५ वैशाख २०८१ बुधबार
समाज

जीवन–मरणको दोसाँधमा गंगामायाः अधिकारकर्मीद्वारा जीवनरक्षाको माग

छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई नेपालको प्रचलित कानुनबमोजिम कारबाहीको माग गर्दै गंगामाया अधिकारी विगत २५ दिनदेखि राष्ट्रिय ट्रमा सेन्टरमा आमरण अनशन बसिरहेकी छन्। सरकार, न्यायालय र अन्तर्राष्ट्रिय जगतबाट समेत न्यायाको आशा नरहेको कारण आफ्नो जीवनको अन्तिम संघर्ष भन्दै उनले औषधि र पानी पनि मुखमा नहाली ट्रमा सेन्टरको साऔं तलामा जीवनमरणको लडाइँ लडिरहेकी हुन्।  

छोराको हत्यारालाई कारबाहीको माग राख्दै २३ दिनदेखि अनशनरत गंगामायाको जीवन रक्षाको लागि मंगलबार राष्ट्रिय ट्रमा सेन्टरअगाडि अधिकारकर्मीहरूले दबाबमूलक धर्ना दिएका छन्। सत्याग्रहको २३ औं दिनसम्म पनि उनको अवस्था र मागबारे सरकारको ध्यानाकषर्ण नभएपछि अधिकारकर्मी दबाब दिन सडकमा पुगेका थिए। ट्रमा सेन्टरको अगाडि मानव अधिकारकर्मी, अधिवक्ता, सामाजिक अभियन्ता, कलाकारलगायत ५० जना हाराहारीले गंगामायाको जीवन रक्षाको लागि सरकारको ध्यानाकषर्ण गराएका छन्। अनशनको २३ औँ दिनसम्म पनि सरकारले उनका मागबारे बेवास्ता गर्दै आइरहेको छ। उनको स्वास्थ्य अवस्था कमजोर बनेपछि अधिकारकर्मीहरू सडकमा उत्रन थालेका हुन्। अधिकारकर्मी चरण प्रसाईले गंगामायाको बारेमा सरकारले लाचार बनेको बताए। उनले भने, ‘उहाँप्रति राज्यले चासो देखाएको छैन। यो सत्याग्रही गंगामायाको अपमान हो, सरकारकै हेपाइले गंगामायाले न्याय नपाउने अवस्था भयो।’  

गंगामायाले पटकपटक न्यायको पक्षमा आवाज उठाए पनि कतैबाट आफ्नो कुरा सुनुवाइ नभएकाले अब बाच्नुको कुनै अर्थ नरहेको बताउने गरेकी छन्। उनले आमरण अनशन बसेको २५ औं दिन भइसक्दा पनि सरकारले खासै चासो देखाएको छैन। विगत ९ वर्र्षदेखि छोरा कृष्णप्रसादको हत्यारालाई कारबाही गर्नुपर्ने माग राखेर आमरण अनशन बसेका गंगामायको श्रीमान् नन्दप्रसाद अधिकारीको मृत्यु भएको पनि ६ वर्ष नाघिसकेको छ।  

गंगामायको स्वास्थ्य अवस्था निकै गम्भीर र चिन्ताजनक रहेको मानव अधिकारकर्मी तथा अधिवक्ता पुरुषोत्तम अधिकारीले बताए। नेपाल मानव अधिकार संगठन (हुरोन)ले वीर अस्पताल अगाडि गंगामायाको जीवन रक्षाका लागि सरकारलाई ध्यानाकर्षण गराउँदै दिइएको धर्नामा अधिवक्ता अधिकारीले उनको जीवन रक्षाका लागि सरकार गम्भीर हुनुपर्ने बताए। राज्य नागरिकको अभिभावक भएकाले न्यायको पक्षमा उभिँदा कसैको ज्यान जोखिममा पर्नु कानुनी राज्यको उपहाससमेत भएको भन्दै उनको जीवनरक्षाका लागि सरकारले तत्काल पहल थाल्नुपर्ने बताए। हुरोनका अध्यक्ष महामुनिश्वर आचार्यले गंगामाया अधिकारी जीवमरणको दोसाधमा रहेकोले सरकारले उनको जीवन रक्षामा विशेष ध्यान दिनुपर्ने बताए। गंगामायको न्याय प्राप्तिको बाटा पनि बन्द हुँदै गएको र अदालतबाट पनि न्याय नपाउने अवस्था आएकाले गंगामाया निराश बन्दै गएको उनको तर्क छ। उहाँँलाई न्याय दिनका लागि राजनीतिक निर्णय हुन आवश्यक रहेको बताउँदै राजीतिक नेतृत्वबीच राष्ट्रिय सहमित नभइ उहाँले न्याय पाउने अवस्था नदेखिएको अध्यक्ष आचार्यको भनाइ छ। उनले गंगामायाले अनसश बसेको समय उपयुक्त नभएकाले उनलाई आफूहरूले पटकपटक अहिले अनशन नबस्न भन्दा पनि नमानेको जनाए।  

‘हामीले उहाँलाई पटकपटक यो बेला अनशन नबस्नुहोस् हामी तपार्इंको न्यायको पक्षका छौं, अनशनको पक्षमा छैनौं भन्दा उहाँले आफूलाई नयाय कसैले पनि नदिएको, छोरा श्रीमान् पनि बितेका एउटा भएको छोरालाई पनि झुटा मुद्दा लगाएर थुनिएको छ, म किन बाँच्ने ? अनशनमा नै मर्छु भन्नुहुन्छ,’ हुरोनका अध्यक्ष आचार्यले भने, ‘यदि सरकारी निकाय, अस्पताल र नागरिक समाजको ध्यान पुगेन भने यसपटक उहाँको मृत्यु हुन्छ। राज्यले न्याय दिन्छ दिनुपर्छ।’ राज्य संवेदनशील भएर गंगामायालाई न्याय दिलाउने कुनै न कुनै प्रतिबद्धता जनाए र अनशन तोडाउनुपर्ने उनले सुझाव दिए। आफूहरूको सरोकार पनि उनले अनशन तोडेर जीवन जागिनुपर्छ भन्ने मान्यता रहेको आचार्यले सुनाए। अनशनरत गंगामायाको उपचारमा गम्भीर बन्न पाँच पटकसम्मभन्दा पनि अस्पतालले आफूहरूको कुरा सुनुवाइ नगरको उनको आरोप छ। आइसियुमा राखेर भए पनि गंगामायाको ज्यान जोगाउन ट्रमा सेन्टर प्रशासनसमक्ष माग राख्दै आचार्यले गंगामायले न्याय पाउनुपर्ने र अनशन स्थगित गर्नुपर्ने बताए।  

मानवअधिकारकर्मी इन्द्र अर्यालले माओेवादीको नाममा हत्या गरिएको छोराका न्यायका लागि १२ पटक अनशन बसे पनि सरकारले सुनुवाइ नगरको बताए। छोराको हत्या आरोपमा पक्राउ परेका अभियुक्तले चितवन जिल्ला अदालतबाट सफाइ पाएपछि वास्तविक हत्यारा ल्याउनु प¥यो होइन भने आफूले भनेका मान्छे किन छुटे भन्ने गंगामायाको प्रश्न रहेको उनको भनाइ छ। उनको न्यायको लागि पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, सुशीला कार्की र अधिकारवादीहरू दमननाथ ढुंगाना, केदारभक्त माथेमा, शम्भु थापा, डा. वीरेन्द्र मिश्र, डा. गौरी शंकरलाल दासलगायतले आवाज उठाउँदै आएका छन्। 

यद्यपि गंगामायाले न्याय पाउन सकेकी छैनन्। यसअघि उनलाई वीर अस्पतालमै राखिएको थियो वीर अस्पताललाई कोभिड अस्पताल बनाएपछि उनलाई ट्रमा सेन्टरमा राखिएको थियो। गोर्खा फुजेलकी गंगामाया सशस्त्र द्वन्द्वकालमा हत्या गरिएका छोरा कृष्ण अधिकारीको न्यायका लागि लामो समयदेखि लड्दै आइरहेकी छन्। उनको अनशन जारी रहेकाले बिरामी हुँदा उपचार र हेरचाह सरकारले नै गरिदिने भएपछि उनी वीर अस्पताल र ट्रमा सेन्टरमा बस्दै आएकी हुन्। छोराकै न्यायका लागि लड्दालड्दै उनका पति बितेको सात वर्ष भइसकेको छ। भाइलाई न्याय र हत्यारालाई कारबाही माग गर्दै आएका गंगामायाका जेठा छोरा नुरप्रसाद अधिकारीले दुई वर्ष जेल सजाय भोगिसकेका छन्।  

यता छोरा कृष्णप्रसादको हत्यामा संलग्न अपराधीहरूलाई कारबाही गर्न माग्दै अनसन बस्ने गंगामायाका श्रीमान् नन्दप्रसादको लास ६ वर्षदेखि न्यायको पर्खाइमा अलपत्र अवस्था छ। शिक्षण अस्पताल परिसरमा रहेको फोरेन्सिक विभागमा उनको शव छोराको न्यायका लागि पर्खाइमा रहेको छ। ट्रमा सेन्टरमा अनशनरत रहेकी उनकी श्रीमती गंगामायाले न्यायका लागि अब अन्तिम लडाइँ भएको उद्घोष गरेकी छिन्। गंगामायाले आफूले न्याय नपाएसम्म श्रीमान्को सदगद नगर्ने अडान लिँदै आएकी छन्। छोराका न्यायका लागि लड्दा आफ्नो श्रीमान्(नन्दप्रसाद) ले ज्यान गुमाए बताउँदै न्यायको सुनिश्चितता नभएसम्म सदगद् नगर्ने उनको अडान छ।यसैबीच, आमरण अनसनमा बसेकी गंगामाया अधिकारीको स्वास्थ्य अवस्था दिनानुदिन जटिल बन्दै गएको भन्दै द्वन्द्व पीडित साझा चौतारीले सरकारसँग जीवन बचाइदिन आग्रह गरेको छ।  

अधिकारी पुस ६ देखि वीर अस्पतालस्थित ट्रमा सेन्टरमा १२औं आमरण अनसनमा छिन्। लामो समयदेखि अस्पतालमै बस्दै आएकी अधिकारीको छोरा कृष्णप्रसादको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै आएकी हुन्। अनसनरत अधिकारीको माग सम्बोधनका लागि सरकारका तर्फबाट कुनै पहल नहुनुले समेत द्वन्द्वबाट पीडित समुदायको पीडामा संवेदनशील नभएको भन्दै चौतारीले चिन्ता व्यक्त गरेको छ।

प्रकाशित: २ माघ २०७७ ००:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App