८ वैशाख २०८१ शनिबार
समाज

कोरोना नियन्त्रणमा सहरभन्दा गाउँको स्थानीय सरकार बलियो

कोरोना नियन्त्रणमा संघीय सरकारले नै प्रभावकारी बन्न नसकिरहेको बेला विकट क्षेत्रमा स्थानीय सरकारको भूमिका भने प्रभावकारी देखिएको छ। कोरोना रोकथाममा गाउँका स्थानीय सरकारले चालेका कदम सहरका सरकारको भन्दा जिम्मेवारपूर्ण छ। संघीय प्रणाली जनताप्रति जवाफदेही भएर काम गर्ने हो भने आमजनताले प्रभावकारी सेवा पाउन सक्छन् भन्ने उदाहरण बनेका छन्, ललितपुरका तीन दुर्गम गाउँपालिका।

उपत्यका जोडिएको जिल्ला ललितपुरको ग्रामीण क्षेत्रमा पर्ने बागमती गाउँपालिका, कोन्ज्योसोम गाउँपालिका र महांकाल गाउँपालिकाले सीमित बजेट र स्रोतसाधनमा कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गरे। उपत्यकानजिकैको कर्णालीका भनेर चिनिने यी पालिकाले कोरोना रोकथाम र नियन्त्रणमा गरेको भूमिका सराहनीय छ।

कोन्ज्योसोम गाउँपालिकाले घरघरमै पुगेर वृद्धवृद्धाको उपचार गर्ने व्यवस्था मिलायो। कोरोनाबाट गम्भीर भएर उपचार गर्नुपरेका बिरामीको खर्च व्यहोर्यो। त्यस्तै, लक्षण देखिएका बिरामीलाई मात्रै पिसिआर परीक्षण गरी पालिकाबाट हुने खर्च नियन्त्रण गरेको छ। गाउँका विपन्न वर्ग पहिचान गरी करिब ७ सय बढी घरधुरीलाई ५० केजीका दरले चामल, १० केजी दाल वितरण गरेको पालिकाका अध्यक्ष गोपीलाल सिनताङले जानकारी दिए। उनले सरकारले दिएको बजेट अपुग हुने देखिएपछि जतनले खर्च भइरहेको बताए। त्यसमध्ये १० क्विन्टल चामल निजी संघसंस्थाहरुले पालिकालाई दिएको उनको भनाइ छ। ‘हामीले चाहिले ठाउँमा मात्रै खर्च गरेका छौं, अनावश्यक ठाउँमा खर्च गरेका छैनौं,’ उनले भने। उनले महामारीको बेला केयौं श्रमिक तथा युवाहरु बेरोजगार बनेपछि ती बेरोजगारलाई रोजगार सिर्जना गरेको बताए। घरका कोही काम गर्न सक्नेछन् भने पालिकाले कृषि तथा पुनर्निर्मार्ण कार्यमा लगाएर ज्याला दिँदै आएको छ। पालिकाले कोरोना अवधिभर ५२ लाख ५५ हजार खर्च गरेको छ। उक्त बजेट केन्द्र प्रदेशको अनुदानबाट समेत प्राप्त भएको अध्यक्ष सिनताङले बताए। अन्य केही राहत रकम र सामग्री व्यक्ति तथा संस्थाले पनि प्रदान गरेका थिए। त्यस्तै, १० बेडका अस्पताल निर्माण योजना पनि अघि सारिएको छ। शंखु र दलचोकी पनि ५÷५ बेडको अस्पताल निर्माण गर्न लागि अध्यक्ष सिनताङको भनाइछ।

स्थानीय सरकार नहुँदो हो भने दक्षिण ललितपुरका जनता भोक मर्ने थिए, वर्षाको बेला सडक भत्किएर सहरसँग सम्बन्ध टुट्छ, त्यस्तो बेलामा स्थानीय सरकार नै काम लागेको छ।

वागमती गाउपालिकाले पनि कोरोना संक्रमणका बेला हुने जथाभावी खर्च रोकथाम गरेको छ। कोरोना कोषमा जम्मा भएको ५८ लाखमध्ये पालिकाले ३० लाख मात्रै बजेट खर्च गरेको छ। त्यसमध्ये २० लाखको खाद्यान्न वितरण ग¥यो। यसबाहेक ग्रामिण क्षेत्रमा उपचार नपाएकालाई गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले आफ्नै गाडिमा उपचार गराउन पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याए। आफू त्यहीको रैथाने भएको र गाउँले पीडामा सहकार्य गरेको अध्यक्ष लोप्चनले बताए। उनले भने, ‘मैले यस्तो बेलामा पनि फाइला लिनतर्फ ध्यान दिएभने गाउँलेले सराप्थे, कोरोना अवधिमा एम्बुलेन्ससमेत नपाएपछि मैले आफ्नै गाडिमा दौडाएँ, अझै पनि केही गम्भीर रोगका बिरामी छन् भने हामीले उपचारमा सहयोग गरेका छौं, खर्च नहुनेलाई राजधानीका अस्पतालमा पु¥याएर उपचार गर्ने वातावरण मिलाइदिएका छौं।’ उनका अनुसार पालिकाले अस्पताल निर्माण योजना पनि अघि सारेको छ। १५ बेडको उक्त अस्पताल एक वर्षभित्र निर्माण भइसक्नेछ।

रोजगारकै भरमा चलेका परिवारले लकडाउनको बेला रोजगार गुमाउँदा भोकै बस्नुपर्ने अवस्था आएपछि उनीहरुलाई खान पुग्ने खाद्यान्न घरघरमै पु¥याइदिएको उनको भनाई छ। कोरोना महामारीको बेला बागमती गाउँपालिकामा सञ्चालित स्वास्थ्य चौकीमा सबैखाले सामान्य रोग (रुघाखोकी, ज्वरो, डेलिभरी, चोटपटक लगायत समस्याको उपचार हुने व्यवस्था मिलाएपछि स्थानीयले सहजता महसुस गरे। स्थानीय कृष्ण सञ्जेलले कोरोना महामारीको बेलामा मात्रै नभएर अन्य समयमा पनि दक्षिण ललितपुर क्षेत्रबाट सहरसम्म पुग्न कठिनाई हुने गरेको बताए। उनले भने, ‘बर्खाको बेलामासदरमुकाम जान सकिँदैन, बिरामी बोक्न हेलिकोप्टर ल्याउनुपर्ने अवस्था छ, त्यसकारण यस क्षेत्रमा व्यवस्थित सडक चाहिन्छ।’

महांकाल गाउँपालिकाले कोरोना अस्पताल निर्माण गरेको छ। संक्रमणपछि गम्भीर भएर अस्पताल भर्ना भएकाहरुको उपचार खर्च व्यहोर्दै आएको छ। त्यस्तै, आयुर्वेदिक अस्पताल पनि निर्माणाधीन अवस्थामा रहेको पालिकाका उपाध्यक्ष कमला तामाङले जानकारी दिइन्। ‘हामीकहाँ संक्रमण दर कम छ, कोही गम्भीर भएर उपचार गर्न गएका उपचार खर्च पनि पालिकाले नै व्यहोरेको छ,’ उनले भनिन्, ‘हालसम्म १ करोड बजेट खर्च भएको छ कोरोना यिन्त्रणमा।’ पालिकामा कोरोना अवधिभर कार्यालयमा सबैखाले काम सहज तरिकाले सञ्चालन नभएकाले उक्त अवधिका कर्मचारीले पनि भत्ता नलिएको उपाध्यक्ष तामाङको भनाइ छ।

बत्तीमुनिको अध्याँरो
ललितपुर जिल्लालाई सुगम र विकसित जिल्लाको रुपमा हेरिन्छ। तर, यहाँको झन्डै आधाभन्दा बढी हिस्सा विकटतामा जकडिएको छ। ४० प्रतिशत भुभाग अति विकसित ठाउँमा रुपमा परेपनि ६० प्रतिशत भुभाग भने कर्णालीभन्दा पनि विकट छ। विकास निर्माणका काम निम्छरो हुँदा दक्षिण ललितपुरका जनताले विकटमै जीवन बिताइरहेका छन्। स्थानीय सरकार नहँुदो हो भने दक्षिण ललितपुरका जनता भोक मर्ने थिए, वर्षाको बेला सडक भत्किएर सहरसँग सम्बन्ध टुट्छ, त्यस्तो बेलामा स्थानीय सरकार नै काम लागेको छ,’ प्युटारमा युवा नेता कृष्ण बलले भने। उनका अनुसार बाटोको सहज व्यवस्था तथा अन्य सहरी सुविधा पुग्न नसकेका कारण दक्षिण ललितपुर उपत्यकानजिक पर्ने भए पनि विकटतामै सिमित छ। प्युटार, ठूलादुर्लुङ र कालेश्वर क्षेत्रका गाउँमा अझै मोटरबाटो पुग्न सकेको छैन।

सहरका स्थानीय सरकारले पनि सिकुन
विकट क्षेत्रमा अवसिथत गाउँपालिकालेहरुले कोरोना नियन्त्रणमा खेलेको प्रभावकारी भुमिकालाई सहरका स्थानीय सहरसँग दाज्दा सहरकै स्थानीय तह चुकेको र गम्भीर नभएको देखिन्छ। कोरोना महामारीकै बेला काठमाडौं महानगपालिकाले विपन्न बर्गलाई व्यवस्थापन गर्न सकेन। उल्टै असहयोग गरेकै भन्दै विरोध पनि भयो। ललितपुर महानगरपालिकाले पनि कोरोना नियन्त्रणको लागि प्रभावकारी भुमिका निभाउन सकेन। कोरोना नियन्त्रणमा ४ करोड खर्च गर्दा पनि महानगरपालिका क्षेत्रमा संक्रमण फैलनेक्रम बढी छ। त्यस्तै, काठमाडौं र ललितपुर महानगरपालिकाले क्वारेन्टीन र आइसोलेसन निर्माण तथा कोरोना संक्रमण भएर गम्भीर बनेका बिरामीको उपचारमा प्रभावकारी भुमिका खेलेका छैनन्। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंमा जनसंख्या बढी भएका कारण व्यवस्थापनमा समस्या हुने गरेको बताए। उनले भने, ‘हामीले नगरेका होइनौं, यतिका खर्च भैसक्यो, अझै पनि संक्रमण फैलँदो छ, आफू सचेत भएर बस्नु अहिलेको लागि उत्तम उपाय हो।’ उनले कोरोना नियन्त्रणमा महानगरले ५ करोड बढी खर्च गरिसकेको बताए। हाल ललितपुर र काठमाडौं महानगरपालिकाले बनाएका १० वटा भन्दा बढी स्थानका क्वारेन्टीन खाली छन्। स्थानीय तहको क्वारेन्टिन र उपचार प्रणाली राम्रो नभएको भन्दै संक्रमितहरु घरमै बस्ने गरेका छन्।

प्रकाशित: २० मंसिर २०७७ ०३:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App