१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

आज योमरी पुन्ही

देशभरका नेवार समुदाय बुधबार घरघरमा योमरी (एक प्रकारको रोटी) पकाएर योमरी पुन्ही (पूर्णिमा) मनाउँदै छन् । नेपाल भाषामा यो को अर्थ मनपर्ने र मरी को अर्थ रोटी हो । यस अर्थमा योमरीको अर्थ मनपर्ने रोटी हो ।  

नेवार समुदायले प्रत्येक वर्ष मंसिर शुक्ल पूर्णिमाको दिन विशेष प्रकारको रोटी योमरी पकाएर खाई योमरी पुन्ही मनाउँछन् । विशेष प्रकारले बनाइने यो रोटीभित्र चाकु र तिलको मिश्रणसहित खुवा, मुगींको लिटो राखिन्छ ।

यो पूर्णिमाको विशेषता नै योमरी पकाएर खानु हो । त्यसकारण यस दिन अन्य पूर्णिमा जस्तो भोज खाइँदैन । बरु योमरी खाइन्छ । यो दिन नियमित जस्तो खाना खान नहुने विश्वास छ । योमरी विशेष स्वादिलो हुन्छ ।  

योमरी विशेष आकार प्रकारमा बनाइन्छ । चामलको पिठोलाई मनतातो पानी हालेर मुछी विशेष आकारमा योमरी तयार गरिन्छ । पानीको बाफबाट यसलाई उसिनेर पकाइन्छ । धेरैजसोले त्रिकोण आकारमा योमरी बनाउँछन् ।

वर्षको पहिलो धानको चामलबाट पिठो तयार गरी योमरी बनाइन्छ । यो पर्वका दिन नेवार समुदायमा विशेष उल्लास हुन्छ । यस क्रममा घरका महिला सबेरै उठेर नुहाउँंछन् । बालबालिका यो दिन मिठोमसिनो खाएर रमाउँछन् । पर्वप्रेमी कृष्ण प्रजापतिका अनुसार यो पूर्णिमा एक दिनमै सकिँदैन । उनका अनुसार पर्वको चार दिनपछि विवाहिता छोरीहरूलाई बोलाएर लक्ष्मीको प्रसादको रुपमा योमरी बाँडिन्छ, भोज खुवाइन्छ । योमरीका साथ भोज खुवाउने चलन अहिले पनि नेवार समुदायमा छ । पर्वका दिन योमरी खाने, बाँड्ने र पूजा गर्ने चलन छ ।

संस्कृतिविद् डा इन्दुल केसीका अनुसार वर्षको सबैभन्दा लामो रात पनि यही समयमा पर्छ । योमरी बनाउँदा योमरीको चुच्चो जति लामो हुन्छ, त्यो रातको समय त्यत्तिकै लामो हुने भनाइ उनको छ । त्यस्तै योमरीको सम्बन्ध मौसमसँग पनि जोडिएको उनी सुनाउँछन् । नेवार संस्कृतिमा नयाँ घर बनाइसकेपछि छानाबाट योमरी गुडाउने चलन पनि छ । मठमन्दिर, देवालय, शिवालय बहाबहीको वर्षबन्धनको दिन छानाबाट योमरी गुडाउने गरिन्छ ।

प्रकाशित: १५ पुस २०७७ ००:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App