४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

उदयपुरमा बालविवाह गर्ने पक्राउ

बालविवाह  गराएको आरोपमा उदयपुरका दुलाहा दुलहीसहित दुई अभिभावक पक्राउ परेका छन्। उमेर नपुगी विवाह गर्ने दुलाहा दुलहीसहित तथा उनीहरुका अभिभावकलाई प्रहरीले बुधबार दिउँसो नियन्त्रणमा लिएको हो।  

पक्राउ पर्नेमा त्रियुगा नगरपालिका ३ भुल्केका दुलाहा २३ वर्षीय अश्विन कोईराला र ताप्ली गाउँपालिका ५ आदमाराकी दुलही १७ र्षीया गोमा खड्का रहेका छन्। उनीहरुसँगै बेहुलाका बाबु पुष्प कोईराला तथा बेहुलीका आमा राधा खड्कालाई पनि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।  

अभिभावकलाई आफ्ना छोराछोरीको उमेर नपुगी विवाह गरिदिएको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरुले गाउँमा छरछिमेकीलाई जानकारीसमेत नदिइ मंसिर १९ गते टीकाटालो गरी कटारी बजारमा लुगाफाटो किनेर विवाह गरिदिएको भन्दै लिखित उजुरी परेपछि पक्राउ गरिएको प्रहरीले लगाएको छ।  

बाल विवाह गरेको लिखित जाहेरी प्राप्त हुनासाथ टोली पठाएर बेहुला बेहुली र दुवै अभिभावक पुष्प र राधा चारैजनालाई नियन्त्रणमा लिएर सदरमुकाम ल्याइएको छ। उनीहरुलाई हिरासतमा राखेर थप अनुसन्धान सुरु गरेको प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालले बताए।           

प्रकाशित: २ पुस २०७७ ११:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App