१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

टीकापुरको सुरक्षा व्यवस्था कडा, ५ सय सुरक्षाकर्मी परिचालन

तस्वीर : योगेश रावल

टीकापुरमा आयोजना हुने जनता समाजवादी पाटी (जसपा) को विरोध सभालाई मध्यनजर गर्दै यहाँको सुरक्षा व्यवस्था निकै कडा पारिएको छ ।  सशस्त्र र नेपाल प्रहरी गरी करिव ५ सय सुरक्षाकर्मी परिचालन भएको डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिए । उनले कुनै अप्रिय घटना नहोस् भन्नका लागि सुरक्षा सतर्कता अपनाईएको बताए ।  

टीकापुर नगर क्षेत्रका हरेक चोक र प्रवेश नाकामा सुरक्षाकर्मी परिचालन गरिएको छ । विरोध सभा हुने स्थल भानुचोक नजिकैको सडकमा समेत ठूलो संख्यामा सुरक्षाकर्मी देख्न सकिन्छ ।  

जिल्ला प्रहरी प्रमुख एसपी अनुपम शमशेर जबरा आफै टीकापुर पुगेका छन । उनी थप सुरक्षाकर्मी बोकेर धनगढीबाट टीकापुर पुगेका हुन ।  

संसद विघटनको विरोधमा आज जसपाले विरोध सभाको आयोजना गरेको छ । सो विरोध सभालाई पूर्वप्रधानमन्त्री तथा जसपाका नेता डा. बाबुराम भट्टराईले सम्बोधन गर्ने कार्यक्रम छ ।

यो जसपा (तत्कालिन राजपा) बाट निर्वाचित रेशमलाल चौधरीको निर्वाचन क्षेत्र हो । उनी २०७२ भदौ ७ गते टीकापुरमा भएको घटनामा दोषी ठहर भई जेलमा छन । हालै उनी लगायत अन्य केही थारु अगुवालाई सोही घटनामा संलग्न भएको भन्दै उच्च अदालत दिपायलले पुनः दोषी ठहर गर्दै सजाय तोकेको छ ।  

उच्च अदालतको फैसला पछि थारु समुदाय त्रसित बनेको छ । केही ठाउँमा फैसलाको विरोधमा कार्यक्रम समेत भएका छन । फैसला पछि भूमिगत जस्तै भएका लक्ष्मण थारुले आन्दोलनको चेतावनी दिँदै आएका छन ।  

विरोध सभामा जनमास बढाउन गाउँमा उर्दी जारी गरिएको छ । स्रोतका अनुसार थारु बाहुल्य गाउँमा विरोध सभामा रेशमलाल चौधरी समेत सहभागी हुने प्रचार गरिएको छ । जसले गर्दा विरोध सभामा ठूलो संख्यामा थारु समुदायको उपस्थिति रहने अनुमान गरिएको छ ।  

प्रकाशित: ७ माघ २०७७ १०:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App