१२ वैशाख २०८३ शनिबार
image/svg+xml
समाज

दलित जनप्रतिनिधिलाई जातिय विभेद, आफ्नो गाउँमासमेत प्रवेश रोक

जातिय विभेद विरुद्ध बोल्दा वडा सदस्यबाट राजिनामा मागियो

बेनी नगरपालिका–९, घतानकी दलित महिला सदस्य गोरी दर्जी। तस्बिर: हरिकृष्ण गौतम

बेनी नगरपालिका–९, घतानकी दलित महिला सदस्य गोरी दर्जीलाई तीनवटा मन्दिरले आयोजना गरेको कार्यक्रममा अपमान गरियो। गैरदलित जनप्रतिनिधलाई टिका लगाएर सम्मान गरेपनि आयोजकले दर्जीलाई भने दलित भएकै कारण हातमा अबिर र माला दिए। पछिल्लो एकवर्ष यता सार्वजनिक स्थलहरूमा दर्जीले सजिलै प्रवेश पाएकी छैनन्। सामाजिक विकास मन्त्रालय र इन्सेकको संयुक्त आयोजनामा बेनीमा आयोजित जातिय विभेद र कोभिड–१९ ले महिलामा पारेको असर विषयक अन्तरक्रिया कार्यक्रममा जनप्रतिनिधिको भूमिकालाई जातिय विभेदले थिचेको दर्जीको गुनासो छ। उनले आफ्नै वडाका विभिन्न बस्तीमा प्रवेशमा समेत रोक लगाइएको गुनासो गरिन्।

‘मलाई सम्मान कार्यक्रममा दलित भएकै कारण अपमानित गरिएको छ,‘धेरै ठाउँमा आँसु पुच्छदै फर्किएको छु’, दर्जीले भनिन्। बेनी नगरपालिका कार्यपालिका सदस्यसमेत रहेकी दर्जीले दलित समुदायमा हुने अन्यायबारे छलफल गर्ने र पीडितलाई न्याय दिनुपर्ने अवस्थामा जातीय भेदभाव सहनु परेको बताउँदै आफूलाइृ मतदान गरेका मतदाताले समेत भोट फिर्ता माग्ने गरेको गुनासो गरिन्। 

‘जातिय विभेद विरुद्ध बोल्दा वडा सदस्यबाट राजिनामा समेत मागियो,‘मैले समाजका लागि धेरै गर्न जनप्रतिनिधि भएर आएको थिए’ उनले भनिन्। दलित भएकै कारण गाउँमा आफुलाई हुर्ने दृष्टिकोण समेत फरक रहेको र गैरदलित एकजुट भएर घेराबन्दी गर्ने गरेको दर्जीको गुनासो छ। लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानको अवसरमा बेनी नगरपालिका भित्र आयोजित कार्यक्रममा वडा सदस्य दर्जीले भावुक हुदैं समुदायबाटै अन्याय भएको बताईन्। ‘दलितको भोट चल्छ, पानी चल्दैन्,‘आफ्नै पार्टीका कार्यकर्ताले नै दलित भएकै कारण अपमान गरेका छन्’ उनले भनिन्।  

स्थानीय तहको निर्वाचनमा स्वतन्त्र अवस्थामा रहेपनि दलितको नेतृत्व गर्नुपर्छ भन्दै आफूलाई तत्कालिन नेकपा एमालेले अवसर दिएपनि अहिले समुदायमै दलितको पक्षमा बोल्न असु्रक्षित हुनुपरेको बताईन्। उनले दलितको बाक्लो बस्ती भएको ठाउँमा पनि दलितलाई अपमान गरिएको बताउँदै यस्तै अवस्था रहे जनप्रतिनिधिबाट राजिनामा दिएर बस्नुपर्ने अवस्था भएको गुनासोसमेत गरिन्। कुटानीपिसानी गर्ने मिलमा छोरीलाई दलितलाई प्रवेश छैन भन्दै फर्काएकोसमेत दर्जीले बताईन्। ‘स्नातक तह पढ्ने छोरीलाई मिलबाट फर्काइयो। मैले आफ्नै छोरीको पक्षमा बोल्दा समुदायमा एक्लिनुपरेको छ। एक्लै हिड्ने अवस्था छैन्’, उनले भनिन्। धार्मिक स्थल, पानी–पधेरो र गाउँका विभिन्न संघसंस्थाका कार्यक्रममा छुवाछुत र विभेद हुने गरेको भन्दै विभेद विरुद्धको अभियानमा सबैको साथ आवश्यक रहेको दलित बेनपा–१० की वडा सदस्य गौरी नेपालीले बताईन्।

‘पढे–लेखेकामा समेत चेतना अभावले हुने भेदभाव त झन बढी रहेको छ,‘अब हामीले पद छोड्ने कि जातिय विभेद तोड्ने भन्नेमा छौ’, उनले भनिन्। कार्यक्रममा संविधानसभाका सभासद नवराज शर्माले म्याग्दीमा पछिल्लो समयको तथ्यलाई हेर्ने हो भने महिला र पुरुष दुवै नै हिंसाको बराबर सिकार भएको देखिने बताए। बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले कानुनी रुपमा व्यवस्था भएको भए पनि व्यवहारमा उतार्न नसक्दा समस्या रहेको बताए। प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले हाल सम्म अन्य जिल्लाहरुको तुलनामा म्याग्दीमा हिंसाका घटनाहरु कम भएको बताए। ‘जातीय भेदभाव कानूनी रुपमा बर्जित मात्रै छैन्। दण्डनीय समेत छ’, उनले भने। जातपातका नाममा भेदभाव गर्नेहरुलाई तीन वर्षसम्म कैद र तीस हजारसम्म जरिवानाको व्यवस्था कानुन रहे पनि विभेदमा पर्नेहरु नै प्रायः कानूनी उपचार नखोज्दा समस्या हुने गरेको दलित अगुवा टेकबहादुर विकको भनाई छ।  

प्रकाशित: २४ मंसिर २०७७ १३:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App