९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

सन्तोषको सफलताले कर्जन्हा गदगद

सन्तोष साहकी आमा एक सय वर्षीया सुमारीदेवी साह । तस्बिर : मिथिलेश/नागरिक<br>

रियालिटी सो ‘बिबिसी मास्टर सेफ प्रोफेसनल्स’ को उपाधि जित्न नसके पनि नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफल भएका छन् सिरहाका सन्तोष साह। उनी मधेस, पहाड र हिमालको खान्की पस्केर ‘बिबिसी मास्टर सेफ प्रोफेसनल्स’ प्रतियोगिताको उपविजेता बन्न सफल भएका छन्। पाककलाको प्रतिस्पर्धा हुने यो रियालिटी सोमा व्यावसायिक सेफहरूले भाग लिन्छन्। नोभेम्बरको दोस्रो साता सुरु भएको प्रतियोगिता सात सातासम्म चलेर बिहीबार अन्तिम चरण सम्पन्न भएको छ।

सन्तोषले प्रतियोगितामा लगातार नेपाली परिकार पस्केर निर्णायकको मन जितेका छन्। उत्कृष्ट तीनका लागि भएको प्रतिस्पर्धामा आफ्नो सबैभन्दा प्रिय व्यक्तिलाई समर्पित गर्दै परिकार बनाउन भन्दा सन्तोषले आमालाई सम्झेर परिकार बनाएका थिए। सन्तोषले पोलेको खसीको मासु, भुटेको चिउरा, नुन खुर्सानी, पुरी, गँगटाको झोल, साँधेको भटमास, रायोको सागलगायतका परिकार बनाएका थिए।

डिजर्टको रूपमा उनले निर्णायक मण्डलका सदस्यलाई कोदोको खिरसमेत चखाउन भ्याए। उनले आँपको कुल्फी र मधेसको पहिचान आँपको अमौरा पनि पस्केका थिए। उनी निर्णायकलाई नेवारी परिकार योमरी चखाउँदै फाइनल राउन्डमा उक्लिएका थिए। उनले हिमाली खान्की काँक्रोको भुटेको बियाँ, बन तरुल, कटहरको भुटेको बियाँ, प्याजको अचार, स्याउको चट्नीलगायतका परिकारसमेत पस्कन भ्याए। त्यसअघिका प्रतिस्पर्धामा उनले भेडाको पोलेको मासु, सिस्नु र आलुको तरकारी, बेथेको साग, मकैको रोटी, तामाको अचारजस्ता नेपालका मौलिक खान्कीको स्वाद चखाएका थिए।

बिहीबारको अन्तिम प्रतिस्पर्धामा समेत उनले नेपाली खान्कीकै सहारा लिएका थिए। दुई दशक भारतीय खान्कीमा अनुभव बटुलेर पोख्त सन्तोषले प्रतिस्पर्धाको अन्तिमसम्म पनि नेपालीपन छाडेनन्। शिरमा भादगाउँले टोली ढल्काएर उनी निरन्तर नेपाली खान्की सोमा पस्किरहे।

संघर्षका अथक यात्री

सिरहाको कर्जन्हा नगरपालिका–९ सुडियानी गाउँमा ३५ वर्षअघि सुमारीदेवीको कान्छो छोराका रूपमा जन्मेका हुन् सन्तोष। उनी पाँच वर्षकै छँदा बुवा सीताराम साहलाई गुमाएका थिए। उनलाई आमा सुमारीदेवीले हुर्काइन्। कमजोर आर्थिक अवस्थाका कारण सन्तोषको बाल्यकाल कष्टपूर्ण बित्यो। उनले स्कुलको पढाइसमेत राम्ररी पूरा गर्न पाएनन्। सानो छँदा आर्थिक अभाव टार्न सन्तोष स्थानीय हाटबजारमा प्लास्टिकका झोला तथा पाउरोटी बेच्थे। उनले कमला सिँचाइ नहरमा मजदुरीसमेत गरे। सानै उमेरमा खर्च धान्न मजदुरी गर्नुपर्ने बाध्यताका कारण उनले पढाइमा समय दिन सकेनन्। फलतः उनी एसएलसी परीक्षामा अनुत्तीर्ण भए। १६ वर्षको उमेरमा उनी कामको खोजीमा भारतको अहमदाबाद पुगे।

सन्तोषका बालसाथी प्रमोद महतो भन्छन्, ‘हामी सँगै अहमदाबादको एउटा रेस्टुरेन्टमा भाँडा माझ्ने काम गथ्र्यौं। त्यहींबाट सन्तोषले प्रख्यात सेफ बन्ने सपना पाल्न थालेका थिए। लगनशीलता, धैर्य र निरन्तरको मेहनतले उनी शिखर चुम्न सफल भए, आफ्नो सपना साकार पारेरै छाडे।’

अहमदाबादमै सन्तोषले अंग्रेजी सिक्नेदेखि होटल म्यानेजमेन्टसन्मको शिक्षा आर्जन गरेका थिए। पछि उनी त्यहींको पाँचतारे होटलमा कार्यकारी सेफ बन्न सफल भएको महतो बताउँछन्। उनको खान्कीको चर्चाले भारतको मुख्य सञ्चारमाध्यममा प्रमुख स्थान पाउन थाल्यो। उत्कृष्ट परिकार पकाउन दक्खल भएकै कारण उनलाई लन्डनबाट अफर आयो। अनि उनी सन् २०१० मा लन्डन पुगे। उनी अहिले सिन्नामोन कलेक्सनमा हेड सेफको रूपमा कार्यरत छन् भने साफ्रोन सर्कल युकेमा पनि एक्जुक्युटिभ सेफ छन्।

खुसीले झुम्यो कर्जन्हा

गाउँको छोरा विश्वभर परिचित हुँदा सन्तोषको परिवार र गाउँले दंग छन्। बिहीबार भएको फाइनलमा सन्तोष उत्कृष्ट तीनमा परेपछि आमा सुमारीदेवी खुसीले गदगद भइन्। करिब एक सय वसन्त पूरा गरेकी सुमारीदेवी कान राम्ररी सुन्दिनन्, बोली प्रस्ट बोल्न पनि उमेरले रोक्छ। तर छोराको सफलताको सामाचारले मुजा परेकोे अनुहार खुसीले तन्किएको छ। भावुक हुँदै उनले भनिन्, ‘बेटा सबके नाम रोसन क देलकै (छोराले सबैको नाम रोसन गरिदियो। हम बहुत खुसी छि (म धेरै खुसी छु)। सन्तोषके माई होईमे हमरा अभिमान है (सन्तोषको आमा हुनुमा मलाई गर्व छ)।’

यो संवाददाता सन्तोषको पुख्र्यौली घर कर्जन्हा पुग्दा सुमारीदेवी बारीमा थिइन्। उनको फुर्ती हेर्दा उमेरले सय वर्ष पुगेको भनी पत्याउन गाह्रो पर्‍यो। नाति राजु साहले भने, ‘उहाँ सय वर्ष पुगिसक्नुभयो।’ छोराछोरी सानै हुँदा श्रीमान् गुमाउन पुगेकी सुमारीको जीवन संघर्षमा बितेको छ। उनका पाँच सन्तान छोरामा सन्तोष कान्छा हुन्। सुमारीका दुई छोरी पनि छन्।

कर्जन्हाका प्रकाश कोइरालाले मधेस, पहाड र हिमालको खान्कीलाई विश्व पाककलाको मञ्चमा प्रस्तुत गरेर सन्तोषले नेपालको गौरव बढाएको बताए। ‘उपाधि हासिल गर्नु नै सबैथोक होइन। मधेसको बेटा (छोरा) ले देशको नाम विश्वभर चम्काउनु गर्वको कुरा हो’, कोइरालाले भने।

सन्तोषको बाल्यकालका साथी प्रमोद महतो भन्छन्, ‘सम्पन्न राष्ट्रको पाँच तारे होटलमा सफल सेफ हुँदा पनि सन्तोषको सालीनता र सादगी उस्तै छ। बाल्यकालमा प्लास्टिक र पाउरोटी बेच्दा पनि मिलनसार थिए। अहिले वश्वको चर्चित पाककला प्रतिस्पर्धामा पुग्दा पनि उस्तै भद्रता छ।’

सन्तोषका आफन्त राजु साह भन्छन्, ‘गरिबी छिचोल्दै सन्तोषले परिवार र गाउँको मात्र मान राखेनन्, देशकै मान बढाएका छन्। यो कर्जन्हाका लागि मात्र नभएर देशकै लागि खुसीको विषय हो।’

प्रकाशित: ४ पुस २०७७ ००:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App