१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

भवन निर्माणको काममा विवाद

इलाम नगरपालिका–७, बसपार्कमा निर्माण गर्न लागिएको ‘मुख्यमन्त्री बहुतल्ले मोटर पार्किङ तथा सिनेमा हल’को घडेरी। तस्बिर: नागरिक

सदरमुकाममा निर्माणाधीन मुख्यमन्त्री बहुतल्ले मोटर पार्किङ तथा सिनेमा हल निर्माणको काम विवादित बनेको छ। इलाम नगरपालिका–७, को बसपार्कमा नेपालकै ऐतिहासिक चियाबारी मासेर भवन निर्माण गर्न लागिएको भन्दै केही स्थानीयले विरोध गरेका छन्।  

इलाम नगरपालिकाले १ नम्बर प्रदेश सरकारको सहयोगमा नगरपालिका कार्यालयछेउको जग्गामा भवन बनाउन लागेको हो। नगरको जग्गासँगै जोडिएको नेपालमै पुरानो चियाका बुट्टा मासेर भवन ठड्याउन लागेको भन्दै स्थानीयले विरोध गरिरहेका छन्। ‘भवनका लागि घडेरी खार्दा चियाका बुट्टा खनेर रातारात माटोसँगै लगेर सिंहवाहिनी खोलासामा फालियो,’ एक स्थानीयले भने, ‘माटोमात्रै खनेर फाल्ने काम त दिउँसो गर्दा पनि भइरहेको छ।’  

सन् १९२० सालमा चिया रोपिएको यो बगान र २०३५ सालमा यहाँ निर्माण भएको कारखाना नेपालकै सबैभन्दा पुरानो र पुराताŒिवक महŒवको मानिन्छ। नगरले भवन बनाउँदा यो चियाबारीमा ‘सकेसम्म क्षति न्यूनीकरण’ गरी निर्माण गरेको जनाएपनि स्थानीयले ऐतिहासिक चियाबारी मास्नै नहुने भन्दै विरोध गरेका हुन्।  

नेपाली चियाको इतिहाससम्बन्धी पुस्तक लेखेका स्थानीय लेखक डा.देवी क्षेत्री दुलालले ऐतिहासिक चियाबारी मास्न नहुने बताए। उनले विकास गर्ने नाममा पुराताŒिवक महŒवको वस्तु नष्ट गर्न नहुने भन्दै नगरको कामको आलोचना गरेका छन्। स्थानीयले निजीकरण भइसकेको ऐतिहासिक चियाबारी संरक्षण अभावले जीर्ण बनिरहेका बेला नगरले भवन बनाउने भन्दै अझ क्षति गरेको जनाउँदै सामाजिक सञ्जालमार्फत् विरोध गरेका छन्।  

तत्कालीन बडाहाकिम गजराजसिंह थापाले इलामको यही बगानमा चिया रोप्न लगाएर नेपालमै पहिलो चियाखेती सुरु गरेको इतिहास छ। प्रधानमन्त्री जंगबहादुर राणाले चीनबाट उपहारका रूपमा ल्याएको चिया उनकै ज्वाईं इलामका बहाहाकिम थापालाई इलाम पठाएर चिया खेती सुरु भएकाले यो बगान ऐतिहासिक र पुराताŒिवक महŒवको मानिएको छ। तर, सरकारले २०५७ सालमा इलामसहित कन्याम, सोक्तिम, चिलिमकोट र झापाका बर्ने, टोकला तथा बारादसी चिया बगान ५० वर्षका लागि त्रिवेणी सांघाई समूहलाई लिजमा दिएको छ।  

सरकारले बगान लिजमा दिएपछि ऐतिहासिक चियाबारी जीर्ण भएको, कारखानाका ऐतिहासिक सामग्री अन्यत्र लगेर इतिहास नै नामेट पारिएको भन्दै इलाम नगरपालिकासहितका स्थानीय तहले निजीकरण फिर्ता गर्न पटक–पटक माग गरिरहेका छन्। कन्याम चिया बगान रहेको सूर्याेदय नगरपालिका र सोक्तिम तथा चिलिमकोट बगान रहेको माई नगरपालिकाले पनि सरकारी चिया बगान फिर्ता गर्न यसअघि नै माग गरिसकेका छन्।  

बगान लिजमा लिएको सांघाई समूहले इलामसहित विभिन्न चिया बगान अतिक्रमणमा परेको जनाएको छ। समूह अध्यक्ष सुवास सांघाईले इलाम नगरपालिकाले पछिल्लो पटक निर्माण गर्न लागेको भवनले पनि ऐतिहासिक चियाबारीमा क्षति पुगेको बताए। ‘लिजमा गएपछि बगान संरक्षण भएन भनेर आवाज उठाउनेले नै इतिहास नष्ट गर्न लागेको देखिएको छ,’ उनले भने, ‘इलाम सदरमुकाममा रहेको चियाबारी वर्षाैंदेखि परिपरिबाट अतिक्रमणमा परिरहेको छ।’ नेपाली कांग्रेस जिल्ला कार्य समितिले नगरले खुला ठाउँ मासेर धमाधम ठूला संरचना निर्माण गर्दा कतिपय पुराताŒिवक सम्पदासमेतमा असर परेको जनाएको छ। कांग्रेसले विज्ञप्ति जारी गरी इलाम नगरपालिकाको चल–अचल सम्पत्ति सार्वजनिक गर्नसमेत माग गरेको छ।  

इलाम नगरले भने कसैको जमिन अतिक्रमण नगरी र चियाका बुट्टाहरूमा पनि क्षति नगरी भवन निर्माण भइरहेको दाबी गरेको छ। नगरले बसपार्कमा रहेको २६ हजार १ सय ८४ वर्गफिट जग्गामध्ये ९ हजार वर्गफिटमा मात्रै भवन निर्माण गर्न लागेको प्रशासकीय अधिकृत रामकुमार साहले बताए। ‘यो जग्गा नगरले २०३९ सालमै खरिद गरी बसपार्क प्रयोजनमा ल्याएको हो,’ उनले भने, ‘चियाबारीको सीमातर्फ नगरको जग्गा अझै बाँकी छ।’ नगरले आफ्नो जग्गामा घडेरी सम्याउँदा सीमाका जग्गा र चियाबारीमा सकेसम्म न्यून क्षति हुनेगरी काम गरेको भन्दै उनले ऐतिहासिक चियाबारी संरक्षणमा नगर सधैं प्रतिबद्ध रहेको जनाए।  

प्रकाशित: ६ पुस २०७७ ०७:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App