१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

खै समाजिक दूरी: सार्वजनीक यातायातमा कोचाकोच

आइतबार साँझ सुनधारा–स्वयम्भू रुटमा चल्ने सफा टेम्पुमा यात्रु खचाखच थिए । कोरोना भाइरस संक्रमण तीव्र भइरहेका बेला बिना कुनै स्वास्थ्य सावधानी यात्रुहरु हिँडिरहेका थिए । कोरोना जोखिमबाट बच्ने उपायको न्यूनतम मापदन्ड अपनाउनुको त के कुरा उल्टै समान्य अवस्था झैं कोचाकोच यात्रु बोकेर चालकले निर्धक्कसाथ टेम्पु गुडाइरहेका भेटिए । टेम्पुभित्र न यात्रुबीच समाजिक दूरी थियो न त मास्क र स्यानिटाइजरको प्रयोग नै । मास्क पनि यात्रुले चिउडामा लगाएका थिए ।

कोरोनाबारे लापरवाही बढिरहेको देखिएको भन्दै हाल सबै क्षेत्र खुला भएकाले होला जनताहरु कोरोनाप्रति पनि लापरबाही गर्न थालेको सोही टेम्पुकी यात्रु सुनिता मजर्हनले बताइन् । ‘मैले मास्क लगाएरै टेम्पु चढेकी थिएँ,’ उनले भनिन्, ‘तर टेम्पुभित्र कोचिएर यात्रु बसेकाले उकुसमुकुस भयो । मैले मास्क धेरैबवेर लगाउन सकिन र निसासिएर निकालेर चिउडोमा लगाए ।’ वीर अस्पतालमा आमा बिरामी भएकोले खाना पु-याएर भगवान पाउ फर्कन लागेकी महर्जनले भनिन्, ‘मेरो घरमा म एक्लै छु । बाइक छैन । बध्यताले टेम्पु चढेकी हुँ ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार २९ डिसेम्बर अर्थात् आइतबारसम्म देशभरिमा कुल २ लाख ३१ हजार ९ सय ७८ कोरोना संक्रमित रहेकोमा १७ हजार ९ सय ९ सक्रिय संक्रमित छन् भने १ हजार ४ सय ७९को कोरोनाका कारण मृत्यु भएको तथ्यांक छ । कुल संक्रमितमध्ये २ लाख १२ हजार ५ सय ९० निको भइसकेका छन् । देशमा कोरोना संक्रमणको जोखिम बढ्दै गए पनि नागरिक भने स्वास्थ्य सुरक्षाको समान्य उपाय अपनाउन पनि लापरबाही गर्न थालेका छन् । लापरबाहीको बढी हिस्सा सार्वजनिक यतायातमा देखिन्छ ।

सुन्धारादेखि स्वयम्भू रुटमा साँझपख प्रायः टेम्पो भरिभराउ नै हुने गरेको यात्रुहरुले गुनासो छ । छाउनी बस्ने गंगा थापा आइतबार टेम्पुमा उभिएरै सुनधारादेखि छाउनीसम्मको यात्रा गर्नु परेको पीडा सुनाइन् । ‘म सामान्य व्यापारी हुँ । सुन्धारासम्म व्यापारको सिलसिलामा सधैं टेम्पुबाटै कोचिएर आउजाउ गर्नुपर्छ,’ गंगाले टम्पुबाट झर्दै भनिन्, ‘कोरोना जोखिम बढेको थाह भए पनि हामी बाध्यताले कोचिएर यात्रा गर्नुपरेको छ । विशेष गरी साँझतिर यात्रु धेरै भएकाले कोचिएर यात्रा गर्नुपर्ने अवस्था छ ।’

यति मात्र होइन टेम्पु चालकले समेत टेनिटाइजरको प्रयोग नगरेको र यात्रुहरुले टेम्पुको रड समातेरै चढ्ने र ओर्लने गरेका थिए । ट्राफिक प्रहरीसमेत नजिकै हुँदा समेत कुनै सोधीखोजी गरेनन् । जबकी सरकारले सार्वजनिक सवारीसाधनमा भौतिक दूरी काम गरी, मास्क रसेनिटाइजरको अनिवार्य प्रयोग गरी चलाउनु पर्ने नियम बनाएको छ ।

‘कालिमाटी चोक र बिष्णुमती पुलमा थुप्रै ट्राफिक प्रहरीले हाम्रोसँगै थुप्रै टेम्पुहरुले यही रुटमा कोचिएर यात्रु बोकेको देखेर पनि केही सोधिखोजी गर्नुभएन,’ ताहचल क्याम्पसनजिकै टेम्पुबाट ओर्लेका जगदीश साहले भने, ‘म पसल खोल्न सधैं टेम्पुबाट जाने आउने गरेको छु । धेरैपटक ट्राफिक प्रहरीहरुले हेरेर पनि बेवास्ता गर्नु भएकोले यो चालक र यात्रुसमेत लापारबाह बनेका हुन् ।’

प्रकाशित: १७ मंसिर २०७७ ०२:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App