पोखरा रंगशालाभित्र जोकोही छिर्न पाउँदैनन्। खेलाडी, खेलकर्मी र रंगशालाभित्रका कर्मचारी बाहेक बहिरी सर्वसाधारण छिर्ने अनुमति छैन्। छिर्न पनि दिदैनन्। त्यही रङ्गशालाभित्रबाट प्लाष्टिकजन्य फोहोरसँगै वियरका बोतल र सिरिन्ज भेटिएको छ। स्वास्थ्यको लागि खेलकुद। स्वास्थ्य र स्वच्छता परिपुरक नै हुन्। रङ्गशालाभित्र प्रदुषण बढे स्वास्थ्यप्रति गम्भीर असर पुर्याउँछ। त्यही रङ्गशालाबाट शनिबार विहान १०० बोरा फोहोर निकालियो। सरसफाईकै क्रममा हिल हिमालय नामक संस्थाले रंगशालाभित्रबाट फोहोर संकलन गरेर डम्पिङ साईट पठायो। ‘पोखरा रङ्गशाला डम्पिङ साईट नै बनेको देखियो’, सरसफाई अभियानमा लागि परेको हिल हिमालयका सदस्य राजु बोगटीले भने, ‘स्वास्थ्य प्रतिको सचेतनासँगै बातावरणप्रतिको सचेतना पनि हुनुपर्छ।’ वातावरण नै प्रदुषण रहे खेलकुद खेलेर मात्रै खासै अर्थ भने राख्दैन्। प्रदुषित बातावरणमा स्वास्थ्यको लागि खेलकुद अर्थहीन हुन्छ।
पोखरामा वर्षदिन अघि १३ औं दक्षिण एशिायाली खेलकुद प्रतियोगिता आयोजना गरियो। आयोजनासँगै रङ्गशालाभित्र प्रयोग भएका प्लाष्टिकजन्य फोहोरलाई भित्रै डम्पिङ गरियो। त्यसले वातावरणीय प्रदुषण फैलाएको थियो। त्यस तर्फ ध्यान भने कर्मचारी तथा खेलाडी कसैले पनि दिएका थिएनन्। दैनिकजसो फोहोरलाई गल्फ एकेडेमीको लागि छुट्टाइएको ठाँउमा डम्पिङ गरिँदै आएको थियो। डम्पिङ गरिएको फोहोरलाई हिल हिमालयले आफनो २३ औं अभियान अन्तर्गत सरसफाई गरेर डम्पिङमुक्त बनायो। फोहोर संकलन गर्न ३५ जना सदस्य खटिएका थिए। वियरका बोतल, सिरिन्ज तथा प्लाष्टिक जन्य फोहोरलाई झाडीमा फालेर डम्पिङ गरिएको अवस्थामा पाइएको सरसफाई अभियानकर्ता बोगटीले सुनाए। ‘स्वास्थ्यसँगै वातावरण र पर्यावरणप्रति पनि सचेत बन्न जरुरी छ’, उनले भने, ‘अब फेरी रङ्गशाला डम्पिङ साईट नबनोस भन्ने हाम्रोचाहना हो।’ रङ्गशालाभित्र फोहोरलाई एक ठाँउमा जम्मा गरेर हरेक हप्ता फोहोर फाल्ने गाडी बोलाएर व्यवस्थापन गर्नसमेत हिल हिमालयले सुझाव दिएको छ।
पोखरा रङ्गशालाको पूर्ण रुपमा सरसफाई भईनसकेको उनको भनाई थियो। अधिकांश ठाँउ सफा गरेको उल्लेख गर्दै सदस्य बोगटीले अझै केही ठाँउमा सफा गर्नुपर्ने अवस्था रहेको उल्लेख गरे। बाँकी रहेको ठाँउमा दोस्रो चरणमा सफा गरिरहेका उनको भनाइ छ। हिल हिमालयले २२ हप्ता अघि देखि पोखरा महानगरपालिका क्षेत्रभित्रकै विभिन्न ठाँउमा सरसफाई अभियान सुरु गरेको थियो। विशेष गरी डाडाँकाडामा फालिएको फोहोरलाई व्यवस्थापन गर्दै आएको छ। ‘सरसफाईसँगै बातावरणप्रतिको सचेतना जगाउने प्रयास पनि हो’ हिल हिमालयका अध्यक्ष रोशन गुरुङले भने,‘हामीले सरसफाई अभियान स्वयंसेवक रुपमा गर्दै आएका छौं।’
लकडाउनकै समयमा हिल हिमालयको सरसफाई अभियान शुरु भएको थियो। ३ जनबाट सुरु गरिएको सरसफाईको अभियानमा अहिले दर्जनौं सदस्य छन्। स्वयंसेवक रुपमा सरसफाई गर्दै आएपनि पछिल्लो समय विभिन्न संघसंस्थाले खाना र खाजाको लागि सहयोग गर्दै आएको समेत उनले सुनाए। ‘एकदुई पटक सफा गरेको ठाँउलाई दोहो¥याएर सफा गर्नुपर्ने अवस्था नआओस’ अध्यक्ष गुरुङले भने–‘सरसफाई आफैंबाट शुरु गर्नुपर्छ। आफनै ठाँउबाट गर्नुपर्छ।’ घुम्न जानेहरुले प्याकिङ फुड(जङ्क फुड) प्रयोगकै कारण डाडाँकाडाँ बढी फोहोर हुदैं गएको उनको अनुभव थियो।
प्रकाशित: २० मंसिर २०७७ ०८:३५ शनिबार





