६ वैशाख २०८१ बिहीबार
समाज

प्रहरीलाई भाग लागेन कोरोना खोप

जोखिम मोलेर कोरोना महामारीविरुद्ध अग्रपंक्तिमा खटिने प्रहरीलाई कोरोना खोप वितरणमा सरकारले विभेद गरेको छ । स्वास्थ्यकर्मी जत्तिकै फ्रन्टलाइनमै खटिने भए पनि प्रहरीलाई कसरी र कहिले खोप लगाउने भन्ने विषयमा सरकारले सूचीसमेत तयार पारेको छैन ।  

सरकारले पहिलो चरणमा स्वास्थ्यकर्मीलाई कोभिड खोप लगाउने भन्दै बुधबारदेखि खोप अभियान सुरु गरेको छ । परिचालनको हिसाबमा अग्रपंक्तिमा रहने प्रहरीलाई खोप लगाउने सम्बन्धमा भने योजना बनाइएको छैन । सरकारले चासो नदिएपछि जोखिम मोलेर ड्युटीमा खटिने प्रहरीमा निराशा छाएको छ ।  

त्यसो त सरकारले कोरोना महामारीको बेला खटिने प्रहरीलाई कोभिड सुरक्षा भत्तासमेत दिएको छैन । २४सै घण्टा जोखिमपूर्ण क्षेत्रमा सुरक्षार्थ खटिँने उनीहरूलाई कोरोना खोप वितरण नहुँदा त्यसले कर्मचारीमा थप जोखिम बढेको छ । लकडाउन खुलेसँगै नेपाल प्रहरी भीडभाड र जोखिमपूर्ण क्षेत्रमा खटिँदै आएको छ । नेपाल प्रहरीका ७ हजारभन्दा बढी कर्मचारीलाई कोरोना संक्रमण भइसकेको छ । केही कार्यालयमा कोरोना थप फैलन सक्ने डर देखिएको छ । 

नेपाल प्रहरीका प्रवक्ता बसन्त कुँवरले प्रहरीले पनि कोरोनाविरुद्ध जोखिम मोलेर काम गरेकाले खोप वितरणमा विभेद नहुनुपर्ने बताए । उनले भने, ‘सुरुमा स्वास्थ्यकर्मीलाई लगाइदिने कुरा हो, त्यसपछि मात्रै प्रहरीको पालो आउला ।’ उनका अनुसार बुधबार नेपाल प्रहरी अस्पताल महाराजगन्जमा कार्यरत स्वास्थ्यकर्मीसहित १ सय ३५ जनालाई कोरोना खोप लगाइएको छ । अस्पतालका मेडिकल डाइरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहले खोप लगाएपछि स्वास्थ्यकर्मीलाई हौसला बढेको बताइन् ।  

सरकारले प्रहरी प्रधान कार्यालयलाई थप खोप उपलब्ध नगराएकाले प्रहरी खोपबारे योजना बनाउन नसकिएको प्रवक्ता कुँवरले बताए । उनले सरकारबाट खोप प्राप्त भएपछि बढी जोखिम क्षेत्र हेरेर खोप लगाइने बताए । सबै प्रहरीलाई एकैपटक खोप लगाउन आवश्यक देखिँदैन,’ उनले भने, ‘सरकारले खोप वितरण गरेपछि हामी जोखिम क्षेत्र हेरेर खोप लगाउँछौं ।’ उनका अनुसार खोप प्राप्त भएपछि उपत्यकाबाहिरका कोरोना जोखिम क्षेत्रमा पठाइने छ ।

प्रकाशित: १५ माघ २०७७ ०१:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App