२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

राजपुर बमकाण्ड: यसरी समातिए महताब

महम्मद महताब आलम

राजपुर बम काण्डका मुख्य योजनाकार महम्मद महताब आलमलाई पक्राउ गर्न प्रदेश २ प्रहरी कार्यालय जनकपुरले आठ महिना लागेको जनाइएको छ। सोमबार पक्राउ गरिएका उनलाई प्रहरीले भारतको विभिन्न सहरमा खोजी गरेको थियो। बम काण्डका मुख्य आरोपित सांसद महम्मद आफताब आलम पक्राउ परेपछि फरार महताब पनि घटनाको दोषी रहेका प्रमाण संकलन भइसकेको थियो। घटनाका साक्षीहरूको बयान, मुद्दा दर्तामा पनि नाम रहेको तथा सांसद आलमका सबै अपराधमूलक कामहरूको योजनाकार र संरक्षकका रूपमा परिचित महताबलाई पक्राउ गर्न धेरै चुनौती बेहोर्नुपरेको प्रहरीले जनाएको छ।

गत वैशाखमा अदालतबाट पुर्पक्षका लागि सांसद आफताब कारागार चलान भएपछि प्रहरीको ध्यान बम काण्डका मुख्य योजनाकार मानिएका महताबतिर केन्द्रित भएको थियो। २०७६ सालको कोजाग्रत पूर्णिमाकै दिन सांसद आफताब पक्राउ परेपछि महताब फरार भएका थिए। महताबलाई पक्राउ गर्न प्रदेश २ प्रहरी कार्यालय जनकपुरले विशेष योजना बनाई काम थालेको थियो। प्रहरीका अनुसार गत वैशाखदेखि प्रदेश प्रहरी कार्यालयले महताबलाई पछ्यायो। जेठ ८ मा महताब रौतहटको राजपुर नगरपालिका–४ स्थित घरमा आएको सूचना प्रहरीले प्राप्त गर्‍यो। सोही सूचनाका आधारमा बाराको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी प्रमुख डिएसपी गोविन्द पुरीको कमान्डमा उनको घर छापा मारेको थियो। प्रहरीले चारैतिरबाट घर घेरेको थाहा पाएपछि गाउँलेले प्रहरीमाथि ढुंगामुढा प्रहार भएको थियो। एक सय पचास प्रहरी परिचालन गर्दै छापा मारेको प्रहरीले कम्तीमा १७ राउन्ड हवाई फायर गर्नुपरेको थियो।

महताबलाई पक्राउ गर्न प्रहरीले योजना नै नयाँ किसिमले बनाउनुपरेको प्रहरी स्रोतले जनाएको छ। जसअनुसार भारतको मुम्बईमा महताब भएको सूचना आएपछि प्रदेश प्रहरी कार्यालयको एक टोली मुम्बईमा पनि १५ दिन रहेर खोजी गरेको थियो। त्यसैबीच भारत बिहारको शिवहरस्थित आफताबका सम्धी एवं विधायकसमेत रहेका महम्मद सफरुद्दिनको घरमा रहेको सूचना आएपछि प्रहरी शिवहरमा पनि परिचालन भएको थियो। सम्धिको घरबाट पक्राउ गर्न सम्भव नभएको र आफताब गाउँबाहिर निस्कनासाथ पक्राउ गर्ने योजना रहेकोमा १५ दिनसम्म प्रहरी शिवहरमा बस्नुपरेको थियो तर योजना सफल हुन सकेको थिएन।  

आलमलाई पछ्याइरहेको प्रहरी टोली बिहारकै मोतिहारीस्थित ब्लु डायमन्ड होटलबाट सोमबार महताबलाई पक्राउ गर्न सफल भएको थियो। हतियारधारी अंगरक्षक र सहयोगीका साथमा रहेका आलमलाई प्रहरीले पक्राउ गरेपछि हतियारसहित अंगरक्षक र सहयोगीलाई भारतीय प्रहरीले आफूसित राखी आलमलाई नेपालतिर सुरक्षित ल्याउन सहयोग गरेको जनाइएको छ।

आलमलाई पक्राउ गर्नुअघि प्रहरीले गत जेठ १४ गते इँटा उद्योगका मजदुर मुक्ति साह, असार १८ गते शव ओसार्ने ट्याक्टर चालक सेख सेराज, असोज १६ गते इँटा उद्योगका मुन्सी बद्री सहनीलाई पक्राउ गरेको थियो। पक्राउ परेका बद्री सहनी र मुक्ति साहलाई अदालतले तारेखमा रिहा गरेको छ भने सेख सेराज पुर्पक्षका लागि कारागारमा छन्।  

प्रदेश प्रहरी प्रमुख डिआइजी धीरजप्रताप सिंहले आलमलाई पक्राउ गर्नु चुनौतीपूर्ण रहेको भए पनि सबै चुनौतीको सामना गर्दै राजपुर बम काण्डका मुख्य योजनाकारई पक्राउ गर्न सफल भएको र अन्य आरोपीलाई पनि पक्राउ गरिने बताएका छन्।  

यसैबीच पक्राउ परेका आलमलाई जिल्ला प्रहरी कार्यालय रौतहटले मंगलबार अदालतमा पेस गरेको छ भने बुधबार पेस गर्नेगरी अदालतले फिर्ता पठाएको रौतहट प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाहले जानकारी गराएका छन्। आलमको स्वाब संकलन गरी जाँच गराएका तथा राजपुर बम काण्डका अन्य आरोपितलाई पनि प्रदेश प्रहरी कार्यालयको समन्वयमा पक्राउ गरिने एसपी शाहको भनाइ छ।

प्रकाशित: २४ मंसिर २०७७ ००:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App