१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

यस्तो छ गोरु तस्करीको जालो

५ माघमा धनगढी उपमहानगरपालिकाबाट २८ वटा गोरु मोरङ पठाईए । भेटेरिनरी प्रमाणपत्रमा उल्लेख भए अनुसार कृषि प्रयोजनका लागि भन्दै पठाईएका गोरु मोरङ स्थित दृष्टि आरम्भ बहुउदेश्यीय फर्मको नाममा पठाईएको देखिन्छ । धनगढीबाट पठाउनेमा कमल गुरुङको नाम उल्लेख गरिएको छ भने पाउनेको नाम जीवन कार्की उल्लेख छ । कृषि प्रयोजनका लागि पठाईएका गोरुको ‘बैधता लीला’ भने अचम्मको छ । गोरु ढुवानीमा संलग्नहरुको भनाईलाई आधार मान्ने हो भने गोरु तस्करीको ‘जालो’ प्रष्टै देखिन्छ ।

मोरङमा गोरु पाउने ब्यक्ति जीवन गुरुङ । तर उनि मोरङकै रहेनछन् । उनि मोरङको नभई झापाका सामान्य ब्यापारी अरे । उनलाई सम्पर्क गर्दा उनि आँफै अचम्मित भए । ‘मेरो कुनै फर्म छैन, मैले गोरु ढुवानीको काम अहिले सम्म गरेकै छैन,’ उनले नागरिकसंग टेलिफोनमा भने ‘मेरो घर मोरङमै हैन, झापाको म, मेरो नाम कसरी जोेडियो ?’ आँफ्नो नाम जोडिएको प्रति निकै अनभिज्ञता प्रकट गरेका उनले थपे ‘मेरो नाम र सम्पर्क राख्नेहरुलाई कारवाही गरिदिनु पर्यो ।’ भेटेरिनरी प्रमाणपत्रमा गोरु पाउने उल्लेख गरिएका ब्यक्तिको अनभिज्ञताले ति गोरु कहाँ पठाईए ? भन्ने प्रश्न सहजै उठ्छ । 

तर यसमा संलग्न बिश्व बस्नेतका अनुसार जीवन डराए अनि ढाँटे । ‘उनिहरुले त भनिहाल्छन् नि हामीलाई थाहा छैन भनेर,’बस्नेतले भने ‘उ डराएको हो,अरु केहि पनि हैन।’ जीवन यसमा संलग्न भएको भए र गोरुको उचित व्यवस्थापनमा उनको संलग्नता भएको भए किन डराए ? भन्ने प्रश्न यहाँनेर उठ्छ ।  

गोरु पठाउने भनिएका कमल गुरुङकै भनाई सुन्ने हो भने पनि गोरु तस्करीको लीला बुझ्न गाह्रो पर्दैन । उनको भनाई अनुसार धनगढीमा छाडा चौपायाहरु बग्रेल्ती छन् । यि चौपायाहरुले बालीनाली सखाप पारिदिएका कारण स्थानीयको गासै खोसिएको छ । फलतः स्थानीयको गास जोगाउनका लागि पनि यि गोरुहरुलाई मोरङ पठाईएको उनको भनाई छ । 

‘यहाँ छाडा चौपाया हेर्न आउनुस्, हामी स्थानीयहरुको गास खोसिएको छ,’ उनले भने ‘स्थानीयको गास जोगाउनका लागि पनि यि गोरुहरुलाई अन्यत्र पठाउनै पर्ने बाध्यता हो ।’ उनको भनाई अनुसार यि गोरुहरु निशूल्क ब्यवस्थापन गरिएको हो । यि गोरु खरिद गरिएका हैनन् । तर गोरु मोरङ पुर्याउने ठेकेदार बिश्व बस्नेतको भनाईलाई आधार मान्ने हो भने गुरुङले झूठ बोलिरहेका छन् । बस्नेतले गोरु खरिद गरेरै मोरङ पुर्याउने गरिएको र एउटाको मुल्य एक हजार देखि तीन हजारमा खरिद गर्ने गरेको बताउँछन् । ‘हामीहरुले किनेरै लैजाने हो,अनि मोरङमा पुर्याएर हामी फर्मलाई बेच्छौँ,’ बस्नेतले भने । 

बस्नेतको भनाई फरक भएपछि गुरुङले आँफूलाई केहि सच्याए ‘गोरु लोड गर्दा, छोप्दा मजदुरहरु लगाउनु पर्छ, उनिहरुलाई दिईने ज्याला त त्यति परि हाल्छ नि ।’ गोरु पठाउने ब्यक्ति भनेर उल्लेख गरिएका गुरुङले कसलाई पठाएँ भन्ने नि थाहा पाएका रहेनछन् । गोरु पाउने भनिएका जीवनले आँफूलाई केहि थाहा नभएको प्रतिकृया दिएको थाहा पाएपछि गुरुङले थप रहस्य खोले । उनले कसलाई पठाईयो ? कहाँ पठाईयो ? आँफूलाई केहि थाहा नभएको वताए । 

‘को जीवन कार्कि हुन् ? मलाई थाहा छैन, गोरु कहाँ , किन पठाईए ? त्यो पनि थाहा छैन ,’ उनले पोल खोले ‘यो सबै काम बिश्व बस्नेतले गर्छन् ।’ बस्नेत यसैरि केहि समय यता पश्चिमबाट पूर्वी नेपालमा गोरु सप्लाई गर्दै आएका ब्यक्ति हुन् । ‘बिश्व बस्नेतले गोरु चाहियो ट्रक आएको छ लिन भनेपछि मैले छाडा गोरुहरुको ब्यवस्थापन गरिदिएको हुँ,’ उनले भने ‘त्यो भन्दा बढि मलाई केहि थाहा छैन ।’

यि गोरु सप्लाईमा धनगढी उपमहानगरपालिकाले पनि अनुमती दिएको देखिन्छ । २५ मंसिरमा यो उपमहानगरपालिकाले अर्गानिक मल उत्पादन,कृषिजन्य प्रयोजन तथा छाडा चौपायाहरुको उचित व्यवस्थापनका लागि गोरु उपलब्ध गराईएको अनुमती पत्र मोरङ स्थित दृष्टि आरम्भ नामक फर्मको नाममा दिएको छ । 

यो उपमहानगरपालिकाले छाडा चौपाया ब्यवस्थापनका लागि आँफै ‘कान्जी हाउस’ चलाएको पनि छ । यिनै कान्जी हाउसमा राखिएका गोरु उपमहानगरपालिकाले पठाईदिएको रहेछ । ‘हामीहरुले कानजी हाउस सञ्चान गरेका पनि छौँ,कृषि फर्मले माग गरे अनुसार आवश्यक कागजी प्रमाणहरु हेरेर यो फर्मलाई कान्जी हाउसकै गोरुहरु पठाएका हौँ,’ उपमहानगरका मेयर नृपवहादुर वडले भने ‘हामीलाई थप चौपाया राख्नु पर्ने पनि हुन्छ, त्यसैले उता पठाएर कान्जी हाउस खाली गरेका हौँ ।’ 

यो उपमहानगरले अनुमती पत्र कृषी फर्म रहेको मोरङको लेटाङ नगरपालिकालाई पनि बोधार्थ पठाएको देखिन्छ । तर लेटाङ नगरपालिकालाई भने अहिले सम्म गोरु ढुवानी सम्वन्धी कुनै पनि पत्र पुगिसकेको रहेनछ । ‘हामीहरुलाई गोरु ढुवानी सम्बन्धी कुनै पनि पत्र कतैबाट पनि आएको छैन,’ यो नगरपालिकाका प्रशासकीय अधिकृत अच्युत प्रसाद दाहालले भने ‘यहाँ गोरु फर्म वा त्यस्तो के रहेछ ? झूठ कुराको हामी अनुसन्धान गर्छौँ ।’ तर धनगढी उपमहानगरपालिकाले भने लेटाङ नगरपालिकाको सिफारीस पत्रका आधारमा आँफूले गोरु ढुवानी गरेको दाबी गर्छ । 

उसले दिएको अनुमती पत्रमा पनि उपमहानगरपालिकाले लेटाङ नगरपालिकाको मंसिर २३ को पत्रानुसार अनुमती दिईएको उल्लेख गरेको छ । ‘लेटाङ नगरपालिकाबाट पनि गोरु उपलब्धताका लागि सिफारीस पत्र आएको थियो र त्यहि पत्रानुसार हामीहरुले पठाउने अनुमती दिएका हौँ,’ धनगढी उपमहानगरपालिकाका मेयर वडले भने ।  

मोरङको  लेटाङ नगरपालिका वडा नम्बर १ मा रहेको भनिएको गोरु खरिदकर्ता दृष्टि आरम्भ कोपिला दंगालको नाममा दर्ता छ । गोरु खरिदकर्ता यो फर्मको उदेश्य हेर्ने हो भने गोरु खरिदको उदेश्य उल्लेख गरिएको भेटिँदैन । बिराटनगर स्थित घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएको यो फर्मको उदेश्य बाख्रा, कुखुरा,माछा पालन तथा तरकारी खेती गर्ने भनेर मात्रै उल्लेख गरिएको छ ।  

 

यो पनि पढ्नुहोस्

गोरु तस्करीको अन्तर्य : गोरु रोक्नेलाई धम्की र प्रलोभन

 

 

प्रकाशित: ८ माघ २०७७ ११:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App