताम्मे

कर्णालीका हिमाली जिल्लामा बिहीबारदेखि हिमपात भएको छ । पश्चिमी वायुको प्रभावका कारण भएको हिमपातले यहाँको जनजीवन प्रभावित बनाएको छ । कर्णालीका डोल्पा, हुम्ला, जुम्ला, मुगुलगायत हिमाली जिल्लामा हिमपात भएको हो । हिमाली क्षेत्रबाहेक अन्यत्र भने वर्षा भएको छ । चिसोले यहाँको जनजीवन कष्टकर बनेको छ ।  

उच्च हिमाली क्षेत्रमा हल्कादेखि मध्यमसम्म हिमपात भएको जल तथा मौसम विज्ञान कार्यालय सुर्खेत (हाल नेपालगन्ज) का मौसमविद् रामबाबु मिश्रले जनाए । अन्य क्षेत्रमा हल्कादेखि मध्यमसम्म वर्षा भएको उनले जानकारी दिए । उनका अनुसार शनिबार दिउँसोदेखि मौसम सफा हुनेछ ।  

जुम्लामा शुक्रबार ८.३ मिलिमिटर हिउँ बर्सिएको छ । त्यहाँको न्यूनतम तापक्रम ०.५ डिग्री सेल्सियससम्म पुगेको छ । त्यस्तै हुम्लाको न्यूनतम तापक्रम २.७ पुगेको छ भने यहाँ ३.४ मिलिमिटर हिउँ वर्षा भएको जल तथा मौसम विज्ञान फिल्ड कार्यालय जुम्लाका फिल्ड इन्चार्ज हिमाल सिवाकोटीले जानकारी दिए । उनका अनुसार डोल्पाको न्यूनतम तापक्रम माइनस २.० डिग्री सेल्सियससम्म पुगेको छ । मुगुको तापक्रम माइनस ३.० डिग्री सेल्सियस छ भने ९.० मिलिमिटर हिउँ बर्सिएको छ ।

जल तथा मौसम विज्ञान फिल्ड कार्यालय जुम्लाका अनुसार कर्णालीको कालीकोटमा सबैभन्दा बढी वर्षा भएको छ । यहाँ २०.२ मिलिमिटर वर्षा भएको फिल्ड इन्चार्ज सिवाकोटीले जानकारी दिए । चिसो बढेकाले तातो खानेकुरा खान र न्यानो कपडा लगाउन मौसमविद्हरूले सुझाएका छन् । ‘चिसो बढेको छ,’ मौसमविद् मिश्रले भने, ‘यस्तो बेला बालबालिका, वृद्धवृद्धा, सुत्केरी, दीर्घरोगीले विशेष सावधानी अपनाउनुपर्छ ।’

मौसम बदली भएपछि कर्णालीमा हवाई सेवा पनि प्रभावित भएको छ । नेपालगन्ज र काठमाडौंबाट कर्णालीका जिल्लामा हुने उडान प्रभावित हुँदा यात्रुहरू मर्कामा परेका छन् । विगतमा मंसिरको पहिलो सातामै हिमपातले सेताम्य हुने कर्णालीका हिमाली क्षेत्र पुसमा समेत हिउँ नपरेर नांगा र सुक्खा भएर उजाड देखिएका थिए । बिहीबार रातिदेखिको हिमपातपछि भने हिमाली क्षेत्र सेताम्मे भएको हो । डोल्पाका अग्ला बस्तीहरूमा भारी हिमपात भए पनि सदरमुकाम दुनै र त्रिपुराकोट बगरमा हिउँ जमेको छैन । माघमा परेको हिउँले गहुँ, जौ, उवाँ र तरकारी बाली उत्पादनमा वृद्धि हुने किसानको अपेक्षा छ । यसैगरी उत्तरी तिब्बत नाकासँग जोडिएका उपल्लो डोल्पाका डोल्पोबुद्व, छार्का ताङसोङ, से–फोक्सुन्डो र काइके गाउँपालिकाका बस्तीहरूमा जमेको बाक्लो हिउँले बस्तीहरू सेताम्मे भएका छन् ।  

भारी हिमपातपछि उपल्लो डोल्पाकोे जनजीवन कष्टकर बनेको छ । बाक्लो हिमपातपछि उपल्लो डोल्पाको प्रमुख व्यवसाय चौंरी, भेंडाबाख्रालाई चरिचरनमा समस्या परेको छ ।  

हिमपातले मध्य डोल्पाका ठूलीभेरी नगरपालिकाको माझफाल, जुफाल, दुनैको तिप्ला, थालालगायत त्रिपुरासुन्दरी नगरपालिकाका सुउँ, रङ, पहाडा, लिकु, चुउँ, दापु र तल्लो डोल्पाका जगदुला, मुड्केचुला गाउँपालिकाका बस्तीहरूसमेत सेताम्मे बनेका छन् ।

प्रकाशित: २४ माघ २०७७ ०१:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App