१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

डिएमगेट–बिसनपुर सडक कालोपत्रे

डिएमगेट बिसनपुर खण्डको सडकमा कालोपत्रे गरिदै। तस्बिरः महेश्वर

चार वर्षअघि नै गर्ने तयारी भए पनि बिभिन्न कारण रोकिन पुगेको सदरमुकाम गाईघाटको डिएमगेट–लक्ष्मीपुर खण्डको सडकमा बल्ल कालोपत्रेको काम सुरु भएको छ। त्रियुगा नगरपालका-१२ को डिएमगेटदेखि बिसनपुर हुँदै त्रियुगा-१३ लक्ष्मीपुरसँग जोडिने उक्त सडकमा भर्खरै कालोपत्रे भएको छ।  

तत्कालीन डिभिजन सहरी विकास तथा भवन निर्माण कार्यालय राजविराजबाट कालोपत्रे गर्ने भनिएको सो खण्डको सडक सुरुमा त्रियुगा नगरपालिका आफैले गर्ने गरी आर्थिकवर्ष ०७४/७५ मा १ करोड बजेट बिनियोजन गरेको थियो। ‘नगर नमूना सडक’को घोषणासहित ९० लाखमा ठेक्का लागेर काम सुरु भएलगत्तै असार लागेपछि नदीजन्य पदार्थ उत्खननमा रोक लागेकाले काम रोकिएको थियो।  

‘राष्ट्रपति चुरे तराई मधेस कार्यक्रम’ लागु भएका जिल्लामध्ये उदयपुर पनि एक भएकाले त्यसबेला प्रशासनले ढुंगा, गिटी बालुवा उत्खनन र बिक्री वितरणमा रोक लगाएका कारण काम अघि बढ्न नसकेको त्रियुगा नगरप्रमुख बलदेव चौधरीले बताए। काम रोकिएसँगै आर्थिकवर्ष समाप्त भएपछि उक्त रकम फ्रिज भएपछि रोकिएको काम सहरी विकास कार्यालमार्फत अघि बढाउन खोजे पनि चौडाई बिबादले पुनः अवरुद्ध हुन पुगेको थियो। ३ वर्षअघि गर्ने भनिएको कालोपत्रेको कामम चालुवर्ष नगरपालिकाले अघि बढाएको मेयर चौधरीले बताए।  

त्रियुगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मणविक्रम थापाले चालुवर्ष प्रदेश सरकारको ५० लाख समपूरक बजेटबाट ७ मिटर चौडाको ५ सय ४० मिटर सडक कालोपत्रे गरिएको बताए। उनका अनुसार बाँकी खण्डमा कालोपत्रे गर्नका लागि थप बजेट आवश्यक पर्ने भएकाले स्रोतको खोजी भईरहेको छ। बजेट व्यवस्था गर्न सके चालुवर्ष नै र नसके आगामी वर्षभित्र विसनपुरसम्म कालोपत्रे गर्ने गरी स्रोतको खोजी भईरहेको अधिकृत थापाले बताएका छन्।  

त्रियुगा नगरपालिका १२ नं. वडाध्यक्ष जयविक्रम राईले डिएमगेटदेखि बिसनपुरसम्म आधा किलोमिटर कालोपत्रे भएको र बाँकीमा गर्न आवश्यक स्रोत जुटाउन वडा र नगरपालिकाले बिभिन्न निकायसँग पहल गरिरहेको बताए। बिसनपुरदेखि लक्ष्मीपुर–पोर्ताहासम्मको ६.५० किलोमिटर खण्डमध्ये अव ६ किलोमिटर हाराहारी बाँकी खण्डमा कालोपत्रे गर्न बाँकी छ। जसमध्ये यही वर्ष बिनियोजित ५० लाख बजेटबाट थप आधा किलोमिटर कालोपत्रे हुने उनले बताए। बाँकी खण्डमा पनि सकेसम्म चालुवर्ष नै कालोपत्रे गरिसक्ने गरी बजेटको खोजी भईरहेको छ।  

सोही सडकको बिसनपुरस्थित बरुवा खोलादेखि पारीतर्फ भने कालोपत्रे गर्नेगरी सघन सहरी विकास तथा भवन निर्माण कार्यालय राजविराजले गतवर्ष नै ठेक्का लगाएर निर्माण कार्य भईरहेको छ। सगरमाथा कन्स्ट्रक्सन गाईघाटले निर्माणको जिम्मा पाएको कालोपत्रेको काम अन्तिम चरणमा पुगेको वडाध्यक्ष राईले बताए। सदरमकुामको सडक त्यसमाथि नगरको नमूना सडक घोषणा गरिएकाले डिएमगेट–बिसनपुर खण्डमा छिटोभन्दा छिटो कालोपत्रे गरिसक्नुपर्ने स्थानीयको माग रहेको वडाध्यक्ष राईले बताएका छ्न्।

प्रकाशित: २० माघ २०७७ ०७:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App