१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सिन्धुपाल्चोकका बाढीपीडितलाई चीनको राहत

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको पहलमा चीनले सिन्धुपाल्चोकका बाढीपहिरो पीडितलाई झण्डै साढे एक करोड रुपैयाँ मुल्य बराबरका राहत सामाग्री शुक्रबार उपलब्ध गराएको छ ।  

सभामुख सापकोटाको आग्रहमा चीनको नेलम काउन्टीको सिगात्से नगरले सीमावर्ती भोटकोसी, जुगल गाउँपालिका तथा मेलम्ची र चौतारा साँगाचोकगढी नगरपालिकाका बाढीपहिरो पीडितलाई टेन्ट, ब्लांकेट र लाइट लगायत सामाग्री पठाइ दिएको हो । सिगात्से नगरले चिनियाँ मुद्रा आठ लाख ५८ हजार ६८ युआन मुल्य बराबरको राहत सामाग्री उपलब्ध गराएको तातोपानी सुक्खा बन्दरगाह भन्सार प्रमुख लालबहादुर खत्रीले जानकारी दिए । उनका अनुसार राहत सामग्रीको मुल्य नेपालीमा एक करोड ४५ लाख ८८ हजार रुपैयाँ बराबर हुन आउँछ ।  

सिगात्से नगरका अधिकारी राहत सामाग्री बोकेर तातोपानी आइपुगेका थिए । सभामुख सापकोटाले सम्वन्धित गाउँ÷नगरपालिकाका अधिकारीलाई शुक्रबारै राहत सामाग्री हस्तान्तरण गरे । सभामुख सापकोटाले बाढीपहिरो पीडितलाई चिसोबाट जोगाउन आफ्नो सचिवालयले सिगात्से नगर समक्ष राहत सामाग्रीका लागि अनुरोध गरेको बताए । उनले सहयोगका लागि सीमावर्ती छिमेकी नगरका अधिकारीलाई धन्यवाद दिए ।  

ठूला आकारका हावा नछिर्ने २ सय ४० थान टेन्ट, ३/३ सय थान ब्लांकेट र लाइट सहयोग प्राप्त भएको सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए । घाम, पानी र हावाले कुनै असर नगर्ने टेन्टको तौल मात्रै ६० केजी छ । गएको वर्षामा भोटेकोसी, बाह्रविसे, जुगल र चौतारामा बाढीपहिरोले उच्च असर पु¥याएको थियो । वास गुमाएका यहाँका सयौँ परिवार सामान्य टेन्ट र त्रिपालको टहरोमा आश्रित हुँदै आएका छन् ।  

यी स्थानीय तह सभामुख सापकोटाको निर्वाचन क्षेत्रसमेत हो । उनी सिन्धुपाल्चोक, प्रतिनिधिसभा क्षेत्र नं. १ बाट संघीय सांसद निर्वाचित भएका थिए । सम्वन्धित स्थानीय तहले बाढीपहिरो प्रभावितलाई प्राथमिकताका आधारमा तत्काल राहत वितरण गर्ने विज्ञ न्यौपानेले जानकारी दिए । ‘यी सामाग्रीले तत्कालको लागि बाढीपहिरो पीडितलाई चिसोबाट जोगाउने विश्वास लिएको छु,’ सभामुख सापकोटाले भने ।  

प्रकाशित: ३ पुस २०७७ १२:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App