७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

सानो सहयोग, ठूलो उपलब्धी

बराहताल गाउँपालिकाकी खगिसरा सुनारले पालेका बाख्रा । नगेन्द्र उपाध्याय/नागरिक<br>

बराहताल गाउँपालिका–१ सम्मेनीकी मनरुपा रानाले अघिल्लो वर्ष वडा कार्यालयबाट ब्रोइलर कुखुराका चल्ला अनुदानमा प्राप्त गरिन् । चल्ला राख्न घरको भुइँतलालाई खोर बनाइन् । रानाले चल्लाका लागि दाना किनिन् । वडाले निःशुल्क प्राविधिक सहयोग दियो । ‘सबै खर्च कटाएर पहिलो लटमै ६० हजार बचत गर्न सफल भएँ,’ मनरुपाले भनिन्, ‘अहिले आफैले किनेर चल्ला हालेकी छु ।’

मग्राहकी पवित्रा वंशीमगरले जनजाती लक्षित कार्यक्रम अन्र्तगत ८० वटा ब्रोइलर कुखुराका चल्ला पाएकी थिइन् । अघिल्लो साता अनुदानबाट प्राप्त कुखुरा विक्री गरिन् । ‘कुखुरा बेचेर ५० हजारजति कमाए हुँला,’ उनले भनिन्, ‘अव यहीँ व्यवसायलाई निरन्तरता दिन्छु ।’

रोग लाग्दा वडा कार्यालयले उपचार गरिदिन्छ । गाउँमै ब्रोइलर किलोको साढे तीन सयमा विक्री हुन्छ । ‘पहिलो लट वडाले अनुदानमा दियो, त्यसपछि आफैले कुखुराका चल्ला किनेर पाल्न थालेका हौं,’ पवित्राले भनिन्, ‘धेरै दुःख पनि नहुने र आम्दानी पनि राम्रो हुने भएकाले अहिले आफै किनेर पाल्न थालेका हौं ।’

वडा कार्यालयले अघिल्लो आर्थिक वर्षको अन्त्यतिर जनजाति र अपाङ्गता भएका १० जनालाई कुखुराका चल्ला दियो । अहिले ति मध्ये आठ जनाले व्यवसायीक कुखुरापालन व्यवसाय गरिरहेका छन् । ‘सुरुमा लक्षितवर्ग छनोट गरेर तालिम दियौं, व्यवसायका फाइदाका बारेमा बतायौं,’ वडाध्यक्ष तुलादेव भारतीले भने, ‘अनुदानमा चल्ला दिएका १० परिवार मध्ये आठ जनाले अहिले यसैलाई व्यवसाय बनाउनु भएको छ ।’

कप्सेराकी खगिसरा सुनारले वडा कार्यालयबाट अघिल्लो वर्ष एउटा बाख्रा उपहार पाइन् । अहिले उनीसँग चार वटा बाख्रा छन् । ‘वडाले दिएको एउटा बाख्राबाट अहिले चार वटा बनाएकी छु छन्,’ उनले भनिन्, ‘केही आफै थपेर यसैलाई व्यवसाय बनाउने सोचमा छु ।’

श्रीचौरका रतन नेपालीले पनि दलित लक्षित कार्यक्रमबाट एउटा बाख्रा पाए । दुई वटा आफै खरिद गरे । अहिले उनीसँग नौ वटा बाख्रा छन् । ‘वडाले एउटा दियो, दुई वटा मैले खरिद गरेँ,’ उनले भने, ‘अहिले नौ वटा पुगेका छन् ।’ वडाले बाख्रा दिएपछि कालापहाड जाने बाटो पनि रोकिएको छ । ‘बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएकाले जंगल प्रसस्त छ,’ उनले भने, ‘अव फर्म दर्ता गरेर थप बाख्रा पाल्ने सोचमा छु ।’

वडा–सचिव दिलिप ढकालले अति विपन्न दलित, जनजाति र अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरेर सुरु गरिएको बाख्रा र कुखुरापालन कार्यक्रम प्रभावकारी भएको बताए । ‘नजिकको सरकारसँग स्थानीयहरुका धेरै आशा र अपेक्षा हुन्छन्,’ उनले भने, ‘वडाको सीमित बजेटबाटै केही उदाहरणीय कामहरु हामीले गरेका छौं ।’ उनले दीर्घकालसम्म व्यवसाय गर्ने प्रतिवद्धता जनाउने लक्षित समुहका सदस्यहरुलाई अनुदानमा एक पटकका लागि अनुदानमा बाख्रा र कुखुरा दिइएको बताए ।  

वडा कार्यालयका अनुसार स्थानीय सरकार गठन भएको यो अवधिसम्म विभिन्न कार्यक्रममार्फत एक सय भन्दाबढीलाई स्वरोजगार बनाइएको छ । ‘गाउँको विशेषता अनुसारका व्यवसाय गर्नका लागि वडामार्फत सहयोग गरिरहेका छौं,’ वडाध्यक्ष भारतीले भने, ‘अदुवा, बेसार, बाख्रा, कुखुरालगायतका व्यवसायमा एक सय भन्दाबढीलाई जोड्न हामी सफल भएका छौं ।’ उनले स्थानीय सरकारको प्रत्यक्ष अनुभूति जनताले गर्ने गरेर आफुहरुले काम गरिरहेको बताए ।

प्रकाशित: २३ माघ २०७७ १२:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App