१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

प्रशासनले आँखा चिम्लिँदा भाडामा मनोमानी

फाइल तस्बिर : नागरिक

प्रहरी–प्रशासनले आँखा चिम्लिदिएपछि सवारीका साधनलाई सडकमा यात्रु ठग्न छुट भएको छ । प्रायः छोटो दूरीका सवारीले यात्रुबाट प्रतिकिलोमिटर १२ देखि २० रुपैयाँसम्म ठटाइरहेपनि प्रहरी–प्रशासन ‘उजुरी नै नआएको’ बहाना गर्दै चुपचाप बसेपछि सवारीको मनपर्दी बढेको हो ।  

इलाम बजार–बिब्ल्याँटे ४ किलोमिटर पक्की सडकको तोकिएको भाडा २७ रुपैयाँ हो । तर, यो रुटमा चल्ने भ्यानले अहिले यात्रुबाट खुलमखुला ५० रुपैयाँ लिइरहेका छन् । प्रहरीले बेला–बेला गर्ने भनेको अनुगमन पनि ‘कर्मकाण्डी’ भइदिँदा यात्रुले सास्ती खेप्नुपरेको छ । २७ रुपैयाँ तिर्दा पुग्ने ठाउँमा ५० रुपैयाँ तिरेर ठगिएका यात्रु पनि सवारीको वास्तविक भाडा कति हो भन्ने सोध्दैनन् । कसैले सोधिहाले यातायात श्रमिकले ‘लकडाउनपछिको नयाँ भाडा’ भन्दै ५० रुपैयाँ नै लिँदैछन् ।  

आइतबार बिब्ल्याँटेबाट इलाम बजार आएकी मलिना राईले आफूले यसअघि ३० रुपैयाँ तिरेको ठाउँमा ५० रुपैयाँ तिर्नुपरेको सुनाइन् । ‘अलि अस्तिसम्म त ६० रुपैयाँले ओहोरदोहोर नै हुन्थ्यो,’ उनले भनिन्, ‘इलाम बजारमा ओर्लिएपछि ड्राइभरले एकोहोरो भाडा नै ५० रुपैयाँ मागेपछि पो छक्क परें । नदिऊँ भने सुन्नै नसकिने शब्दका गाली खाइन्छजस्तो लागेर तिरिदिएँ ।’ उनले गाउँबाट आएका आफूजस्ता कसैलाई पनि वास्तविक भाडादर थाहा नहुने भएकाले यो रुटमा गाडीले जति माग्छन्, त्यति भाडा दिन बाध्य भएको सुनाइन् । छेउमै रहेका अर्का यात्रु भन्दैथिए– यो लकडाउन चाहिँ हामीजस्ता गरिबलाई भएनछ, गाडीवालालाई मात्रै भएछ क्यार ।

भ्यान चालकहरू नै यो रुटमा प्रतिव्यक्ति ५० रुपैयाँ भाडा लिनेगरेको स्वीकार्छन् । इलाम बजारमै भेटिएका एक भ्यान चालकले भाडादरबारे सोध्दा जवाफ दिए– ‘लकडाउनपछि सरकारले नै दोब्बर भाडा लिनु भनेको छ ! हामीले अहिले ५ जनामात्रै यात्रु राखेर यो भाडा लिएका हौं ।’ तर, त्यसको १० मिनेट नबित्दै उनी आफैं भ्यानमा ८ यात्रु राखेर बिब्ल्याँटेतिर हुइँकिए ।  

भ्यानले ५ यात्रुमात्रै राख्ने त छिटफुटमात्रै छ । धेरैले चाहिँ ७ देखि ९ जनासम्म राख्दा पनि भाडादर ५० रुपैयाँ नै लिइरहेका छन् । ‘हामी त ५ जनामात्रै हाल्ने भन्छौं तर यात्रु खचाखच चढेपछि ओराल्ने कुरा पनि त भएन,’ अर्का चालकले सुनाए, ‘कहिलेकाहीं ९ जना पनि चढ्छन् ।’ इलाम बजारबाट चढेर १ किलोमिटरमा रहेको धोविधारा ओर्लिंदा पनि ५० र २ किलोमिटरको चुरेघाँटी पुग्दा पनि ५० रुपैयाँ नै लिने गरिएको छ ।  

प्रशासन, प्रहरी र ट्राफिक प्रहरीका जिल्ला कार्यालय सदरमुकाममै छन् । स्थानीय सरकारको मुख्य कार्यालयसमेत यहीं छ । तर, आफ्नै आँगनमा सवारीसाधनले यसरी यात्रुमाथि लुट मच्चाइरहँदा नियन्त्रणमा कसैको ध्यान पुग्न सकेको छैन । इलाम बजारबाट गोलाखर्क भञ्ज्याङसम्मको पक्की सडकमा पनि तोकिएको भाडा ३० रुपैयाँ छ । तर, यो रुटमा चल्ने भ्यानले अहिले यात्रुबाट ५० रुपैयाँ नै लिइरहेका छन् ।  

सवारीसाधनले बढी भाडा उठाइरहेकामा यातायात व्यवसायी स्वयं पनि सन्तुष्ट छैनन् । तर, आफूहरू अरूलाई निर्देशन दिने, नियमन गर्ने ठाउँमा नभएकाले आँखैअघि यात्रु ठगिएको टुलुटुलु हेर्नुपरेको व्यवसायी बताउँछन् । पूर्वेली जीप तथा ट्याक्सी प्रालि अध्यक्ष गृष्म सुब्बाले व्यवसायीले आफ्नोबाहेक अरूको सवारीसाधन नियमन गर्नै नसक्ने बताए । ‘जसले भाडा कार्यान्वयनको अवस्था अनुगमन गर्नुपर्ने हो, उसैले नदेखेजस्तो गरेपछि जसलाई जति मन लाग्यो, उति लिँदा भइहाल्यो नि !’ उनले भने, ‘केही सचेत व्यवसायीले पटक–पटक भाडा कार्यान्वयन माग गर्दा पनि प्रशासन गम्भीर नभएपछि सर्वसाधारणले सास्ती खेपेका छन् ।’

सवारी साधनले जिल्लाकै फिक्कल–पशुपतिनगर सडकमा पनि तोकिएभन्दा दोब्बर असुलिरहेका छन् । ११ किलोमिटरको यो पक्की सडकको भाडा ५० रुपैयाँ तोकिएको छ । तर, अहिले यहाँ सवारीले सय रुपैयाँ लिइरहेको यात्रुले बताएका छन् । ‘अस्ति ५० रुपैयाँ तिर्दा हुन्थ्यो अहिले १ सय रुपैयाँ तिर्नुपर्दा ज्यादै खिन्न भयो,’ स्थानीय चन्द्र तामाङले सुनाए, ‘हामी सर्वसाधारणको मर्का कसैले बुझिदिँदैन, कहिले, कसले यत्रो भाडा बढायो थाहा छैन, प्रहरी–प्रशासन सबै किन चुप छन् ?’  

पशुपतिनगरका यातायात व्यवसायी मिलन क्षेत्रीले समेत भ्यानले मागेको भाडा यात्रुले थपक्क दिने गरेपछि यहाँको भाडा आफैं दोब्बर भएको बताए । ‘वास्तविक भाडा त ५० रुपैयाँ नै हो । अस्ति लकडाउन खुकुलो भएका बेला आधा संख्याका यात्रु राख्दा ७५ रुपैयाँ लिनुपर्नेमा पनि सय रुपैयाँ नै उठाइएको थियो,’ व्यवसायी क्षेत्रीले भने, ‘अहिले जति यात्रु चढाएपनि सय रुपैयाँ नै लिनु गलत हो तर अनुगमन नै नभएपछि कसको के लाग्छ र !’  

यात्रुले अहिले मेची राजमार्गको फिक्कल–तीनघरे खण्डको ५ किलोमिटरकै भाडा १ सय रुपैयाँ तिर्नुपरिरहेको छ । यो रुटको भाडा ४० रुपैयाँ तोकिएकामा लकडाउनभन्दा केहीअघि व्यवसायीले आफूखुसी १० रुपैयाँ बढाएका थिए । भ्यान चालक रजेश प्रधान भन्छन्, ‘सय रुपैयाँ लिँदा ५ देखि ८ यात्रुमात्रै चढाउँछौं । १० यात्रु राख्दा चाहिँ जम्मा ५ सय ।’ स्थानीय यातायात व्यवसायीसमेत रहेका ज्ञानीकाजी लाप्चाले आफू स्वयंले डेढ सय रुपैयाँ तोकिएको फिक्कल–बिर्तामोडको भाडा २ सय रुपैयाँ तिर्न बाध्य भएको सुनाए । ‘म त अझ फिक्कलभन्दा १० किलोमिटर पर हर्कटेदेखिमात्रै बिर्तामोड जान गाडी चढेको थिएँ तर भाडा चाहिँ फिक्कलदेखिकै तिर्नुप¥यो,’ उनले भने, ‘प्रशासनले भाडा अनुगमन गर्न अति आवश्यक भइसकेको रहेछ ।’  

इलाम–बिर्तामोडको सवारी भाडा २ सय ९० रुपैयाँ तोकिएकामा लकडाउनअघि ३ सय रुपैयाँ लिइँदैथियो । सवारीका साधनले लकडाउन केही खुकुलो भएका बेला यही रुटमा १ हजार रुपैयाँसम्म लिएको यात्रुको गुनासो थियो । अहिले पनि यो रुटमा ५ सय रुपैयाँसम्म लिनेगरेको यात्रुको गुनासो छ । ‘अहिले पनि कतिपय गाडीले इलाम–बिर्तामोडको एकोहोरो भाडा ५ सय रुपैयाँ नै लिइरहेका छन्,’ एक यातायात व्यवसायीले नाम नखुलाउनेगरी भने, ‘प्रहरी–प्रशासनले हेर्दैन, गाडीले मागेपछि यात्रुले दोहोरो बात गर्न सक्दैन । वास्तवमा यात्रु ठगिएकै छन् ।’

प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईंले आधा यात्रु राखेर साविकको भन्दा ५० प्रतिशत बढी भाडा लिने नियम खारेज भइसकेको बताए । ‘अहिले कुनैपनि रुटमा तोकिएभन्दा बढी भाडा लिनै पाइँदैन,’ उनले भने, ‘कसैले बढी भाडा लिए तुरुन्त कारबाही गर्छाैं ।’ तर, उनले यात्रुले उजुरी नै नदिएको बताए । ‘उजुरी नदिएकै कारणले पनि यात्रु आफैं ठगिनुपरेको हो,’ उनले भने, ‘प्रशासनले बेला–बेला अनुगमन गर्दैछ ।’

प्रकाशित: १९ पुस २०७७ ११:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App