६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

भक्तपुर नगरपालिकाले भन्यो : माघ १ गतेदेखि स्कुल सञ्चालन अनिवार्य होइन

भक्तपुर नगरपालिकाले नगर क्षेत्रभित्रका स्कुलहरुलाई माघ १ गतेदेखि खोल्न भने पनि त्यो अनिवार्य नभएको स्पष्ट पारेको छ।  भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले त्यो बाध्यकारी नभई विद्यार्थीको हितलाई ध्यानमा राखी सहज बनाइएको मात्रै बताए।  भक्तपुरका प्रधानाध्यापकहरुबीच आइतबार भएको बैठकमा उनले भने, माघ १ गतेदखि अनिवार्य रुपमै विद्यालय खोल्नै पर्छ भन्ने होइन, विद्यार्थीहरुको हितलाई ध्यानमा राखेर विद्यालयहरुले निर्णय गर्न सक्छन्।  नगरपालिकाले सहज बनाइदिएको मात्र हो।  

नगर प्रमुख प्रजापतिको अध्यक्षतामा नगरभित्रका संस्थागत विद्यालयहरूका प्रधानाध्यापकहरूको बैठकमा नगर प्रमुख प्रजापतिले कोभिड १९ संक्रमण जोखिमका कारण विगत १० महिनादेखि बन्द रहेका विद्यालयहरू वैकल्पिक सिकाईलाई निरन्तरता दिंदै अभिभावकहरूको पूर्व स्वीकृति, व्यवस्थापन समितिको निर्णय र पूर्व तयारी तथा कार्ययोजना बनाई मात्र २०७७ माघ १ गतेदेखि कक्षाहरु सञ्चालन गर्न आग्रह गरेको स्मरण गरे।  प्रमुख प्रजापतिले गत चैतदेखि बन्द रहेका विद्यालय शैक्षिक सत्रभरि नखुल्दा विद्यार्थीको शैक्षिक भविष्य नै अन्योलमा रहेको अवगत गराउँदै विद्यालय सञ्चालन सबैको साझा सरोकारको विषय भएकोले भक्तपुर नगरपालिकाले सम्बन्धित सरोकारवालाहरूको चरणबद्ध छलफल पश्चात २०७७ माघ १ गतेदेखि कक्षाहरू सञ्चालन गर्ने निर्णयमा पुगेको बताए।  

उनले आवश्यक सचेतता अपनाई विद्यालय सञ्चालन गर्नु आजको आवश्यकता भएको औंल्याउँदै कतिपय सामुदायिक विद्यालयका विद्यार्थीहरूमा अनलाइन कक्षाको पहुँच नभएको हुँदा भक्तपुर नगरपालिकाले सामुदायिक विद्यालयका कक्षा १, २ र ३ मा वर्क सिट वितरण गरेको बताए।  उनले अभिभावक र विद्यार्थीहरूको भावना बुझेर सुरक्षित ढंगले कक्षा सञ्चालन अगाडि बढाउन अनुरोध गर्दै कक्षा सञ्चालनको लागि भक्तपुर नपाले सामुदायिक विद्यालयको लागि साबुन, क्लोरिन र फेससिल्ड पनि वितरण गरिसकेको जनाए।  

कार्यक्रममा भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले कोभिड १९ का कारण धेरैको जीवनशैली र सोचाइमा परिवर्तन आएको बताउँदै कोभिडले जीवनउपयोगी शिक्षा पनि प्रदान गरेको बताइन्।  कोभिड नियन्त्रणको लागि नगरपालिकाले खडा गरेको प्रकोप व्यवस्थापन कोषमा विभिन्न संघ संस्थाहरूबाट सहयोग प्राप्त भएको बताउँदै उपप्रमुख जोशीले २५ शैय्याको एचडीयु सञ्चालनको तयारी भइरहेको बताइन्।  

कार्यक्रममा उपस्थित प्रधानाध्यापकहरूले विद्यालय सञ्चालनको लागि आवश्यक तयारीमा जुटिरहेको र सोको लागि अभिभावकहरूसँग पनि छलफल गरेको बताए।  उनीहरुले शैक्षिक सत्र सुरु ढिलाई हुँदा विद्यार्थीहरूको विवरण भर्ने विषयमा अन्योल देखिएको, स्थानीय पाठ्यक्रम अगाडि बढाउन सन्दर्भ सामाग्रीको अभाव भएकोलगायतका राय—सुझाव प्रस्तुत गरेका थिए।  कार्यक्रममा भक्तपुर नपा शिक्षा शाखा प्रमुख हरिप्रसाद निरौलाले विद्यालय सञ्चालनका क्रममा आवश्यक स्वास्थ्य सुरक्षाका विधि पूर्ण रुपमा पालना गर्न अनुरोध गरे।  

 

प्रकाशित: २६ पुस २०७७ १२:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App