ल्होछारको मिथक
ठूलो तालमा एउटा कछुवा दक्षिणतिर मुख गरेर बसेको थियो। आर्य मञ्जुश्री त्यहाँ गए। उनले पूर्वतिरबाट काठको बिँड भएको फलामको कर्दले कछुवालाई प्रहार गरे। यसरी हान्दा कछुवाको पेट छेडेर कर्दको टुप्पो पश्चिमतिर निस्क्यो, काठको बिँड पूर्वतिर रह्यो। छटपटिएर कछुवाले मुखबाट आगोको ज्वाला छाड्यो।
उसको पछाडिबाट पिसाब बग्यो। मुर्छा परेर कछुवाले चार खुट्टा फट्टायो। चिनियाँ ज्योतिषशास्त्रको आठवटा तत्व काठ (पूर्वतिरको कर्दको बिँड), फलाम (पश्चिमतिरको कर्दको टुप्पो), आगो (कछुवाले मुखबाट ओकलेको), जल (उत्तरतिर पिसाब फेरेको), माटो (अघिल्लोपट्टिको दाहिने हात), आकाश (पछाडिपट्टिको दाहिने खुट्टा), वायु (अगाडिपट्टिको बायाँ हात) र डाँडा वा पर्वत (पछाडिको बायाँ खुट्टा) भयो भनिन्छ। यसैबाट मञ्जुश्रीले अध्ययन गरी आठ पार्ग (आठ तत्व), नौ मेवा (अंक गणित) र १२ वर्ग बनाएको भनिन्छ। वर्गको नाम विभिन्न पशुपन्छीको नामबाट राखिएको छ।
भूगोल र ल्होसार
तमु ल्होसारको कुरा गर्दा यसको पृष्ठभूमिलाई स्पष्ट पार्नुपर्छ। तिब्बती भाषामा ‘लो’ भनेको वर्ष र सार भनेको नयाँ बुझिन्छ। तिब्बती व्याकरणमा विशेषण पछाडि हुन्छ। त्यसकारण सारल्हो नभेर ल्होसार भनियो।
ल्होसार चार प्रकारका छन्। पौष शुक्ल प्रतिपदामा प्रवर्तन हुने ल्होसारलाई तोल ल्होसार भनिन्छ। ल्होसारमध्येको यो आदिम हो। तर, अहिले यो लोपोन्मुख अवस्थामा छ। पश्चिम तिब्बतको कैलाशमान सरोवर वरिपरिका केही जनसमुदाय, नेपालको हुम्ला, मनाङ, भुटानका केही जनसमुदायमा मात्रै यो तोल ल्होसार प्रचलनमा रहिआएको छ।
कैलाश मानसरोवरदेखि पूर्व, ल्हासादेखि पश्चिम, सम्पूर्ण पश्चिम तिब्बत, नेपालको हुम्ला, मनाङ र खुम्बुबाहेकका सम्पूर्ण नेपालको हिमाली क्षेत्र र नेपालका तामाङ समुदायले मनाउने सोनाम ल्होसार हो। सोनाम ल्होसारको प्रवर्तन माघ शुक्ल प्रतिपदाको दिन हुन्छ।
त्यसपछि ल्हासादेखि पूर्वको तिब्बत, नेपालका खुम्बुका र यहाँबाट शाखाबन्दी भएर अयन्त्र बसोबास गरेका शेर्पाहरूले मनाउनेलाई ‘ग्याल्पो ल्होसार’ भनिन्छ। फागुन शुक्ल प्रतिपदाको दिन ग्याल्पो ल्होसार प्रवर्तन हुन्छ। अहिले दलाई लामाले मान्ने पनि ग्याल्पो ल्होसार हो। तिब्बती पात्रोको उठान फाल्गुन शुक्ल प्रतिपदा ग्याल्पो ल्होसारबाट हुन्छ। यी चार ल्होसारमध्ये अहिले सोनाम ल्होसार मान्नेहरू बढी छन्। ‘चाइनिज न्यु–इयर’ पनि माघ शुक्ल प्रतिपदाको दिन मनाइन्छ।
गुरुङहरूले पुस १५ को दिन मनाउने ल्होसार हो, तमु ल्होछार। अन्य तीन ल्होसार तिथि अनुसार मनाइन्छ भने तमु ल्होछार सौरमान अनुसार मनाइन्छ। गुरुङले मात्रै मान्ने भएकाले यसलाई तमु ल्होछार भनिएको हो।
शब्द विश्लेषणमा ल्होसार
शब्द रचनाको विकासक्रम मूल शब्द तत्सम शब्द र तद्भव शब्दबाट हुन्छ। मूल शब्दलाई जस्ताको तस्तै अँगालेको छ भने त्यसलाई तत्सम शब्द भनिन्छ। मूल शब्दबाट विकसित भएर बनेको छ भने त्यो तद्भव शब्द हुन्छ। ल्होसार भनेको तिब्बती भाषाको मूल शब्द हो। नेपालको हिमाली क्षेत्रका बासिन्दाले ल्होसारलाई ल्होसार नै भन्छन्। नेपालका गुरुङ, तामाङ, थकालीले ल्होसारलाई ल्होछार भन्छन्। गुरुङहरूले नयाँलाई ‘छार’ भन्छन्। गुरुङ भाषा तिब्बती भाषाबाट विकास भएको शब्द हो, तर गुरुङको आफ्नै भाषा, वेशभूषा र संस्कार–संस्कृति छ।
किन गुरुङहरूले तिथि अनुसार नमानी विक्रम सम्वतको गते अनुसार माने भन्ने प्रश्न छ। गुरुङहरू गण्डकी प्रदेशको अन्नपूर्ण हिम शृंखलाको दक्षिणपट्टि अर्थात् काँठका आदिवासी वा मूलवासी हुन्। काँठ भाग तमुवान हो, अर्थात् गुरुङ भाषा र संस्कृतिको सम्प्रभुता भएको क्षेत्र। गण्डकी प्रदेशमा काँठ र कछाड भाग छ। काँठ भनेको हिमालदेखि तत्कालको भाग (अलि चिसो ठाउँ), कछाड भनेको अलि तलतिरको घमाइलो ठाउँ। कछाड भाग मगरात हो, मगरहरूको भाषा र संस्कृतिको सम्प्रभुता भएको क्षेत्र।
महाभारत र चुरे पर्वतदेखि तल अर्थात् भावर प्रदेशदेखि तल थरुवान पर्छ, थारु भाषा र संस्कृतिको सम्प्रभुता भएको ठाउँ।
मगरातको अर्को नाम खसान्त हो। पश्चिम नेपालको कर्णाली प्रदेश (अहिलेको ६ नम्बर प्रदेश मात्रै होइन, ५, ६ र ७ प्रदेश)को पहाडी भाग खसान हो, खस भाषा र संस्कृतिको उत्पत्तिको थलो। त्यस्तै, हिमाली क्षेत्र जडान हो, जाड भाषा र संस्कृतिको सम्प्रभुता भएको क्षेत्र। खसहरू पूर्वतिर बढ्दै आए। गण्डकी क्षेत्रको मगरातमा उनीहरू आएपछि खस भाषा र संस्कृतिको पूर्ण विकास भयो। यहाँ गुरुङ, मगर, खस–बाहुनहरूको समन्वय भयो। यसकारण गण्डकी प्रदेशको कछाड भाग मगरातलाई खसान्त भनियो।
सम्पूर्ण नेपालीको मान्यता छ कि वर्षमा सबैभन्दा लामो दिन असार १५ हो भने सबैभन्दा लामो रात पुस १५ को हो। पुस १५ को रात भन्नाले पुस १५ जाँदो र पुस १६ आउँदो रात नभएर पुस १४ जाँदो र पुस १५ बियाँउदो रात भनेर बुझ्नुपर्छ। किनभने पुस १५ गते बिहानको झुल्के घामदेखि दिन लामो हुने क्रमको शुभारम्भ हुन्छ। यस रातमा फिस्टे चरो मुर्छा पर्छ भनिन्छ। फिस्टे चराको गाँड सानो हुन्छ, लामो रात भएकाले भोकले मुर्छा पर्छ भनिएको हो।
१५ पुसमा बाहुन–क्षेत्रीले अनदी चामललाई घिउमा पकाएर उखुको खुदो हालेर लट्टे पकाउँछन्। अनि कालो मासको फुलौरा तोरीको तेलमा पकाउँछन्। यसरी अनदीको लट्टे र कालो मासको फुलौरा खाएर बाहुनक्षेत्रीहरू पुसे १५औँको
चाड मान्छन्। मगरका युवायुवतीले तिहारमा देउसीभैलो खेलेर सँगालेको अन्न र पैसाले खोइ खाएर पुसे १५ को चाड मान्छन्। र, आफ्नो जीवनसाथी रोज्छन्।
१५ पुसदेखि दिन लामो हुने क्रम सुरु हुने हुनाले यस दिनलाई गुरुङहरू ल्होछार÷नयाँ वर्ष मान्दछन्। गुरुङहरूले नयाँ वर्ष मान्ने दिन कुनै राजनीतिक एवं धार्मिक घटनासँग सम्बन्धित छैन, केवल प्रकृतिसँग छ। घाम र दिनसँग सम्बन्धित छ। सूर्य मकर संक्रान्तिदेखि उत्तरायण लाग्ने भनिन्छ। तर, मकर संक्रान्तिभन्दा २३ दिनअघि नै सूर्यले मकर राशिमा प्रवेश गरिसकेको हुन्छ। सूर्य उत्तरायण हुँदा दिन लामो हुने क्रम बढ्छ भने, सूर्य दक्षिणायन हुँदा रात लामो हुने क्रम बढ्छ। गुरुङहरूले चराहरूको बसाइँसराइलाई पनि ख्याल गरेका हुन्छन्, जुन प्रकृतिसँग सम्बन्धित छ।
श्रीपञ्चमी (माघ शुक्ल पञ्चमी) देखि घमाइला दिन सुरु हुन्छ, दक्षिणी गोलाद्र्धका क¥याङकुरुङ चराहरू माथि उत्तरी ध्रुवतिर जान्छन्। साउन १ गतेदेखि उत्तरी ध्रुवमा चिसो सुरु हुन्छ, त्यसपछि श्रावण शुक्ल पञ्चमी अथवा नागपञ्चमीदेखि कर्याङकुरुङ चरा दक्षिणी ध्रुवतिर लाग्दछन्। कर्याङकुरुङ चरा उत्तरतिर लागेपछि गुरुङहरूको उभौली सुरु हुन्छ, दक्षिणतिर लागेपछि उधौली सुरु हुन्छ। त्यस्तै, घाम उदाउँदा डाँडाको कुन ठाउँबाट उदायो, कतातिर सर्दै गयो भन्ने पनि हेर्दै आइयो र कहिलेदेखि दिन लामो हुन्छ भन्ने ख्याल गरियो। यसरी गुरुङहरूको ल्होछार प्रकृतिसँग जोडिएकाले यसलाई निकै प्राचीन मान्न सकिन्छ।
(नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति वरिष्ठ संस्कृतिविद् गुरुङसँग ध्रुवसत्य परियारले गरेको कुराकानीमा आधारित।)
प्रकाशित: १६ पुस २०७७ ०२:२७ बिहीबार