१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

ग्रामिण क्षेत्रलाई शहरसँग जोड्ने सडक

बाँकेको खजुरामा सडक उद्घाटन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल । तस्बिर: नागरिक

बाँकेको ग्रामिण क्षेत्रलाई शहरसँग जोड्ने सडक र पुल लुम्बिनी प्रदेश सरकारले सञ्चालनमा ल्याएको छ । जिल्लाको धनौलीदेखी नेपालगन्ज–गौघाट हुदै हुलाकी सडक जोड्ने सडक र डुडुवा गाउँपालिकाबाट नेपालगन्ज जोड्ने पक्की पुल सञ्चालनमा ल्याइएको हो ।  

लुम्बिनी प्रदेश सरकारको भौतिक पुर्वाधार विकास मन्त्रालय अन्तर्गत सडक पुर्वाधार विकास कार्यालय बाँकेले निर्माण सम्पन्न गरेका सडक र पुलको मुख्यमन्त्री शंकर पोखरेलले सोमबार औपचारिक रुपमा उद्घाटन गरे । खजुरा गाउँपालिका वडा नम्बर २ र ३ को शहिद सेतु बिक मार्गका रुपले चिनिने उक्त सडक ४ करोड ९ लाख ६२ रुपैयाँमा सम्झौता भएर सम्पन्न भएको हो ।  

सडक पुर्वाधार विकास कार्यालय बाँकेका निमित्त प्रमुख (इन्जिनियर) गोविन्द महतराका अनुसार २०७६ फागुन ८ गते सडक निर्माण गर्न सम्झौता भएर यही पुस २ गते काम सम्पन्न भएको थियो ।  

उक्त सडक निर्माणको जिम्मा खड्का कृष्ण कन्स्ट्रक्सन कोहलपुर बाँकेले पाएको थियो । कुल ५ दशमलभ १ किलोमिटर तथा ८ मिटर चौडाई रहेको उक्त सडकमा माटो पटान, ग्राभेल, नाली निर्माण, ह्युम पाइप, कल्भर्ट निर्माण लगायतका मुख्य काम गरिएको निमित्त प्रमुख महतराले जानकारी दिए ।  

यस्तै डुडुवा गाउँपालिकाबाट नेपालगन्ज उपमहानगरपालिका जोड्ने गन्धैला नालामा १ करोड १४ लाख ५४ हजार ६ सय ५८ रुपैयाँमा सम्झौता भई ‘बक्स’ पुल निर्माण गरिएको छ । उक्त पुल निर्माण भएपछि डुडुवा गाउँपालिकाको होलिया, बेतहनी हुदै नेपालगन्जको पुरैनीसम्म आवत–जावत गर्न सहज भएको छ । सन् २०१८ जुलाई १६ मा सम्झौता भएको उक्त पुल सन् २०२० जनवरी १४ मा सम्पन्न भएको कार्यालयले जनाएको छ ।

 निमित्त प्रमुख महतराले चालु आर्थिक वर्ष २०७७-७८ का लागि ६४ वटा योजना कार्यान्वयन गर्ने क्रममा रहेको बताए । ‘१२ वटा पुलको वाक ओभर सर्भे गरेर मन्त्रालयमा पठाइसकेका छौं, तीन वटा पुलको आर्थिक प्रस्ताव खोल्दैछौं, कृषि र सिमा सडक निर्माणको काम हुदैछ,’ उनले भने । सो क्रममा मुख्यमन्त्री शंकर पोखरेल, लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरी, कृषिमन्त्री आरती पौडेल, नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख डा. धवलसम्शेर राणा, खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपति, उपप्रमुख एकमाया बिक लगायतले कृषि सडक र पुल निर्माण सम्पन्न हुँदा ग्रामिण क्षेत्रका सर्बसाधारणलाई शहरसँग जोड्न सहज भएको बताए ।

 

 

 

प्रकाशित: २७ पुस २०७७ १६:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App