१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

दाइजोले थलिँदै मधेस

मिथिलाञ्चलमा केही दशकअघिसम्म स्वयंवर संस्कार (स्वयम् वर चुन्ने) अनुसार विवाह छिनोफानो हुन्थ्यो। राजा जनकको यो परम्परा चल्दासम्म केटी पक्षकै बोली बिक्थ्यो। केटी पक्षकै सर्तअनुरूप केटा पक्ष विवाहका लागि राजी हुन्थे। केटा पक्षबाट बेहुली (छोरी) असुरक्षित हुने अवस्था थिएन। तर अहिले समय उल्टिएको छ। केटा पक्षको सर्तअनुरूप केटी पक्ष विवाहका लागि बाध्य हुनुपर्ने अवस्था छ। केटा पक्षबाटै केटी (छोरी) असुरक्षित हुनुपर्ने विडम्बनापूर्ण अवस्था छ।

मंसिर लागेसँगै विवाहको माहोल उत्कर्षमा छ। कोरोनाको महामारीका कारण वैशाखदेखि हुन नसकेका विवाह मंसिरको सुरुवातसँगै भइरहेका छन्। तामझामका साथ हुने दाइजो विवाहमा प्रदेश सरकारका मन्त्रीदेखि सांसद र स्थानीय सरकारका प्रतिनिधिको उत्साहपूर्ण सहभागिता देखिन्छ। यसले दाइजो निरुत्साहनभन्दा पनि प्रोत्साहन भइरहेको सामाजिक अभियन्ताहरूको टिप्पणी छ। मानव विकास सूचकांकअनुसार यस प्रदेशको गरिबी दर ४७ प्रतिशत छ। विवाहमा हुने दाइजोको ‘क्यास’ कारोबारले यस प्रदेशको गरिबीलाई झन् बढाउने अभियन्ताहरू बताउँछन्।

मधेसमा हुने दाइजो विवाहको सुरुवात बडो रोचक छ। केटाको रोजाइ पसलमा बस्तु खरिदका लागि गरिने मोलतोल जस्तै हुन्छ। फलानाको छोरा डाक्टर पढेको छ ? हो त। कति कमाउँछ ? महिनाको २/४ लाख कमाइहाल्छ नि ! त्यसो भए छोरीको विवाह ऊसँग गर्दा कसो होला ? दाइजो कति लेला ? चलनचल्तीमा डाक्टरको ३० लाख हो, मोलमोलाइ (बार्गेनिङ) गर्दा अलि तल झर्ला कि ! मधेसमा केटा (बेहुला) छनोटको पहिलो चरणमा केटी (बेहुली) का अभिभावक अगुवासँग (मध्यस्तकर्ता) विवाहको कुराकानी यस्तै संवादबाट सुरु गर्छन्। र, त्यहीँबाट अघि बढ्छ दाइजोको मोलमोलाइ।

मधेसी समाजमा केटी पक्षले विवाहको कुरा छिन्न केटाको घरमा जानुअघि आफ्नो औकात केटा पक्षकै जस्तो बलियो बनाउनुपर्छ। केटा पक्षले सर्तमाथि सर्त राख्दै जान्छन्, केटी पक्षले यति त सक्दिनँ भन्दै मोलमोलाइ (बार्गेनिङ) गर्दै सर्त घटाउने प्रयत्न गर्छन्। मोलमोलाइको यो क्रम दाइजोको टुंगो नलागेसम्म चल्छ। मधेसी समाजमा व्याप्त यो कुप्रथा धेरै वर्ष पुरानो भने होइन।

मैथिली संस्कृतिका जानकारका अनुसार चार दशकअघिसम्म मधेसी समाजमा केटा पक्षले केटी माग्न जाने परम्परा थियो। त्यस बेला बिहेबारीमा दाइजोको कुरीति छिर्न पाएको थिएन। जीविकाको पहिलो आधार कृषि बनाएका मधेसी समुदाय कर्मशील थिए। त्यसैले कर्मशील केटी (बेहुली) माग्थे। जब यो समुदाय कृषि कर्मबाट रोजगारीमा प्रवेश गर्‍यो, त्यसपछि दाइजोको चलन बढेको मैथिली संस्कृतिका जानकारहरू बताउँछन्। मधेसका किसानको (जमिनदार) रूपान्तरणसँगै समाजमा दाइजो प्रवेश पाएको उनीहरू बताउँछन्।

‘मधेसका जमिनदार किसानबाट मालिक, हाकिम बनेपछि समाजमा दाइजो प्रवेश गरेको हो,’ सिरहास्थित सूर्यनारायण सत्यनारायण मरवैता यादव क्याम्पसमा सहप्राध्यापक उमेशकुमार झाले भने, ‘त्यसपछि मधेसी समाजमा दाइजो फैलँदै गयो। कर्मशील वर्गका लागि मिलीजुली श्रम गर्ने कुरा महत्व राख्थ्यो। तर कर्मशीलतालाई पुँजीले छोप्दै गएपछि दहेज कुप्रथाका रूपमा समाजमा जरा गाड्दै गयो।’ मिथिला संस्कृति जानकारका अनुसार मधेसमा दहेज भित्रिएको मैथिली ब्राह्मण र कायस्थ समुदायबाट हो। यी समुदायका महिला बाहिर काम गर्न जाँदैनथे। जसकारण यी समुदायका महिला पुरुषमाथि निर्भर थिए। पुरुषमाथि निर्भरताका कारण केटी पक्षका अभिभावकले मेरी छोरी सुखी घरमा रहोस् भनेर जब केन्द्रित हुन थाले, केटाको भाउ बढ्न थाल्यो। ब्राह्मण र कायस्थ समुदायका केटी पक्षका अभिभावकले मालिक, महाजन, हाकिमको घर ताकेर छोरी दिने परम्परा सुरु गरेपछि केटाको भाउ बढेको जानकारहरू बताउँछन्। यस समुदायमा हाकिम, मालिक र महाजन वरका लागि (बेहुला) केटी पक्षले विवाहमा खुबै लेनदेन गरेको देखेपछि अरू जातमा पनि यो कुप्रथा सर्दै गएको पाइन्छ।

यसरी विकृत हुँदै गयो विवाह

सीमावर्ती विहार राज्यको मिथिलाञ्चलमा खासगरी ब्राह्मण र कायस्थ समाजमा विवाहको एउटा अद्भूत एवं रोमाञ्चकारी परम्परा सुरुवात भयो, जहाँ बेहुलाको प्रदर्शनी हुन्छ। मिथिलाञ्चलअन्तर्गत बिहार राज्यको मधुवनी जिल्लास्थित सौराठ गाउँमा वैवाहिक सभा आयोजना हुँदै आएको छ। इतिहासकारहरू सौराठ सभाको सुरुवात १४औं शताब्दीमा कर्नाट वंशीय राजा हरिसिंह देवले सुरुवात गरेको ठान्छन्। राजा हरिसिंह देवको शासनकालमा विद्वान्बीच शास्त्रार्थ हुन्थ्यो। यसमा विजयी विद्वान्लाई पुरस्कृत गरिन्थ्यो। सन् १३२६ मा राजा हरिसिंह देवले अविवाहित मैथिल ब्राह्मण युवकबीच शास्त्रार्थ गराएका थिए। लामो समयसम्म तर्कवितर्क चलिरह्यो र त्यसमा वेद, वेदान्त, योग र न्यायजस्ता विषय उठेका थिए। राजा हरिसिंह देवले ब्राह्मण युवकको विद्वता देखेर प्रभावित भए र अनौठो तरिकाले ती युवकलाई पुरस्कृत गरे। यद्यपि शास्त्रार्थमा भाग लिने युवक अविवाहित भएकाले पुरस्कारस्वरूप उनीहरूलाई एकएक सुन्दर बेहुली विवाह गर्ने मौका दिए।

भनिन्छ, त्यसपछि यसको आयोजना प्रत्येक वर्ष हुन थाल्यो। पहिले मैथिल ब्राह्मण युवकको सभा हुने गथ्र्याे। यसमा उनीहरूबीच शास्त्रार्थ हुन्थ्यो र बेहुली पक्ष आफ्नी छोरीका लागि योग्य बेहुलाको खोजी गर्न त्यहाँ भेला हुन्थे। यसले मैथिली समाजमा बसालिदिएको शिक्षाका आधारमा वर चुन्ने परम्परा पछि विकृत बन्यो। छोरीको विवाहका लागि एउटै केटामाथि धेरैले दाबी गर्न थालेपछि लेनदेनले प्रवेश पायो। र, दाइजो प्रथा यहीँबाट सुरु भएको जानकारहरू बताउँछन्। ‘एउटै केटामाथि धेरैको आँखा परेपछि ‘डाक बढाबढ’ हुन थाल्यो,’ सहप्राध्यापक झाले भने, ‘पछिल्लो समय मधेसी समाजमा देखिएको दहेजरूपी प्रथा यसैको दुष्परिणाम हो।’

मधेसी समाजमा छोरीलाई ‘पराया धन’ भन्ने गरिन्छ। यो मान्यताका कारण छोरीलाई धेरै पढाउनेभन्दा छिट्टै विवाह गरिदिनु यहाँ उचित ठानिन्छ। ‘छोरी दिन्छु, तर दाइजो दिन्नँ’ भन्ने अभिभावक बिरलै भेटिन्छन्। ‘दाइजो होइन, गुणी बुहारी’ चाहिन्छ भन्ने अभिभावक पनि दुर्लभ छन् मधेसमा।

यसरी सम्पन्न हुन्छ विवाह  

मधेसमा विवाह संस्कार सम्पन्न गर्न धेरै चरण पार गर्नुपर्छ। विवाहको पहिलो चरणमा केटी पक्ष केटाको घरमै पुगेर टीकाटालो गर्छन्, जसलाई छेका भनिन्छ। सामान्य मन्त्रोच्चारण गरेर केटालाई छेक्ने (घरजग्गा खरिद गर्दा बैना दिएजस्तै) काम गरिन्छ। स्याउ, केरा, सुन्तला, पानको पात, सुपारी, अक्षता राखेर केटीको भाइले केटाको हातमा सामान सुम्पिन्छ। यो पहिलो विधिबाटै केटी पक्षले गोजी खाली गर्नुपर्ने बाध्यता छ। समाजकै रोहबरमा छेका (तिलक) हुने भएकाले केटी पक्षले केटालाई कति रकम (खुट्टा ढोगेबापत) चढाए, त्यो सबैको चासोको विषय हुन्छ। त्यसैले केटीका अभिभावकले सामाजिक प्रतिष्ठाका लागि पनि मोटै रकम चढाउनुपर्छ।

केटी पक्षले सकारेको नगद (दाइजो रकम) समेत सम्भव भएसम्म यसै दिन बुझाउनुपर्ने हुन्छ। जिन्सी सामान टेलिभिजन, फ्रिज, पलङ, सोफासेट, भाँडाकुँडा, गरगहनाबारे समेत एक–एक खोलेर केटापक्षलाई बुझाउने समयसीमा तारेख तोकिन्छ। बिहेको राति जन्तीका लागि खानपिनको मेनु प्रायः केटा पक्षले छेकाकै दिन तयार पारिदिएर केटी पक्षलाई बुझाउँछन्। जन्ती कति ल्याउने भन्ने विषयमा समेत केटा पक्ष र केटी पक्षबीच विवाद हुन्छ। केटा पक्ष जतिसक्दो धेरै लैजाने र केटी पक्ष थोरै ल्याउनुपर्ने मान्यता राख्छन्। सामानको गुणस्तरमा समेत बहस हुन्छ। गुणस्तरीय ठहरियो भने केटी पक्षले वाहवाही पाउँछन्, नत्र आलोचना र गाली। छेकाका बेला गाइने मौलिक गीतमा समेत केटालाई दिइएको सरसामानको चर्चा गरिन्छ।

विवाहको पहिलो रात खानपिनको मेनु प्रायः केटा पक्षले तयार पारिदिएकै अनुसार हुनुपर्छ। केटी पक्षले पनि छोरीको विवाहमा बराती (जन्ती) लाई सकभर मिठो परिकार नै खुवाउने कोसिस गर्छन्। तर, बरातीलाई खानाका ८४ व्यञ्जन पस्के पनि केटापक्ष सन्तुष्ट हुन्नन्। हात चुठ्ने बेलामा केही न केही कमजोरी निकालेर केटी पक्षसमक्ष गुनासो गरिहाल्छन्।सिन्दूर दानका बेलासम्म आइपुग्दा केटी पक्षको कबुलेको सामानबाहेक दाइजोको रकम केटा पक्षलाई पुगिसकेको हुन्छ। तर, सिन्दूर दानका बेला केटा रिसाएर ठुस्स पर्छन्। केटी पक्षले केटालाई फकाउन थप सामान कबोल गर्छन्। त्यसपछि सिन्दूर दान हुन्छ।

दाइजोको साइड इफेक्ट

छोरीलाई सुखसयल र आफूभन्दा धनाढ्य घरमा विवाह गर्ने प्रवृत्तिले केटा पक्ष दाइजोमा हाबी हुन्छन्। भ्रूण हत्या, महिला हिंसा र महिला उत्पीडनको मुख्य जड नै दाइजो हो। ‘दाइजोकै कारण छोरीलाई बोझ ठान्ने थुप्रै छन्,’ महिला अधिकारकर्मी देवकुमारी महराले भनिन्, ‘छोरीको पालनपोषण तथा शिक्षादीक्षामा समेत भेदभाव गरिन्छ।’ महराका अनुसार दाइजोकै कारण मधेसमा कोख (गर्भ) मै छोरीको भ्रूण हत्या गराउने बढ्दै छन्। कतिपयले छोरीको विवाहलाई जीवनकै प्रतिष्ठा बनाएर घर–खेतसमेत बेचेका छन्, बेच्दै छन्।

प्रकाशित: ३ पुस २०७७ ०५:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App