१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सडक बनेपछि खोकुवासी खुसी

धनकुटाको सहिदभूमि गाउँपालिका–५ खोकुका सर्वसाधरणलाई अब भारी बोकेर बजार आउजाउ गर्ने समस्या हटेको छ। आर्थिक वर्ष २०७६/७७ को संघीय सरकार र संसद् विकास कोष तथा प्रदेश पूर्वाधार विकास कार्यक्रमबाट प्राप्त बजेटमार्फत सडक निर्माण भएपछि खोकुका सर्वसाधारणको समस्या हटेको हो। गाउँपालिकाको पिप्लेदेखि सन्देश मोड जिसु हुँदै खोकुटारसम्म चारपांग्रे सवारीसाधन चल्न थालेपछि स्थानीयलाई सहज भएको छ।

यसअघि खोकुवासीलाई आफूले उत्पादन गरेका विभिन्न फलफूल तथा अन्य सामग्री बजार ल्याउन र दैनिक जीवनमा आवश्यक पर्ने सामग्री डोको र नाम्लोको भरमा पिठ्यूँमा बोकेर घरसम्म लानुपर्ने बाध्यता थियो। हालै मात्र पिप्लेदेखि खोकुटारसम्म चारपांग्रे सवारीसाधन चल्न थालेपछि सो बाध्यताको अन्त्य भएको शिक्षकसमेत रहेका वडा ५ का स्थानीय होम राइले बताए। २०६० सालमै त्यहाँ बाटो बनिसकेको भए पनि राम्रो मर्मत नहुँदा सवारीसाधन चल्न सकेका थिएनन् तर अहिले संघीय सरकारमार्फत प्राप्त ६ करोड लगानीमा बाटोको मर्मत तथा गा्रभेल, ग्याभिङ र कटिङ गरिएसँगै आफूहरूले उत्पादन गरेको चिज बजारसम्म लान सजिलो भएको स्थानिय जसबहादुर राईले बताए। साथै उनले यो बाटोको संरक्षणमा स्थानीयले नै ध्यान दिनुपर्नेमा जोड दिए।

वडा ५ का स्थानीयले सुन्तला, अदुवा, टमाटर, आँप, लिची, भुइँकटहरलगायत फलफूल उत्पादन गर्ने गरेका छन्। हाल चार करोड लागतमा सन्देश मोडदेखि लामेबगरसम्मको बाटो ग्राभेल भइरहेको छ। त्यस्तै वडा ५ खोकुको कामीटोलदेखि भाक्चावा भुरुटेन आधामारा हुँदै पाख्रिबास नगरपालिकाको मुगाखोला दोभानसम्म जाने ग्रामीण सडक विस्तार र स्तरोन्नति गरिएको छ।  

प्रदेश १ का न्याय प्रशासन तथा विधायन समिति सभापति इन्द्रमणि पराजुलीको संसद् विकास कोष तथा प्रदेश पूर्वाधार विकास कार्यक्रमबाट प्राप्त ५० लाख लागतमा सडकको स्तरोन्नति गरिएको हो। हालै मात्र न्याय प्रशासन तथा विधायन समिति सभापति पराजुली र गाउँपालिका अध्यक्ष मनोज राई, उपाध्यक्ष रत्नेश्वरी राई, नेकपा धनकुटाका सचिवालय सदस्य सावित्रा राईलगायतले सडकको अनुगमन गरेका थिए।

प्रकाशित: ३० मंसिर २०७७ ०२:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App