१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

मध्यपहाडी लोकमार्गको पर्वतखण्ड दैनिक साढे तीन घण्टा बन्द हुने

क्याप्शन

निर्माणाधिन राष्ट्रिय गौरबको आयोजना मध्यपहाडी लोकमार्गको पर्वत खण्ड फराकिलो बनाउन र सुधार गर्नका लागि दैनिक साढे तीन घण्टा बन्द हुने भएको छ। धौलागिरीका चार जिल्लालाई राष्ट्रिय राजमार्गसँग जोड्ने पर्वतखण्डमा अप्ठेरो भिरमा कटान गर्नका लागि मंसिर २१ गते आइतवारदेखि दुई हप्ताका लागि सडक बन्द गरिने भएको हो। जिल्ला प्रशासन कार्यालय पर्वतमा संयोजनमा शुक्रवार बसेको सर्वपक्षीय बैठकले लोकमार्गको पर्वत खण्डमा पर्ने कुश्मा नगरपालिका वडा नं. ७ खरेहादेखि वडा नं. ८ को दोबिल्ला बीचको भीरमा सडक फराकिलो बनाउन सडक बन्द गरेर काम गर्ने निणर्य गरेको सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम गौतमले बताए।  

‘मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा अहिले धमाधम काम भैरहेको छ,‘बिहान ११ बजेदेखि दिउँसो साढे २ बजेसम्म सडक बन्द निणर्य भएको छ’ उनले भने। अहिलेसम्म लोकमार्गको झण्डै ७० प्रतिशत काम सम्पन्न भएको र खरेहा र चुवाको भीर तथा चुवादेखि दोविल्ला बीचको दूरीमा रहेको भीरमा कडा चट्टान फुटाउन बाँकी रहेकाले सडक बन्दनै गरेर निर्माण कार्य अघि बढाउन लागिएको हो। आयोजनासँंग ३६ महिनामा निर्माण काम सक्ने गरि सम्झौता भएपनि गत भदौमा सम्झौता अवधि सकिएको छ। कोभिड–१९ का कारण झण्डै ७ महिनादेखि रोकिएको काम गत असोजको दोस्रो सातादेखि सुरु भएको सडक निर्माण कम्पनी लामा कन्ट्रक्सन कम्पनीका प्रोजेक्ट म्यानेजर गोबिन्द भुसालले बताए। उनका अनुसार सडकमा सवारीको चाप बढ्दै गएकाले काम गर्न समस्या पर्ने हुँदा आवतजावत नै रोकेर निर्माण गर्न थालिएको बताए।  

पर्वत खण्डमा सडक स्तरोन्नतीको क्रममा मोदीखेत क्षेत्रमा कालोपत्रे बिच्छ्याउन पनि सुरु गरिएको छ। स्तरोन्नतीको कामलाई तीव्र बनाउँदै मोदीखेतदेखि कालोपत्रे बिच्छ्याउन सुरु गरिएको छ। कम्पनीका प्रतिनिधि राजाराम आचार्यका अनुसार जाडो नबढेसम्म कम्तीमा पनि ५ किलोमिटरमा कालोपत्रे बिच्छ्याउने काम सकिने छ। निर्माण कम्पनीका अनुसार आयोजनाको पर्वतको प्रवेशद्वारदेखि मालढुंगासम्मको २३ दशमलब ७६९ किलोमिटर स्तरोन्नतीको कम्पनीले ८३ करोड ९८ लाख रुपैयाँमा ठेक्का लिएको हो। पर्वत खण्डको २३ किलोमिटर मध्ये स्टक्चरको काम ९८ प्रतिशत सकिएको छ।

बागलुङ्गको सिमाना मालढुंगादेखि नयाँपुलसम्म करिब ५ किलोमिटर कालोपत्रे गरिएको छ। बाढी र पहिरोका कारण त्यो खण्डमा केही ठाउँमा सडक बिग्रेका कारण फेरि कालोपत्रे गर्नुपर्ने अवस्था छ। मुस्ताङ म्याग्दी, बागलुङ र पर्वत जिल्लाबाट पोखरा हुँदै विभिन्न जिल्लामा आवतजावत गर्ने यात्रुलाई बन्द हुने तालिका भन्दा आगाडी नै आवतजावत गर्न समेत अनुरोध गरिएको छ

प्रकाशित: १९ मंसिर २०७७ ११:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App