२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

हट्यो जोरबिजोर प्रणाली

सरकारले कोरोना संक्रमणलाई लक्षित गरी काठमाडौं उपत्यकाभित्र चल्ने सवारीसाधनमा लागु गरेको जोरबिजोर प्रणाली शुक्रबारदेखि अन्त्य भएको छ। सर्वसाधारणको चहलपहल बढेसँगै सार्वजनिक यातायातका साधनमा भिडभाड बढेपछि जोरबिजोर प्रणाली हटाइएको हो।  

सरकारले साउनदेखि लकडाउन खुकुलो बनाएर यातायातका साधन सञ्चालन खुला गरेको थियो। तर सडकमा चाप पर्न नदिन त्यति बेलैदेखि जोरबिजोर प्रणाली लागु गरिएको थियो। पछिल्लो समय यातायातकर्मी र व्यवसायीले मात्र नभएर यात्रुले पनि यो प्रणाली हटाउन माग गर्दै आएका थिए। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पनि जोरबिजोर प्रणाली हटाउन गृह मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्र पठाएको थियो। सोही अनुसार जोरबिजोर प्रणाली शुक्रबारबाट लागु हुनेगरी हटाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता रामेश्वर रायले बताए। ‘अहिले सडकमा सर्वसाधारणको भिडभाड बढेको छ, आधामात्रै यातायात सञ्चालन गर्दा झन् भिडभाड हुने देखियो, त्यसैले जोरबिजोर प्रणाली हटाइएको हो।’

जोरबिजोर प्रणाली हटाएपछि उपत्यकामा सवारी जाम हुने सम्भावना देखिएको छ। मुख्य चोक कोटेश्वरमा प्रहरीले जाम कम गर्न केही बस स्टप हटाएको छ। महाशाखाले मुख्यमुख्य जाम हुने स्थानको विकल्प खोज्न यातायात व्यवस्था विभागलाई आग्रह गरेको थियो।  

यसअघि लामो समयदेखि सरकारी निकायहरूले जोरबिजोर प्रणाली व्यवस्थित गराउन नसक्दा सार्वजनिक सवारीसाधनमा यात्रुको चाप बढेर उल्टै कोभिड १९ को संक्रमण बढ्ने जोखिम थपिएको थियो। गृह मन्त्रालयले गत साउन २२ गतेदेखि काठमाडौं उपत्यकामा निजी तथा सार्वजनिक सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरेको थियो।

प्रकाशित: ३ पुस २०७७ ००:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App