१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

लडेको असरले मानसिक सन्तुलन गुमाएका रोहनको उपचारमा आर्थिक अभाव

लडेका कारण होस गुमाएका रोहनको उपचार गरिँदै । तस्बिर : नागरिक

लडेको असरका कारण मानसिक सन्तुलन गुमाएका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका ९ वर्षीय रोहन कट्वालको उपचारका लागि आर्थिक अभाव भएको छ । २०७२ साल भदौमा विद्यालय गएको अवस्थामा लडेको चोटका कारण मानसिक सन्तुलन गुमाएका रोहनको उपचारमा आर्थिक समस्या भएको हो । 

गत दशैंअघि कान्ती वाल अस्पतालमा पुर्‍याइएका रोहनको स्वास्थ्य अवस्था सुधारोन्मुख भए पनि उपचार खर्चको अभाव भएको हिरा कट्वालले बताईन् । रोहनको उपचारकाक्रममा एक लाख ऋण लागिसकेको छ । उप उपचारका लागि अस्पतालले कम्तीमा दुई लाख जुटाउन भनेपछि हिरालाई आर्थिक समस्या निम्तिएको हो । हिराले छोराको उपचारका लागि अस्पतालको बेडबाटै सहयोगको याचना गरेकी छन् ।  

निम्न आर्थिक अवस्था भएका रोहनलाई अस्पतालसम्म पुर्‍याएर उपचार व्यवस्था गर्नका लागि अपांग सेवा संघ र अपांग सेवा संघ नगर कार्य समितिले सहयोग अभियान चलाएको थियो । रोहनलाई सहयोग गर्नका लागि आमा हिरा कट्वालको नाममा सेञ्चुरी विकास बैंक दिक्तेल शाखामा खोलिएको ०१५००००९२ सि ५ मा रकम जम्मा गर्ने व्यवस्था मिलाइएको अपांग सेवा संघ दिक्तेल रुपाकोट मझुवागढी नगर समितिका अध्यक्ष उमेशचन्द्र आचार्यले बताए । अपांग सेवा संघ खोटाङ र नगर कार्य समितिको संयुक्त पहलमा गत साउन २५ गते रोहनको उपचारका लागि १७ हजार ४७५ रुपैयाँ प्रदान गरिएको थियो ।  

होसले पूर्णरुपमा काम गर्न छाडिसकेको र बोली बन्द भइसकेको अवस्थामा अपांग सेवा संघ नगर समितिको समन्वयमा सुन्दर ढोका साथी सेवा नामक संस्थाको सहयोगमा २०७६ साल माघ ९ गते मोडेल अस्पतालमा १४ दिन राखेर उपचार गरेपछि रोहन पुन: उठेर बेहोसीमा हिँडडुल गर्न सक्ने भएका थिए । रोहनलाई यसअघि पनि कान्ती, निसान, ओम लगायतका अस्पतालमा पुर्‍याइएको थियो । लाखौं खर्च गरेर विभिन्न अस्पताल पुर्‍याउँदा पनि रोहन बेहोसीमा नबुझिने शव्द बोलेर जथाभावी कुदिरहन्थे ।  

२०७१ सालमा बिदेश गएका श्रीमान गोबिन्द कट्वाल २०७६ साल बैसाखमा घर आए पनि पुःन काठ्माण्डौं फर्किएर सम्पर्क बिहिन बनेपछि हिरा दुई छोरासहित सासुससुरासँग बसिरहेका छन् । उनका कान्छो छोरा कक्षा २ मा पढ्छन् ।  

बेहोसीमा चलमलाइरहन्छन् रोहन

रोहन अहिले बेहोसीमा यताउती कुदिरहन्छन् । घरभित्रबाट घरी आँगनमा पुग्छन्, घरी घरको पेटीमा पुग्छन् । उनले उताउती कुद्नेक्रममा एक तमासले बोलेको बोली बुझ्न सकिन्न । अरुले बोलेको कुरा पनि उनले बुझ्न सक्दैनन् । किताव कापी बोकेर स्कुल गइरहनुपर्ने उमेरमा रोहनको अवस्था दर्दनाक छ । आमा हिरा कट्वालका अनुशार केही उपचारपछि रोहनको स्वास्थ्यमा सामान्य सुधार आएको हो । होसले पूर्णरुपमा काम गर्न छाडिसकेको र बोली बन्द भइसकेको अवस्थामा अपांग सेवा संघ नगर समितिको समन्वयमा सुन्दर ढोका साथी सेवा नामक संस्थाको सहयोगमा २०७६ साल माघ ९ गते मोडेल अस्पतालमा १४ दिन राखेर उपचार गरेपछि रोहन पुःन उठेर बेहोसीमा हिँडडुल गर्न सक्ने भएका हुन् । रोहनलाई भारत लैजान सल्लाह दिइए पनि आर्थिक अवस्था कमजोर भएकै कारण उपचारमा लैजान नसकेको हिराले बताईन् ।

रोहन कक्षा १ मा घरभन्दा तलको वालज्योती प्राविमा पढ्थे । एक दिन उनी चिच्याएर रोएको सुनिएपछि आमा हिरा कुद्दै विद्यालयतर्फ गईन् । विद्यालयभन्दा केही माथि रोहन टाउकाको देब्रेपट्टि र चिउँडोमा गहिरो चोट लागेको र रक्ताम्मे अवस्थामा फेला परे । आमा हिराले उनलाई तत्काल जिल्ला अस्पताल पुर्‍याईन्, चोटमा औषधोउपचार भए । तर २०७२ साल मंसिरदेखि रोहनमा बसेकै ठाउँमा भ्वाक्क–भ्वाक्क ढल्ने समस्या देखियो । अकस्मात ढल्दा उनको टाउकाका विभिन्न ठाउँमा घाउ चोटपटक थपिए । ढल्ने समस्या देखिएको १०/१५ दिनमा रोहनलाई कान्ती वाल अस्पताल पुर्‍याइए । कान्तीले सिफारिस गरेको औषधि ६ महिना खुवाउँदा पनि रोहनको स्वास्थ्यमा सुधार देखिएन ।

उपचारकै खोजीमा उनलाई निसान अस्पतालमा लगिए, निसानले पनि कान्तीले सिफारिस गरेकै औषधिलाई निरन्तरता दिन भने । त्यसपछि हिराले रोहनलाई ओम अस्पतालमा लगिन् । ओमले दिएको औषधि ६ महिना खुवाउँदा निको हुनुको सट्टा शरीरभरी रौं पलाए । यसबीचमा रोहनको अवस्था झनै नाजुक बनिसकेको थियो । बोली बन्द भइसकेको थियो, होसले पूर्णरुपमा काम गर्न छाडिसकेको थियो ।

दुई वर्षअघि रोहनलाई अन्नपूर्ण न्यूरो अस्पतालमा लगियो । न्यूरोको उपचारपछि रोहनको अवस्थामा सामान्य सुधार आयो । ६ महिनासम्म औषधि खुवाउँदा रोहनको बोली आयो तर पुरानो कुरा सबै भुले । अरुले ‘जे भन्यो त्यही’ उच्चारण गर्न थाले । रोहनको स्वास्थ्यमा सामान्य सुधार देखिए पनि आर्थिक समस्याका कारण हिरा थप औषधिका लागि काठ्माण्डौं जान सकिनन् । औषधि छुटेपछि रोहनमा विगत वर्ष दिनदेखि झोक्रिरहने, खुट्टा लुलो हुने, मुन्टो नउठाउने, उठ्न नसक्दा चौबिसै घण्टा सुतिरहने समस्या देखा पर्‍यो । खाना खुवाउँदा ननिल्ने, खाना खुवाएको थाहै नपाउने, पानीसँग खाना खुवाउनुपर्ने, दिसापिसाव आएको थाहै नपाउने समस्यासँग जुधिरहेको समयमा सुन्दर ढोका साथी सेवा नामक संस्थाको सहयोगमा रोहनलाई मोडेल अस्पतालमा पुर्‍याइएको थियो ।  

होस फिर्ने आशामा परिवार

रोहनको नाजुक स्वास्थ्य अवस्थाले परिवार मानसिक चिन्तामा छन् । रोहनलाई भारत लैजान सल्लाह आएपनि निम्न आर्थिक अवस्था भएकै कारण उपचारमा लैजान नसकेको हिराले बताईन् । शुभेच्छुकको सहयोग मिले र उपचार सफल भए रोहनको स्वास्थ्यमा सुधार आउने उनको अपेक्षा छ । ‘छोरा पहिलाकैजस्तो निको होस्, स्कुल जाओस् भन्ने अपेक्षा छ,’ उनले भनिन्, ‘साथ सहयोग मिलेर उपचार गराउन सम्भव भए पक्कै सुधार हुन्छ भन्ने आशा छ ।’

प्रकाशित: ९ माघ २०७७ ०५:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App