७ वैशाख २०८१ शुक्रबार
समाज

के घटेकै हो कोरोना संक्रमितको संख्या ?

भारतमा कोरोना संक्रमण घटेपछि नेपालमा पनि संक्रमण घटेको विज्ञहरुको विश्लेषण गरेका छन्। राष्ट्रिय इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व प्रमुख डा. बाबुराम मरासिनीले नेपालमा कोरोना संक्रमणमा भारतको प्रभाव परेको र भारतमा घटेसँगै नेपालमा घट्दै गएको बताए।

भारतका कोरोना प्रभावित सहरहरुबाट नेपालमा दैनिक १ हजार वटा मालवाहक गाडी र ती गाडीमा कम्तीमा ३ जना नेपाल आउँदा दैनिक ३ देखि ४ हजार जना नेपाल आउँथे। तीन जना मध्येमा एक जना संक्रमित भएमा एक जनाले कम्तीमा ३ जनालाई कोरोना सार्ने सम्भावना हुन्थ्यो। भारतमा घटेपछि नेपालमा घट्दै गएको हुन सक्ने उनको बिश्लेषण छ।

तथ्यांक अनुसार भारतमा संक्रमणदर ५ प्रतिशत भन्दा कम रहेको र नियन्त्रण उन्मुख भएको टिचिङ अस्पतालका कोभिड १९ उपचार संयोजक डा. सन्त कुमार दास बताउँछन्। भारतको मुख्य सहर मानिने दिल्लीमा दैनिक संक्रमणदर घटेर ३.१ प्रतिशत पुगिसकेको छ।

नेपालमा संक्रमणदर २५ प्रतिशतबाट घटेर १५/१६ प्रतिशतमा पुगेको त्रिबिवि शिक्षण अस्पतालका कोभिड १९ संयोजक डा. दासले बताए। तर नेपालमा नियन्त्रणकै बाटोमा हो या हैन भन्ने कुरा निक्र्यौल गर्न सरकारले अहिलेको भन्दा बढी परीक्षण संख्या बढाउनु पर्ने उनको सुझाव छ।

भारतमा कोरोना बिरुद्धको सेरोसर्भिलेन्स (कोरोनाबिरुद्धको एन्टिवडी परीक्षण) गर्दा ६० लाखमा ३०/३५ प्रतिशतमा एन्टिवडी पोजिटिभ पाइएको थियो। ‘एन्टिवडी संख्या बढ्दै जानु भनेको निको हुने हुनेहरुको संख्या बढ्दै जानु हो’ डा. दासले भने।

अस्पतालमा लक्षण भएका सिकिस्त बिरामी मात्र आउनु र आइशोलेशन वार्ड खालि जस्तै हुनुले समुदायमै कोरोना घट्दै गएको अनुमान गर्न सकिने पाटन अस्पतालका कोभिड १९ उपचार संयोजक डा.बिमल पाण्डे बताउँछन्। उनको अनुसार नेपाल र भारतको एउटै वातवरण भएकोले कोरोना संक्रमणको प्रभाव नेपालमा परेको तर्क छ। सोही तर्क अन्य चिकित्सकहरुको पनि छ। समुदायमा संक्रमणदर बढी भएको भए कुनै न कुनै रुपमा आइशोलेशन सेन्टरहरुमा बिरामी भरिभराउ हुने सम्भावना रहने पाण्डेको तर्क छ। एकातिर संक्रमित होम आइशोलेशनमा बस्नु र लक्षण भएपछि मात्र परीक्षण गर्न जाने स्थितिले पनि घटेको देखिएको हुन सक्ने उनले बताए।

राष्ट्रिय इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. बासुदेव पाण्डेका अनुसार नेपालमा कोरोना भाइरस संक्रमण दर घट्नुमा भारतमा घट्नुको एउटा आधार रहेको बताउँछन्। ‘भारतमा घटेपछि नेपाल आउने व्यक्तिबाट अरुलाई सार्न सक्दैन’ उनले भने। भारतका तीन वटा नाकाबाट नेपालमा आउने क्रममा दैनिक हजारौको संख्यामा आउँदा नेपालमा धेरै संक्रमित हुने गरेको उनको तर्क छ।

नेपालमा दशैं अघिसम्म दैनिक २८ प्रतिशतसम्म रहेको संक्रमणदर घटेर मंगलबार १५ प्रतिशतमा झरेको छ। कुल परीक्षण भएका मध्येमा १५ प्रतिशत संक्रमण देखिनु भनेको संक्रमणदर घटेको दैनिक तथ्याकंले औल्याएको डा. पाण्डेको तर्क छ। तर संक्रमणदर घटेको यकिन गर्न परीक्षण गर्ने अझ प्रभावकारी रुपमा जोखिम समूह तथा हट स्पट पहिचान गरेर परीक्षण गर्नु पर्ने आवश्यक रहेको उनले बताए। ‘कतै पछिल्लो समयको परीक्षणमा परीक्षण गर्नु पर्ने समूह नै छुटेको हुन सक्छ, त्यो कुरामा हाम्रो ध्यान केन्द्रित हुनु पर्छ ’ उनले भने।

कुनै पनि प्रकोप लामो समयपछि आफै घटेर जाने प्राकृतिक नियम हुने र सोही रुपमा काठमाडौ उपत्यकामा घटेको हुन सक्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान बिभाग प्रमुख डा. शेर बहादुर पुन बताउँछन्। ‘ भारत र नेपाल दुवैमा कोरोना भाइरस संक्रमण अवधि धेरै भएर सवैलाई लागिसकेपछि संक्रमणदर घटेको हुन सक्छ’डा.पुनले भने। तर नेपालमा समुदायमा संक्रमण घटेको भन्ने कुरा यकिन गर्न वैज्ञानिक पद्धति अनुसार लाखौमा एन्टिवडी परीक्षण हुनु पर्ने पुनको तर्क छ। ‘एन्टिवडी परीक्षणपछि मात्र बास्तबमै घटेको या हैन भन्ने कुरा यकिन हुन्छ, अन्यथा कति संक्रमित परीक्षण नगरेको हुन सक्छ’ उनले भने।

 

प्रकाशित: २४ मंसिर २०७७ ०६:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App