१४ वैशाख २०८३ सोमबार
image/svg+xml
समाज

ज्यामरुककोटमा भगवती मन्दिर

म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटको चट्टानमा बनेको मन्दिर । तस्बिरुः हरिकृष्ण गौतम÷नागरिक

म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटको बगरफाँटमा तीनरोपनी क्षेत्रफलको टापुमा दुर्गा भगवतीको मन्दिर निर्माण गरिएको छ ।  

कुल १५ लाख ८१ हजार ४ सय ६४ रुपैयाँको लागतमा मन्दिर निर्माण भएको हो । मन्दिर निर्माण र व्यवस्थापनका लागि सरकारी निकाय र देश विदेशमा रहेका विभिन्न व्यक्तिहरुबाट १८ लाख ५० हजार रुपैयाँ संकलन गरिएकोमा करिब १६ लाखको खर्चमा पुर्वाधार बनाएको समितिका संयोजक नारायण कार्कीले बताए । ‘आसपासका क्षेत्रमा ध्यान केन्द्र बनाउँदैछौ, धार्मिक पर्यटनका लागि समुदायस्तरबाटै सहयोग जुटाएर काम गर्ने योजना छ,’ कार्कीले भने ।  

उनले देश विदेशमा रहेका विभिन्न व्यक्तिबाट ११ लाख २२ हजार चन्दा मात्र पाएको बताए । गजुर शैलीमा निर्माण गरिएको सो मन्दिर समथर फाँटका बीचमा रहेको टापुमा निर्माण गरिएको छ । सो टापुको क्षेत्रफल तीनरोपनी रहेको छ । टापुको सिरानमा रहेको मन्दिरसम्म पुग्नका लागि पक्की सिढिं  सहितको पदमार्ग निर्माण गरिएको छ । मन्दिरको पदमार्गस्थलमा विभिन्न भगवानको मुर्ती राखिएको छ ।

‘धार्मिक र पर्यटकीय गन्तब्य बनाउन सफल भएका छौ, घुम्न आउनेको संख्या बढेको छ’ स्थानीय खड्कबहादुर थापाले भने । मन्दिरको चारैतिर हरियाली फाँट, फाँटको सिरानमा उडाइनो, आप्रे लगायतका चारवटा आकर्षक झरना, मन्दिरको तलपट्टि म्याग्दी नदी, पूर्वतर्फ बेनी बजार स्पष्ट रुपमा देख्न सकिन्छ । मन्दिर निर्माणसँगै बगरफाँट गाउँको सुन्दरतामा समेत थप टेवा पुगेको स्थानीयको भनाई छ । 

प्रकाशित: ६ पुस २०७७ ०७:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App