१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

हिमपातले कर्णालीका किसान खुसी

लामो समयदेखि खडेरीको मार खेप्दै आएका कर्णालीका किसान हिउँ परेपछि निकै खुसी छन्। हिउँ परेसंगै उनीहरु नियमित खेती कर्म तिर लागेका हुन्। पुस महिनामा वर्षा र हिमपात भएपछि हिउँदे बाली लगाउने तयारीमा जुटेका छन्। हिउँ परेपछि जमिन भिजेको छ।  

अधिकांश पाखो जमिन वर्षा नहुँदा बाँझो थियो। अब पाखो बारीमा पनि गहुँ छर्ने तयारी भइरहेको कालिकोटका किसान अदानसिंह बोहोराले बताए। उनले भने,‘गहुँ छर्ने सिजन जान लागिसकेको थियो। ठिक समयमा हिउँ पर्दा जमिनमा चिस्यान उत्पन्न भएको छ। यो गहुँ छर्नका लागि पनि उपयुक्त समय हो। समयमै हिमपात र वर्षा भएकाले बारी बाँझो राख्नुभन्दा बाली लगाउने तयारी गरिरहेका छौँ।’

हिमपातले जिल्लाका स्याउ किसान थप उत्साहित भएका छन्। स्याउ खेतीका लागि चिस्यानको आवश्यकता पर्ने र त्यो चिस्यान हिमपात भएपछि प्राप्त हुने भएकाले   व्यवसायिक स्याउ खेती गरिरहेका किसान उत्साहित भएका हुन्। उनीहरुले हिमपातको पानी हिउँ संकलन पोखरीमा संकलन गर्न थालिसकेका छन्। उच्च लेकाली क्षेत्रका किसान हिउँका डल्ला बोकेर पोखरीमा जम्मा गरिरहेका छन्।  

तिलागुफा नगरपालिका २ फोइका स्याउ किसान वेगमबहादुर शाही यो वर्ष समयमै हिउँ परेकोले स्याउ उत्पादन बढ्ने विश्वास गरेको बताउँछन्। उनले भने,‘लामो समय खडेरी हुँदा स्याउमा रोग किराको संक्रमण हुने, स्याउ नफल्ने र कालोतुसारोले स्याउ सुकाउने गरिरहेको हुन्थ्यो। यो पटक समयमै चिस्यान प्राप्त हुने भएकोले स्याउको गुणस्तरीय उत्पादन हुने विश्वास गरेका छौँ।’

हिमपात भएसँगै स्याउ खेतीलाई ठूलो राहत भएको किसान बताउँछन्। हिमपातले स्याउको गुणस्तर वृद्धि हुने, स्याउमा लाग्ने रोग किराहरुमा पनि कमी आउने जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटा बताउँछन्।

कालिकोट जिल्लाको सबै स्थानीय तहमा गरी करीब ६ हजार हेक्टर गहुँ खेती हुने पाखो जमिन बाँझै थियो। कृषि प्राविधिक प्रशुराम काफ्लेले भने, ‘आकाशे पानीको भरमा खेती हुने पाखोबारीहरु बाँझै थियो। अब खेती लाग्छ।’ उनले विगत केही वर्षयता मंसिरमा छरिसक्नुपर्ने गहुँ समयमै वर्षा नहुँदा किसानले पुस, माघ र फागुनमा समेत छर्ने गरेको बताए।

कर्णालीको हुम्ला, जुम्ला, मुगु, डोल्पामा हिउँ परेको हो। कालिकोटका लेकाली क्षेत्रमा  हिमपात भएपनि तल्लो क्षेत्रमा भारी वर्षा भएको हो। पछिल्लो समयमा नियमित हिमपात र वर्षा नहुँदा जलवायुमा निकै हलचल भइरहेको छ। तर यो समयमा ठिक समयमा हिउँ परेको छ। संस्कृति सम्बन्धी जानकार रमानन्द आचार्य हिमपातले किसानका खुसी छाएको प्रतिक्रिया दिए।  

नियमित वर्षा र हिमपात नहुँदा खेती किसानीमा निकै घाटा हुने गरेको छ। किसान आयतित खाद्यान्न खरिद गरेर खेतीयोग्य जमिन बाँझो राख्न थालेका छन्। उनले भने,‘यो पटकको हिमपातले किसानमा हौसला थपेको छ। अब एक पटक माघ महिना र फागुन महिनासम्म हिउँ परेको खण्डमा बालीनाली सप्रन्छ।’

प्रकाशित: २१ पुस २०७७ ०५:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App