४ वैशाख २०८१ मंगलबार
समाज

सन्तोषको गाउँमा खुसीयाली, के भन्छिन् आमा ?

पाक कलासम्बन्धी टेलिभिजन प्रतिस्पर्धा ‘मास्टरशेफ यूके’ मा सिरहाका सन्तोष साह पहिलो नभए पनि चर्चाको शिखरमा पुगे। देश तथा आफ्नो गाउँको नाम देश विदेशमा परिचित हुँदा उनको परिवार र गाउँलेहरु दंग छन्। बिहिबार भएको फाइनलमा सन्तोष उत्कृष्ट तीनमा परेपछि उनकी आमा सुमारीदेवी खुसीले गदगद छिन्।

उनले मधेस, पहाड र हिमालको खानकीलाई विश्व पाककलाको मञ्चमा प्रस्तुत गरेर नेपलीको नाम रोशन गरेको  सन्तोषको गाउँ कर्जन्हाबासीले खुसी व्यक्त गरे।  'उपधी हासिल गर्नु नै सबैथोक होइन। मधेसको बेटाले देशको नाम विश्वभर चम्काउनु गर्वको कुरा हो', छिमेकी राजु साहले भने। उनी उपाधी हात पार्न नसके पनि  नेपाली खानकीलाई जिताएको उनको भनाई छ। विश्वकको चर्चित पाककलामा उनको सहभागीता नै यस गाउँका लागि गर्वको विषय भएको राजुको कथन छ। 'उनी सधैं आफ्नो भन्दा पनि गाउँ र देशलाई चिनाउने काम गरेकोमा कर्जन्हाबासी कृतज्ञ छन्', राजुले भने।

 

यो पनि पढ्नुहोस्

सन्तोष साह : सिरहादेखि बीबीसी मास्टर सेफ यात्राका आरोह अवरोह

उनी मास्टरशेफ यूकेमा पुगेका समाचारहरु आउन थालेसँगै सन्तोषको गाउँ कर्जन्हा नगरपालिका–९ स्थित गाउँ खुसीले झुमेको थियो।  

सन्तोषको बाल्यकालका साथी छिमेकी प्रमोद महतो भन्छन्,‘सन्तोष गाउँबाट सम्पन्न राष्ट्रको पाँच तारे होटलमा सफल सेफ हुँदा पनि सालिनता र सादगी उस्तै छ। बाल्यकालमा प्लास्टिक र पाउरोटी बोच्दा पनि उस्तै मिलनसार थिए उनले भने,‘विश्वको चर्चित पाककला प्रतिस्पर्धामा पुग्दा पनि उस्तै भद्रता छ।’  

आमा सुमारीदेवी साहको अनुहार छोराको सफलता र चर्चाबाट उज्यालिएको छ। करिब एक सय बसन्त पूरा गरेकी सुमारीदेवी छोराको सफलताको खबरले खुसी छिन्। उमेरका कारण कान राम्ररी सुन्न गाह्रो हुन्छ। बोली प्रष्ट बोल्न उमेरले रोक्छ। छोराको सफलताको सामाचारले मुजा परेको सुमारीको अनुहार खुसीले तन्किन्छ। उनी भाभुक हुँदै भनिन्,‘बेटा सबके नाम रोशन क देलकै (छोराले सबैको नाम रोशन गरिदियो। हम बहुत खुसी छि (म असाध्यै धेरै खुसी छु)’ सन्तोषके माई होईमे हमरा सुरुए सँ अभिमान है (सन्तोषको आमा हुनुमा सुरुदेखि नै मलाई गर्व छ) भारतके अहमदाबादोमे काम करै छेलै त हमरा चारु धाम घुमाब मे पाछा नै परलै (भारतको अहमदाबादमा काम गर्दा पनि मलाई चार धाम तिर्थ गराउन उनी पछि परेनन्)। हमर खुसीके जहियो भि मान राखलकै (मेरो खुसीलाई जहिल्यै खयाल गरिरहे)। सन्तोष जेहेन बेटा पाइब क हम धन्य भ गेली (सन्तोष जस्तो छोरा पाएर म आफूलाई धन्य ठान्छु। ) उनी आँखा रसाउँदै एकहोरो छोराको गुण गाइरहिन। आब हमर जीवनके एकेटा लालसा छै (अब मेरो जीवनको एउटै सपना छ) उनी भाभुक हुँदै भनिन्, ‘पुतौहुआ देख क इ धर्ती स विदा लियके सपना छै (सन्तोषको श्रीमती (बुहारी) को अनुहार हेरेर दुनीयाँबाट बिदा हुने सपना छ)।’

यो सम्वाददाता सन्तोषको पुर्खयौली घर कर्जन्हा पुग्दा सुमारीदेवी बारीमा थिइन। उनको फुर्ती हेर्दा उमेरले सय वर्ष पूरा गरेको पत्याउन गाह्रो पर्यो। नाती राजु साहले भने, उहाँ सय वर्ष पूरा गरिसक्नुभयो।’

छोराछोरी सानै हुँदा श्रीमान गुमाउन पुगेकी सुमारीको जीवन संघर्षमा बितेको छ। तनावपूर्ण संघर्षमय जीवन यात्रा उनी साहस र धैर्यतापूर्वक काटिनन् मात्र छोराहरुलाई भरपूर संस्कार र माया पनि दिन भ्याएकि छिन्। त्यही भएर होला परदेशमा अपार चर्चा कमाउँदा पनि सन्तोष आफ्नो सफलतामा आमाको ठूलो हात रहेको बताउन पछि पर्दैनन्। र, आफ्नो सफलताको सम्पूर्ण श्रेय आमा सुमारीदेवीलाई दिएर सन्तोष ठान्छन्, सन्तोष। पाँच दाजुभाइमा सन्तोष कान्छो सन्तान हुन। सुमारीका पाँच छोरा र दुई छोरी छन्।

 

 

प्रकाशित: ३ पुस २०७७ १०:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App