पर्यटन प्रवर्द्धन र युवालाई दीगो रोजगारीको अवसर प्रदान गर्न होटल व्यवसायमा दक्ष जनशक्ति उत्पादन गरिँदैछ। इलाम उद्योग वाणिज्य संघले १५ महिना सञ्चालन हुनेगरी दीगो रोजगारीका लागि सीप विकास परियोजना थालेको हो।
बेरोजगार युवालाई लक्षित गरी होटलमा काम गर्ने ३ सय २० दक्ष कामदार उत्पादन गर्न ३ करोड २३ लाख रुपैयाँ बराबरको परियोजना सुरु भएको छ। उत्पादित कामदारले जिल्लाकै होटलहरूमा रोजगारी पाउने र अन्य क्षेत्रमा रोजगारीका लागि जाँदा पनि दक्ष भएर उनीहरूले सीप देखाउन सक्ने संघले जनाएको छ। परियोजनाबारे सरोकारवालालाई जानकारी दिँदै परियोजना संयोजक राम रिमालले यसबाट ३ सय ८५ सरोकारवाला प्रत्यक्ष लाभान्वित हुने बताए। ‘कुल बजेटको ७३.६३ प्रतिशत कार्यक्रम र १९.३७ प्रतिशत प्रशासनिक खर्च तोकिएको छ,’ उनले भने, ‘७ प्रतिशत चाहिँ संस्थाको ओभरहेड कस्ट हो।’
परियोजनापछि रुम एटेन्डेन्ट, होटल असिस्टेन्ट, वेटर÷वेट्रेस, जेनरल कुक, कन्टिनेन्टल कुक, हाउस किपिङ क्लिनर, रिसेप्सनिस्ट कम क्यासियरलगायतको जनशक्ति उत्पादन हुनेछन्। तालिमको प्राविधिक पक्षमा रत्नकुमार बान्तवा पोलिटेक्निकल इन्स्टिच्युटले साझेदारी गर्ने भएको छ। संघका वरिष्ठ उपाध्यक्ष कृष्ण (चेतनाथ) पौडेलले होटलमा दक्ष जनशक्ति उत्पादन गर्दा पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताए। ‘दक्ष जनशक्ति उत्पादनले युवालाई रोजगारी मिल्छ,’ उनले भने, ‘होटलमा दक्ष जनशक्ति हुँदा पर्यटन व्यवसाय प्रवर्द्धनमा समेत सघाउ पुग्छ।’
जिल्लामा ६० भन्दा बढी ठूला होटल छन्। तिनमा २ हजार ३ सय कामदार रहेपनि दक्ष कामदारको संख्या सयभन्दा तल रहेको होटल एसोसिएसनका जिल्ला अध्यक्ष देवी पौडेलले बताए। ‘होटलका कामदारलाई तालिम छैन, जसोतसो चलाउनु परेको छ,’ उनले भने, ‘एउटै होटलमा कम्तीमा १० जनाले रोजगारी पाउने भएकाले रोजगारी गर्नेहरूका लागि तालिम अत्यन्त आवश्यक छ। तालिम पाएका युवा रोजगारीका लागि जिल्लाबाहिर जानै पर्दैनजस्तो लाग्छ।’ युरोपियन युनियनको आर्थिक सहयोग, ब्रिटिस काउन्सिलको कोष व्यवस्थापन तथा दक्षता कार्यक्रमअन्तर्गत ३ महिनादेखि परियोजना सञ्चालनमा रहेको संघले जनाएको छ।
जिल्ला समन्वय समिति प्रमुख गणेशप्रसाद बरालले परियोजनाले रोजगारीका अवसर सिर्जना गर्नेमात्र नभई इलाम आउने पर्यटकको आतिथ्य सत्कारमा पनि सघाउने बताए। ‘व्यक्ति दक्ष भएपछि रोजगारी पाउँछ र आम्दानी पनि राम्रो गर्न सक्छ,’ उनले भने, ‘यो परियोजनाले पनि व्यक्तिलाई आत्मनिर्भर बन्ने अवसर प्रदान गरेको छ।’ इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले अहिले कोभिड–१९ को महामारीका कारण होटल व्यवसायमा लगानी बढाउने समय नभएपनि युवालाई दीगो रोजगारी दिन परियोजनाले सहयोग गर्ने बताए। उनले बदलिँदो अवस्थाअनुसार आफ्नो अनुकूलतामा कार्यकलाप पनि परिवर्तन गर्दा मात्रै परियोजना उपलब्धिमूलक हुने जनाए।
प्रकाशित: १६ मंसिर २०७७ ११:१२ मंगलबार