करिब १३ वर्षअघि बाराको परवानीपुरस्थित विजय मिश्रको घरमा पुग्दा नवजात शिशु सरोज मिश्रको काखमा रुँदै थिइन् । रातो कुर्ता र कालो सुरुवालमा सजिएकी तिनै लक्ष्मी बिहीबार आफ्नै आँगनमा मिश्रसँग मुस्कुराउँदै थिइन् ।
‘यी हमर ‘अप्पन’ बेटी बा,’ पत्रकारलाई आँगनमा देख्नेबित्तिकै सरोजले भनिन्, ‘मान्छेहरू किन लक्ष्मीको मन दुखाउँछन्, हामीलाई थाहा छैन ।’ लक्ष्मीको मुस्कानमा पछिल्लोसमय केही अँध्यारो छाउन थालेको सरोजले सुनाइन् । छिमेकका केही मानिसले लक्ष्मीलाई खेतमा भेटाएको भन्दा लक्ष्मीले अँध्यारो मुख लगाउने गरेको उनले बताइन् । लक्ष्मीको अँध्यारो अनुहारले घर नै अँध्यारो हुने अनि लक्ष्मी हाँस्दा घरमा खुसीयाली छाउँने उनले सुनाइन् ।’
चार छोरा र एक छोरीपछि २०६३ साल मंसिरमा जन्मिएकी लक्ष्मीले जीवनमा निकै खुसीयाली भित्राएको उनले बताइन् ।
लक्ष्मीलाई दाजु र दिदीले निकै माया गर्छन् । लक्ष्मीका बुबा विजय पनि सबैभन्दा बढी माया लक्ष्मीलाई नै गर्छन् । ‘उसका हरेक कुरा हामीले भन्नेबित्तिकै पुर्याउने गरेका छौं,’ विजयले भने, ‘परिवारमा सबैभन्दा बढी माया लक्ष्मीले नै पाउने गरेकी छिन् ।’
२०६३ साल मंसिरमा लक्ष्मीपूजालगत्तै जन्मिएकी भएकाले उनको नाम लक्ष्मी राखिएको विजयले बताए । ‘सानोमा उसलाई दुध खुवाउन हामीले लामो समयसम्म गाई पालेका थियाैं,’ उनी निकै स्वाद मानेर दुध खाने गर्थिन् ।’ लक्ष्मी सरोजलाई माई, मम, मम्मी, भन्छिन् भने विजयलाई ‘पापा’ भनेर बोलाउँछिन् । घरमा सबैले उनलाई बबी भनेर बोलाउँछन् । ‘ऊ निकै जिद्दी पनि छे,’ सरोजले मुस्कुराउँदै भनिन्, ‘उसको जिद्दीपनले पनि हामीलाई खुसी दिन्छ ।’
सानोमा लक्ष्मी बिरामी हुँदा रातभर जाग्राम बसेको । उसका हरेक आवश्यकता पूरा गर्न मिहेनत गरेको सबै सम्झना वियलाई छ । छोरी ठूली भएपछि पनि विजयले काधमा राखेर डुलाउने गरेको सरोज सुनाउँछिन् ।
‘यो हाम्रो परिवारको शान हो,’ विजयले भने, ‘लक्ष्मीजस्ती छोरीको बुबा हुन पाउँदा हामीलाई गर्व छ ।’ दाइजो प्रथाका कारण कतिपयले अझै पनि छोरीलाई बोझ जस्तै मान्छन् । यस्तोमा मिश्र परिवारले लक्ष्मीलाई गरेको मायाले धेरैको मन जितेको छ ।
प्रकाशित: १६ माघ २०७७ ०२:१४ शुक्रबार