२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
समाज

बाढीपहिरोबाट ४४ जनाको मृत्यु

पछिल्लो दुई दिनमा प्राकृतिक विपद्का घटनामा परी ४४ जनाको ज्यान गएको छ। अविरल वर्षाले निम्ताएको बाढीपहिरोमा परी मुलुकका विभिन्न ठाउँमा ४४ जनाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको हो। पहिरोमा पुरिएर इलाममा मात्रै ३७ जनाको मृत्यु भएको छ। प्राधिकरणका अनुसार बाढीपहिरोका कारण करिब ६ हजारजना विस्थापित भएका छन्। त्यस्तै पाँचजना हराइरहेका छन्।

प्राधिकरणले उपलब्ध गराएको विवरणअनुसार ३४ जिल्लामा बाढीपहिरोको प्रभाव परेको छ। ती जिल्लामा सुरक्षा लगायतका निकाय उद्धार तथा राहतमा खटिएका छन्। राहत तथा उद्धारका लागि करिब तीन हजार सुरक्षाकर्मी खटिएका छन्।

नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले आइतबार सेनाका चारवटा हेलिकोप्टर घाइतेको उद्धारमा खटिएको जानकारी दिए। उनका अनुसार एउटा हेलिकोप्टर झापामा तयारी अवस्थामा राखिएको छ। ‘शुक्रबारदेखि नै नेपाली सेना उच्च सतर्कतामा मा थियो। आइतबार चारवटा हेलिकोप्टर उद्धारमा परिचालन गरिएको छ’, बस्नेतले भने।

सशस्त्र प्रहरी पनि उद्धार राहतमा खटिएको छ। ‘सशस्त्र प्रहरी राहत तथा उद्धारका लागि शुक्रबार साँझदेखि नै खटिएको छ। अहिले पनि फिल्डमा हाम्रो टोली निरन्तर छ’, सशस्त्र प्रहरी बलमा सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले भने। उनका अनुसार उद्धारका लागि आवश्यक सबै सामाग्रीसहित सशस्त्र प्रहरी खटिएको छ। नेपाल प्रहरीले पनि हरेक जिल्लामा आफ्ना कर्मचारीलाई उद्धारमा परिचालन गरेको छ।

इलाममा ३७ जनाको मृत्यु

पहिरोमा परी इलाममा ३७ जनाको मृत्यु भएको छ। त्यस्तै एकजना बेपत्ता र आठजना घाइते भएका छन् । मृत्यु हुने कतिपय दसैंका पाहुना छन्। पहाडी जिल्ला इलाममा पहिरोले घर पुर्दा र र बाढीले घर बगाउँदा मानवीयसँगै भौतिक क्षति भएको हो।

प्रहरीका अनुसार इलामको फाकफोकथुम गाउँपालिका–३, रातमाटेका २८ वर्षे सुरेश लिम्बुको पहिरोमा परी मृत्यु भएको छ। त्यस्तै सूर्याेदय गरपालिका–१ मानेभञ्ज्याङमा ५ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ६५ वर्षीया मनमाया क्षेत्री, उनकी नातिनी १० वर्षीया रस्मिका लगायत छन्। घाइते रस्मिकाको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको हो। पशुपतिनगर प्रहरीका अनुसार मनमायाका छोरा घरमा थिएनन्। उनकी पत्नी भागेर बाँच्न सफल भएकी छिन्। दसैंमा पाहुना आएका दोलखाका ४५ वर्षे दीप बस्नेत, ४४ वर्षीया भावना बस्नेत र १२ वर्षीया दिव्या बस्नेतको पनि घरसँगै पुरिएर मृत्यु भएको छ।

इलाम नगरपालिका–६ का डम्बरबहादुर पाख्रिनको घर पहिरोले पुर्दा ६ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकै उमेरका समीर देउजाली, प्रवीण तामाङ र विराज पाख्रिन तामाङ छन्। दसैंमा पाहुना आएका झापा अर्जुनधाराकी ३२ वर्षीया अनु तामाङ, माई नगरपालिका–५ की ८ वर्षीया प्रिन्सिखा मगर र झापा अर्जुनधारा–६ का ३ वर्षीय आवास दनुवारको पनि पहिरोलेले घर पुर्दा मृत्यु भएको छ। घरमुली डम्बरबहादुर र उनकी पत्नी सँगैको अर्काे घरमा रहेकाले बाँच्न सफल भएका छन्।

यसैगरी इलामकै देउमाई नगरपालिकामा पहिरोले घर पुर्दा वडा नम्बर ५ मा ७ जना र वडा नम्बर ३ मा १ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा देउमाई–५ ढाडेबगैंचाका २२ वर्षीय रोशन लिम्बु र २२ वर्षकै बेबिसा राई, धुसेनीका ३० वर्षीय दीपक लिम्बु, २७ वर्षीया ऋषिका लिम्बु र १० वर्षीया दिपिस्का लिम्बु छन्। पाँचथर फाक्तेपका ९ वर्षीय सौजन लिम्बु र ११ वर्षीय सौगात लिम्बुको पनि यही घटनामा मृत्यु भएको छ। सोही नगरपालिकाको वडा नम्बर ३ लक्ष्मीबोटेमा २८ वर्षीय स्थानीय कृष्ण मगरको मृत्यु भएको छ।

त्यसैगरी माङ्सेबुङ गाउँपालिका–१ गजुरमुखीमा तीनजनाको मृत्यु भएको छ। गुजुरमुखीमा स्थानीय ५७ वर्षीया कृष्णमाया लिम्बु, ५० वर्षीया माया लिम्बु र पाँचथर मिक्लाजुङ–६ की १७ वर्षीया नेहा राईको मृत्यु भएको हो।

त्यस्तै पहिरोले घर पुर्दा सन्दकपुर गाउँपालिका वडा १, ३ र ४ मा दुईदुईजनाको मृत्यु भएको छ। वडा १ मा ४३ वर्षीय भीमबहादुर राई र उनकी आमा ६६ वर्षीया हरिमाया, वडा ३ मा आमा ७४ वर्षीया सारदादेवी सेढाईं र छोरी ४८ वर्षीया तारादेवी सेढाईं तथा वडा ४ मा ५४ वर्षीय शेखर राई र ४७ वर्षीया देवीमाया राईको मृत्यु भएको हो।

पहिरोले घर पुर्दा माइजोगमाई गाउँपालिका–६, ओढारेमा २८ वर्षीय किरण थेबे, १८ वर्षीया मनमाया थेबे र ३ वर्षीया मुनुसा थेबेको मृत्यु भएको छ। सोही वडाका बर्मलाल सोङ्मीको घर पहिरोले पुर्दा ८२ वर्षका बर्मलाल, ७० वर्षीया बुद्धमाया सोङ्मी, ४६ वर्षका धनबल सोङ्मी, ४२ वर्षीया सरला सोङ्मी र १४ वर्षीया प्रकृति सोङ्मीको मृत्यु भएको छ।

त्यस्तै इलाम नगरपालिका–६ बालनगाउँका ४८ वर्षीय महेन्द्र लिम्बु पहिरोमा परेपछि सम्पर्कबाहिर छन्। उनको खोजी भइरहेको छ। सन्दकपुरमा ५ र माङ्सेबुङमा तीनजना घाइते भएका छन्।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी उद्धारमा खटिएका छन्। इटहरीबाट आएको नेपाली सेनाको हेलिकोप्टरले माङ्सेबुुङ गाउँपालिकाको गजुरमुखीबाट गर्भवती साधना लिम्बु, मदन लिम्बु र उनीहरूका छोरा संयोग लिम्बुको उद्धार गरेको छ। उनीहरू पहिरोमा परी गम्भीर घाइते भएका थिए । सन्दकपुर गाउँपालिकाका घाइतेको मौसम खराब हुँदा उद्धारमा जान नसकेको इलामस्थित रणशार्दुल गणका गणपति प्रह्लाद घलेले जानकारी दिए।

पाँचवटा शव फिक्कल अस्पताल र ६ वटा शव इलाम अस्पतालमा पोस्टमार्टमका लागि ल्याइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। सडक अवरुद्ध भएका कारण उद्धारमा समस्या भएको जिल्ला प्रहरी प्रमुख एसपी एकनारायण कोइरालाले जानकारी दिए। नेपाली सेनाले पीडितलाई खाद्यान्न लगायत वितरण गरेको छ।

उदयपुररमा दुईको मृत्यु

अविरल वर्षाका कारण उदयपुरमा २ जनाको मृत्यु भएको छ  मृतकको सनाखत भएको छैन। त्यस्तै शनिबार राति चौदण्डीगढी नगरपालिका बसाहास्थित सुन्दरी खोलाले कार बगाएको छ। खोलाले कार बगाए पनि चालक मोरङ कटहरी गाउँपालिका १ का ३५ वर्षीय जीवन कार्कीसहित त्यसमा रहेका ६ जना यात्रु सकुशल रहेको प्रहरीले जनाएको छ।

रसुवामा चारजना बेपत्ता

लाङटाङ घुम्न जाने क्रममा रसुवाको गोसाइँकुण्ड गाउँपालिका–४ को बेरिङ खोल्साले बगाएर बेपत्ता भएका भक्तपुरका चारमध्ये तीनजना एउटै परिवारको भएको खुल्न आएको छ। राष्ट्रिय समाचार समितिका अनुसार गोसाइँकुण्ड–५ स्थित ब्याम्बो होटलमा बास बसेर लाङटाङतर्फ जाने क्रममा शनिबार चारजनालाई बेरिङ खोल्साले बगाएको थियो।

बेपत्ता हुनेमा भक्तपुर नगरपालिका–१० बस्ने वर्ष २३ का रवि श्रेष्ठ, सूर्य विनायक नगरपालिका–४ दधिकोट बस्ने २३ वर्षीया संस्कृति श्रेष्ठ, २१ वर्षीय किशन श्रेष्ठ र २६ वर्षीया सनिता श्रेष्ठ छन्। संस्कृति, किशन र सनिता एउटै परिवारका रहेको सूर्य विनायक नगरपालिका–४ का वडाध्यक्ष लच्छुराम न्यौपानेले जानकारी दिए। उनीहरूको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रसुवाका सूचना अधिकारी प्रहरी निरीक्षक राजु शाहले जानकारी दिए।

कोसी पुलबाट आवागमन सुरु

सप्तकोसी नदीमा पानीको सतह बढेर खतराको संकेत पार गरेपछि आवागमनका लागि बन्द गरिएको कोसी पुल आइतबार अपराह्नदेखि खुलेको छ। आवागमन खुलेपछि कोसी पुलको पूर्वपश्चिम रोकिएका सवारीसाधन गन्तव्यतर्फ जान थालेका छन्। बराहक्षेत्रतर्फ पानीको प्रवाह कम हुन थालेकाले पुलबाट सवारी आवागमन खुला गरिएको सप्तरीको प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले जानकारी दिए।

रौतहट जलमग्न

अविरल वर्षाका कारण बागमती, लालबकैया, झाँझसहितका नदीमा आएको बाढीका कारण रौतहट जिल्लाको अधिकाँश भाग डुबानमा परेको छ। झाँझ नदीको बाढीले गौर–गंगापिपरा सडक खण्ड आइतबार बिहानदेखि अवरुद्ध छ। दुर्गा भगवती गाउँपालिकाका करिब २५ प्रतिशत घरमा बाढी पसेको छ। पीडितलाई उद्धार गरी सरस्वती माध्यमिक विद्यालयमा राखिएको डिएसपी राजु काकीले बताए। यसैगरी लालबकैया नदीमा आएको बाढीले राजपुर नगरपालिका ३ स्थित हुलाकी राजमार्ग अवरुद्ध र्भको मेयर राजिक आलमले बताए।

वीरगन्ज जलमग्न

पर्साको सिर्सिया र तिलावे नदीमा आएको बाढीका कारण वीरगन्ज सहर डुबानमा परेको छ। बाढी वीरगन्ज महानगरपालिकाका वडा नम्बर ९, १०, ११, १३ र २४ का बस्तीहरुमा पसेको छ। मेयर राजेशमान सिंहले डुबान क्षेत्रको स्थलगत निरीक्षण गरी उद्धार र राहतमा जुटन सम्बन्धित पक्षलाई निर्देशन दिएका छन्।

सर्लाही पनि प्रभावित

सर्लाहीको कौडेनास्थित लखनदेही खोलाको बाढीले स्थानीय जनजीवन प्रभावित भएको छ। कौडेना गाउँपालिकाको पर्सा र छपकैया टोलमा लखनदेही खोलाको बाढी पस्दा दुई दर्जन बढी परिवार विस्थापित भएका छन्। बाढीले हुलाकी सडकको करिब दुई किलोमिटरमा क्षति पुर्‍याएकाले आवागमन अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी सरोज राइले बताए। बाढीबाट प्रभावित शिवनगरका ३ सय ५० घरपरिवारलाई स्थानीय प्रशासनले उद्धार गरेको छ।

रातु नदीमा बाढी

महोत्तरीको रातु नदीमा आएको बाढीले तीन स्थानको बाँध कटान गरेपछि सदरमुकाम जलेश्वर डुबानको जोखिममा परेको छ। जलेश्वर नगरपालिकाको रतबारास्थित रातु नदीमा आएको बढीले बलवा, लोहारपट्टीलगायतका स्थानको बाँध कटान गरेको महोतरीका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले बताए। बाढीले बाँध कटान गरेपछि जलेश्वरलगायतका स्थानमा जोखिम बढेको उनको भनाइ।

(मिथिलेश यादव, मदन ठाकुर र महेश्वर चामलिङको सहयोगमा)

प्रकाशित: २० आश्विन २०८२ ०६:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App