१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

दुःखमा हाँस्न जानेका भजन

बेसहारा जीवन

घरको दैलोमा बसेका भजन साउँद । तस्बिरः पुष्पराज/नागरिक

साननैका हलाभाणा, साननैका सैला ।

दुःख त दुनियाँ हुन्ना, मेरा दुःख गैला ।।  

यो वन गीत प्रायः सुदूरपश्चिमेलीले आफूलाई दुःख पर्दा गुनगुनाउने गर्छन्। तर, भजनले भने जिन्दगीभर यो गीत गुनगुनाइ रहनु पर्‍यो। प्लाष्टिकले बेरिएको भित्ता, घाँस र परालले ढाकिएको छाना, बसेरै भित्र छिर्न मिल्ने सानो दैलो। त्यही दैलोमै थुचुक्क बसेर मुस्कुराइरहेका थिए भजन साउँद। जीवनमा अनेकौं दुःख अनि हण्डर खाएका भजनले भने, ‘गीत गुनगुनाउँदा दुःख भुल्छु।’  

मानिस देख्ने वित्तिकै मुस्कुराइरहने भजनलाई धनगढीसँग जोडिएको कैलाली गाउँमा बच्चादेखि वृद्धसम्म नचिन्ने प्रायः कमै छन्। १७ वर्षअघिको कैलाली गाउँको मुहार फेरिँदैछ। प्रायः खेती किसानी गर्ने कैलाली गाउँका जमिनमा बाक्ला बस्ती बसाइँदै छ। खर र टायलले छाएका घरका छाना फेरिएर गगनचुम्बी महल ठडिँदै छन्। तर, भजनको छाना फेरिएको छैन। वास छाप्रोमा छ, जहाँ उनले झरी र कठ्यांग्रिने रात काटेका छन्। उनलाई पनि चिटिक्क परेको घरमा बस्ने मन नभएको होइन। तर, उनको यो सपना कसले पुर्‍याइदिओस्। कैलाली गाउँको बसाइँमा सुरुमा आफन्त कहाँ बसे पनि पछि सबैले हेयदृष्टिले हेर्न थालेपछि अर्काको खाली जमिनमा छानो छाप्रो बनाएको बताउँदै उनले भने, ‘खाना पकाउने र खाने यहीँ छाप्रोमा गर्छु, सुत्न भने भित्र डर लाग्ने गरेकाले छिमेकीको घरमा बस्छु।’ 

बाल्यकालमा आमा बितिन्, बुबालाई दिमागी समस्याले ग्रस्त भएपछि उपचार नपाएरै बिते। घरको जेठो दाइको पनि उमेर नखाएरै स्वर्गबास भयो। यिनै र यस्तै पीडा सम्हाल्न नसकेरै जन्मस्थान जोरायल छोडेर कैलाली भाँसिएका थिए भजन। ‘आमा र बुबाको माया नपाएर जीवन जानै लाग्यो,’ भावविह्वल मुद्रामा भजनले भने,‘आमा बुबा र दाइको मायाले सताउन थालेपछि डोटी छोडेर यहाँ आएको हुँ।’

कसैले सहयोग गरेर घर बनाइदिएको भए व्यवस्थित भएर बस्ने धोको रहेको बताउँदै उनी भन्छन्,‘सधैँ अर्काको घरमा गएर खाद्यान्न माग्नु पर्ने, त्यसमा पनि पानी पर्दा छिमेकीकै सहारामा बस्नु परेको छ।’ सरकारले घर बनाइदिएको भए सहज हुने उनी बताउँछन्। ‘सरकारले घर बनाउँछ भन्छन्,’ उनले भने,‘तर, खै ! म कहाँ त कोही आएकै छैनन्।’ टहरा बनाएको नजिकैको खोला किनारको जमिन देखाउँदै उनले भने,‘सरकारले यही जमिनमा घर बनाइदिए हुन्थ्यो।’ आफूसँग नागरिकता समेत नभएको बताउँदै उनले भने,‘नागरिकता नहुँदा सरकारी राहत र भत्ता पाउन सकेको छैन।’

धनगढी–१३, कैलाली गाउँमा अर्काको खाली जमिनमा सानो झुप्रो बनाएर बस्दै आएका भजन सहयोगी रहेको स्थानीय टंकदेवी आले बताउँछिन्। उनले भनिन्,‘भजनको आफ्ना परिवारका कोही छैनन्, वर्षौदेखि यहीँ बस्दै आएकाले हामी सबै आफन्त भएका छौँ।’ सानो छाप्रोमा वर्षातको पानीले बस्नै नमिल्ने भएपछि उसलाई छिमेकीले वास दिएको बताउँदै उनी भन्छिन्,‘वर्षातपछि भने पुनः यही छाप्रोमा बस्दै आएका छन्।’ स्थानीयहरुले चामल, दाल तथा तरकारी सहयोग गर्दै आएको बताउँदै उनी भन्छिन्,‘भजनलाई खाने कुराको केही कमी हुन नदिन हामी गाउँका सबैले सहयोग गर्दै आएका छौँ। तर पनि उनलाई सरकारले व्यवस्थित रुपमा बसोबासका लागि सहयोग गरिदिएको भए सहज हुने थियो।’  

धेरै पटक बिरामी हुँदा स्थानीयले पैसा संकलन गरेर उपचार गराएको सम्झँदै अर्का स्थानीय नरबहादुर थापा भन्छन्,‘भजनलाई गाह्रो साह्रो पर्दा भने गाउँलेले सहयोग गर्दै आएका छौँ।’  

भजनका लागि उपयुक्त स्थानको खोजीमा रहेको बताउँदै वडा नम्बर १३ का वडाध्यक्ष विजय जोशीले भने,‘वर्षौदेखि यहीँ गाउँमा बस्दै आएका भजनको व्यवस्थित बसोबासका लागि केही सोच्दैछौँ।’ उनले वडाबाट थोरबहुत सहयोग गर्ने बताउँदै भने,‘घर निर्माणका लागि कोही दाता पाइएमा हामीले पनि केही सहयोग गथ्र्यौं।’

प्रकाशित: २८ पुस २०७७ ०५:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App