coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

आगलागीले मनाङमा बस्ती नै जोखिममा

मनाङको नासोंमा लागेको आगलागी। तस्बिर: नागरिक

हिमालपारिको जिल्ला मनाङको नासों गाउँपालिकाका विभिन्न जंगल र भिरमा भीषण आगलागी भएको छ। तीन दिनदेखि लागेको आगो अझै नियन्त्रणमा आएको छैन। नजिकका बस्तीमा आगोको जोखिम बढेपछि सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिएको छ।  नासों गाउँपालिका–५, ६ र ७ को जंगलमा भीषण आगलागी भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका प्रमुख लेखनाथ गौतमले बताए। उनका अनुसार समुद्री सहतको २ हजार मिटरदेखि ३५ सय मिटर उचाइसम्मको क्षेत्रमा भीषण आगलागी भएको हो। तीन दिनदेखि लागेको आगो नियन्त्रणमा नआएको उनले बताए।

‘ठाडो भिरमा आगलागी भएको छ। निभाउन जान सक्ने अवस्था छैन,’ गौतमले भने, ‘भौगोलिक हिसाबले अप्ठेरो ठाउँ भएकाले पनि नियन्त्रणमा कठिनाइ भएको हो।’ सल्लाको रूख र सुक्खा घाँसे जंगलमा आगलागी भएको उनले बताए। आगो कसले लगाएको भन्ने अझै खुलेको छैन। मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार नासों गाउँपालिका–६ र ७ को तिल्चे तथा वडा–५ को थोचेको बस्ती नजिक आगलागी भएको छ।  

‘तीन दिनदेखि लागेको आगो अझै नियन्त्रणमा आएको छैन। आगलागी भएको नजिकका बस्तीका बासिन्दाको सुरक्षाका लागि प्रहरी र सशस्त्र प्रहरी खटिएको छ,’ लामिछानेले भने, ‘बस्तीको सिरानमा आगलागी भएकाले पनि जोखिम बढी छ।’ बुधबार दिनभर र बिहीबार पनि आगो नियन्त्रणको प्रयास भइरहे पनि सफल नभएको उनले बताए।

‘पेट्रोल सल्किएझैं आगो तीव्र गतिमा फैलिएको छ,’ उनले भने, ‘पातपतिंगर सुकेकाले पनि आगो फैलिन सहज भएको छ। यसपटक हिउँदमा पानी र हिउँ नपरेकाले पनि सुक्खा हुँदा आगो सजिलै फैलिएको हो।’ बस्तीबाट झन्डै ३ सय मिटर टाढाको जंगलमा आगलागी भएको उनले बताए। प्रजिअ लामिछानेका अनुसार तिल्चे गाउँको सिरानमा लागेको आगोले झनै भीषण रूप लिएको छ । आगलागीपछि सिरान क्षेत्रबाट ढुंगा खस्न पुग्दा तलको बस्तीमा झनै त्रास भएको उनले बताए।

‘बस्ती तल छ । तर सिरानमा आगलागी भएको छ। माथिबाट ढुंगा खस्दा बस्तीमा पर्ने त्रास छ,’ प्रजिअ लामिछानेले भने, ‘आगो फैलिएर बस्तीमा आउन त खोला नै पार गर्नुपर्छ। तर ढुंगाको जोखिम भने उत्तिकै छ।’ आगलागीबाट बस्तीमा जोखिम हुने त्रास भएपछि १३ सशस्त्र प्रहरी र १२ नेपाल प्रहरीलाई आगलागी नजिकैको बस्तीमा खटाइएको छ। बस्तीमा जोखिम हुने अवस्था आए परिचालन हुन सेना पनि तयारी अवस्थामा रहेको लामिछानेले बताए। आगलागी स्थल सदरमुकाम चामेबाट १५ किलोमिटर टाढा पर्छ। 

नासों गाउँपालिका–५ का अध्यक्ष छिरिङ ग्याल्पो पुनेलका अनुसार ५ र ६ नम्बर वडाको सिमानाबाट आगलागी सुरु भएको हो। आगलागी भएको ठाउँबाट नजिकको गाउँ थोचेमा ३५ घर छन्। तर जाडो छल्न गाउँका धेरै बासिन्दा सहरतिर झरेका छन्। ‘बस्तीमै जोखिम पुर्‍याउने गरी भीषण आगलागी भएको छ । नियन्त्रणमा लिन पनि सहज छैन,’ पुनेलले भने, ‘सुक्खा खर भएकाले आगलागी फैलिन सहज भएको छ।’ आगलागी भएको ठाउँ घाँसे मैदान हो। स्थानीय त्यो भिरमा घाँस काट्न जान्थे। ‘प्रहरी, एक्याप, स्थानीयको पहलमा आगो नियन्त्रणमा लिने प्रयास भएको छ,’ उनले भने, ‘तर पनि सहज छैन।’

सुकेको घाँस र सल्लाघारी भएकाले पनि आगो फैलिन सहयोग पुगेको उनले बताए। लमजुङका विभिन्न गाउँमा नयाँ घाँस पलाउने भनेर ठाडो भिरमा आगो लगाउने गरेको भए पनि मनाङका भीरमा यत्तिको भीषण आगलागी भएको यो नै पहिलोपटक भएको उनले बताए। ‘हिउँ नपरेको र पानी पनि नपर्दा सुक्खा भएको छ। त्यसले गर्दा आगो फैलिन सघाउ पुगेको छ,’ उनले भने, ‘अघिल्ला वर्ष यो बेला बाक्लो हिमपात हुदा चिसोले गर्दा आगो फैलिन पाउँदैनथ्यो। तर अहिले सुक्खा छ।’ वन जंगलमा आगो लगाउनुहुँदैन भनेर चेतनामूलक कार्यक्रम गरेको पनि उनले बताए।

एक्याप मनाङ प्रमुख गौतमका अनुसार आगलागीले रूखबिरुवासहित जडीबुटी, चराचुरुंगी, जंगली जनावरलाई पनि नोक्सान पुर्‍याउने जोखिम हुन्छ। जंगली जनावरको बासै नोक्सान हुँदा विस्थापित हुने जोखिम रहेको उनले बताए। ‘यसपटक साहै्र नै सुक्खा भयो । हिउँ परेन। सल्लाको रूख, निगालोको घारी र खर भएकाले पनि आगो तीव्रगतिमा फैलियो,’ गौतमले भने, ‘भौगोलिक हिसाबले जान सकिने अवस्था नभएकाले पनि आगो नियन्त्रणमा कठिन भएको हो।’

आगो लगाउने व्यक्तिको पहिचानका लागि प्रशासन र एक्यापले अनुसन्धान गरिरहेको गौतमले बताए। अघिल्लो महिना पनि मनाङको चाँमे गाउँपालिका–२ थानचोकबाट आगलागी सुरु भएको थियो। डेढ महिना अवघिसम्म पनि नियन्त्रणमा नआएको आगो अन्तिममा नासो गाउँपालिका–८ ताचैसम्म पुगेको थियो। हजारौं हेक्टर वनक्षेत्र आगलागीले नोक्सान पुगेको पनि गौतमले बताए।

प्रकाशित: १६ माघ २०७७ ०२:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App