१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

बिजुली माग्दै जुम्लावासी आन्दोलित

झण्डै आधा महिनादेखि नियमित बिजुली आपूर्ति नभएपछि जुम्लावासी आन्दोलित भएका छन्। उनीहरुले तत्काल बिजुली नियमित आपुर्ति हुने व्यवस्था गर्न माग गरेका छन्। विद्युत तथा सञ्चार सेवा आपूर्ति संघर्ष समिति जुम्लाले पत्रकार सम्मेलन गरी नियमित विद्युत आपूर्तिको माग राख्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो।

विद्युत तथा सञ्चार सेवा आपूर्ति संघर्ष समितिका संयोजक तथा नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले जुम्ला अन्धकार हुँदा पनि कसैको चासो नगएको प्रति आक्रोश पोखे। उनले भने,‘आधा महिनादेखि सदरमुकाम खलंगा उज्यालोविहीन छ। उपभोक्ताका आधारभूत आवश्यकता पुरा हुन सकेका छैनन्। बिजुली आपुर्तिका लागि न विद्युत प्राधिकरण जिम्मेवार बनेको छ । नत यहाँका राजनीतिक दलका नेताको चासो नै गएको छ । बिजुली आपूर्ति प्रक्रिया अन्यौलमा परेको छ। त्यसैको विरुद्ध यो निर्णायक आन्दोलन हो।’

समितिले अहिलेकै जेनेरेटरबाट विद्युत आपूर्ति गर्नुपर्ने, राष्ट्रिय प्रसारण लाइन ६ महिनाभित्र जडान गरी स्थायी रुपमा विद्युत आपूर्ति गर्नुपर्ने, टेण्डर आव्हान गरी जोडिएको मेसिनमा पटक पटक खराबी देखिएकोले यथासिघ्र छानबिन गर्नुपर्ने, छानबिन प्रतिवेदनका आधारमा ठेकेदारलाई कानुनी प्रक्रिया अगाडी बढाउनुपर्ने माग राखेको छ।  

जुम्लामा फोन र इमेलको क्षमता कमजोर हुँदा कार्यसम्पादन प्रभावित भएकोले नेपाल टेलिकम शाखा जुम्ला र सञ्चार मन्त्रालय समेतको ध्यानाकर्षण गर्ने संघर्ष समितिले जनाएका छन्।

दियालो बालेर सडकमा निस्कने, विद्युत तथा सञ्चार सम्बन्धी प्रयोगमा आउने नेपाल टेलिकम, विद्युत प्राधिकरणमा विद्युतीय सामाग्री बुझाउने जस्ता कार्यक्रम रहेका छन्।

नगरपालिकावासी दुई सातादेखि अँध्यारोमा बस्न बाध्य छन्। यहाँका नागरिक अध्यारोमा बस्न थालेको अहिले मात्रै होइन। हप्ता, महिना हुँदै वर्षदिनसम्म पनि अँध्यारो खेपिरहेका छन्, नागरिक समाजका अध्यक्ष महतले थपे,‘ नागरिकलाई अहिलेको अध्यारो नौलो लाग्न छाडिसक्यो। दियालोको भरमा रात काट्छन्। अब तत्काल उज्यालो चाहिन्छ। जसका लागि नेपाल विद्युत प्राधिकरण र सरकारको ध्यानाकर्षण हुन जरुरी छ।  

घुघुती विद्युत गृहमा मेसिन बिग्रिएपछि सदरमुकाम खलंगा बजारसहित सिंगो चन्दननाथ नगरपालिका दुई सातादेखि अन्धकार छ। वैकल्पिक व्यवस्थाका ल्याइएका डिजेल प्लान्ट पनि इन्धन अभावले थन्किएका छन्।

२०४० सालमा घुघुतीमा उत्पादित विद्युतगृहको मेसिन जीर्ण भएपछि ४ वर्षअघि तत्कालीन जिल्ला विकास समितिले भारतीय दूतावासको २ करोड ६३ लाख रुपैयाँ बजेटबाट नयाँ मेसिन जडानको काम सुरु गरेको थियो। समितिको कार्यालय खारेज भएपछि निर्माणको काम धकेलियो। डुव्लिकेट (नक्कली) नयाँ मेसिन जडान गरेको एक वर्ष नपुग्दै पटक पटक बिग्रिने गरेपछि यहाँका नागरिकले अँध्यारो खेप्नु परेको छ।

विद्युत प्राधिकरणको लापरबाहीले सदरमुकामवासी लामो समयदेखि अँध्यारोमा बस्नुपरेको नागरिक अगुवा महतले बताए। ‘भारतीय कम्पनीले गुणस्तरहीन र नक्कली मेसिन जडान गरेपछि हामीले दुःख पाइरहेका छौं,’ उनले भने, ‘एक त लोडसेडिङको चर्को मार छ, त्यसमा पनि महिनौं अँध्यारोमा बस्नुपर्ने बाध्यता छ।’ उनका अनुसार नयाँ मेसिन जडान भएपछि प्रत्येक महिना बिग्रिरहेको छ।

यसअघि नागरिक समाज जुम्लाको सहजीकरणमा सरोकारवाला पक्षबीच सर्वपक्षीय बैठक बसेको थियो। बैठकले प्राधिकरण जुम्ला शाखालाई नियमित बिजुली आपूर्ति गर्ने व्यवस्थाका लागि आग्रह गरेको थियो।

प्रकाशित: २० मंसिर २०७७ १३:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App