coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अलपत्र भवन सात वर्षमा बन्यो

नेपाल टेलिकम धादिङको नयाँ भवन । तस्बिर : सरिता/नागरिक

सात वर्षदेखि अलपत्र बनेको नेपाल टेलिकम धादिङको भवन निर्माण सम्पन्न भएको छ। सदरमुकाम धादिङबेसीको शान्तबजारमा भवन निर्माणका लागि चाँदनी/राम जे भी कन्ट्रक्सनले २०७० साल चैत १८ गते नेपाल टेलिकम क्षेत्रीय निर्देशनालयसँग सम्झौता गरेको थियो। भूकम्प, ठेकेदार कम्पनीको ढिलाइ र पैसा निकासा जस्ता कारण देखाई निर्माण कार्य रोकिँदा तीन ढलान गरेर छाडिएको भवन अलपत्र बनेको थियो। भवन निर्माण नहुँदा निर्माणका लागि ल्याइएका सिमेन्ट, रड, तार, अन्य सामानहरु पनि यत्रतत्र छरिएका थिए।  

अलपत्र बनेको टेलिकमको भवन निर्माण कार्य सम्पन्न भएको छ। भवन निर्माण भएसँगै नयाँ भवनबाट टेलिकमले सेवा पनि सुरु भएको छ। नयाँ भवनबाट सेवा सुरु गरेको नेपाल टेलिकमले नयाँ भवनमा टावर राख्ने, शहरी क्षेत्रमा फाइवर नेटवर्कको व्यवस्था जस्ता अन्य सेवाहरु विस्तार गरेको नेपाल टेलिकम जिल्ला शाखा धादिङका प्रमुख श्याममणी अर्यालले बताए। ‘२१ महिनामा भवन सम्पन्न गर्नुपर्ने भएपनि करीब सात वर्षमा बल्ल आफ्नै भवन निर्माण भएको छ’, प्रमुख अर्यालले भने, ‘समयमै भवन निर्माण नहुँदा टावर राख्न, उपकरणहरुको व्यवस्थापनमा समस्या थियो भने सुरक्षाको दृष्टिकोणले पनि जोखिम थियो।’

भवन निर्माण गर्न २०७० सालमा भएको सम्झौता अनुसार २०७१ साल बैशाख २ गतेबाट २१ महिनामा भवन सम्पन्न गर्नुपर्ने थियो। २ करोड २ लाख ४८ हजार ७ सय ८९ रुपैयाँ ७८ पैसामा सम्झौता गरिएको भवन अलपत्र बनेको अर्यालले बताए। पटक पटक समयसिमा थपेको ठेकेदारले निर्माणाधीन भवनलाई पूर्णता दिन नसक्दा उल्टै करिव ९५ लाख जरिवाना भएको छ। भूकम्प र पैसा निकासा जस्ता कारण देखाई निर्माण कार्य रोकिएपछि नयाँ ठेकेदार कम्पनी ओम कुण्डलेश्वर प्रा. लि. लाई जिम्मा दिएको अर्यालले बताए। ओम कुण्डलेश्वरले करीब दश महिनामै मर्मत तथा निर्माण सम्पन्न गरेको छ।  

अलपत्र टेलिकम भवन निर्माणका लागि १ करोड ९६ लाख ४६ हजार ५ सय १० रुपैयाँ ६४ पैसामा ओम कुण्डलेश्वर प्रा. लि. ले सम्पन्न गरेको छ। आफ्नो भवन नहुँदा भाडाका घरमा बसेर कार्यलय संचालन गर्नुपरेको थियो। जसका कारण कार्य सम्पादनमा समेत निकै समस्या उत्पन्न भएको अर्यालले बताए। ‘भाडाको घरमा बस्दा सेवा विस्तारमा समस्या थियो त्यति मात्र होइन मासिक ८० हजार रुपैयाँ त भाडा नै तिर्‍यौं’ अर्यालले भने, भवन बनाउन सम्झौता भएदेखि मात्रै करिव ७० लाख भाडा तिर्‍यौं, एउटा भवनै गुमाए बराबर भएको छ।’    

भाडामा कार्यालय संचालन गर्नुपर्दा दुर सेवा सञ्चारका लागि आवश्यक उपकरणहरु राख्ने सुविधायुक्त कोठा नभएको, सेवा प्रदानमा समस्या भएको थियो। भवन अभावका कारण ग्राहकहरुलाई प्रदान गर्ने सेवा मात्र होइन आफ्नो सामानहरु पनि सुरक्षित तरिकाले राख्न नपाउँदा झनै समस्या थपिएको थियो। भवन अभावका कारण सेवाग्राहिलाई सेवा तथा सुविधा विस्तार गर्न समस्या भएको थियो। सेवाग्राहीका समस्या तथा गुनासोहरुले हैरान हुने गथ्र्यौ। अहिले नयाँ भवन निर्माण भनेसँगै सेवाग्राहीहरुलाई सहज, सरल किसिमले सेवा दिने कार्यालयले जनाएको छ।

प्रकाशित: ७ माघ २०७७ ०७:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App