२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

डोलिन्द्रलाई सजाय माग गर्दै पुनरावेदन

नेपाल रिपब्लिक मिडिया प्रालिका प्रबन्ध निर्देशक विनोदराज ज्ञवाली र मिडियाकै प्रकाशन नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेलको बेइज्जत गरी पुस्तक लेखेका डोलिन्द्रप्रसाद शर्मामाथि सजायको माग गर्दै उच्च अदालत पाटनमा सोमबार पुनरावेदन दर्ता गरिएको छ। नागरिकका तर्फबाट अधिवक्ता प्रतिभा उप्रेतीले साझा प्रकाशन सहकारी संस्थाका तत्काली अध्यक्ष तथा महाप्रबन्धकसमेत रहेका शर्माविरुद्ध पुनरावेदन दर्ता गराएकी हुन्।

काठमाडौं जिल्ला अदालतले नागरिकका प्रकाशक तथा प्रधान सम्पादकको नाम हटाउन आदेश दिएर शर्माद्वारा गालीबेइज्जती गरेको ठहर भए पनि सजाय नगरेउपर चित्त नबुझेको दाबीसहित आंशिक त्रुटि सच्याउन माग गर्दै पुनरावेदन दर्ता गरिएको हो। शर्माद्वारा लिखित ‘बादलभित्रको घाम’ नामक विवादास्पद पुस्तकबाट प्रालिका प्रबन्ध निर्देशक ज्ञवाली र प्रधान सम्पादक लुइँटेल तथा पत्रकारहरू वसन्त खड्का र विष्णु अर्यालका नाम आगामी संस्करणबाट हटाउन शर्मालाई आदेश दिइसकेको छ। जिल्ला अदालतको आंशिक त्रुटि सच्याई शर्मालाई सजाय गर्न माग गर्दै सो पुनरावेदनमा माग गरिएको नेपाल रिपब्लिक मिडिया प्रालिले जनाएको छ।

गालीबेइज्जती गरेउपर प्रकाशित पुस्तकको संस्करण नै संशोधन गर्न दिइएको आदेश सम्भवतः न्यायिक इतिहासमै यो पहिलो घटना हो।

जिल्ला न्यायाधीश पुष्पराज थपलियाको इजलासले आगामी संस्करणहरूमा ज्ञवाली, लुइँटेल तथा पत्रकारहरू खड्का र अर्यालको नाम हटाउन न्यायिक टिप्पणीसहितको आदेश दिएको हो। गालीबेइज्जती गरेउपर प्रकाशित पुस्तकको संस्करण नै संशोधन गर्न दिइएको आदेश सम्भवतः न्यायिक इतिहासमै यो पहिलो घटना हो। ‘कसैको गाली बेइज्जती हुनेगरी सार्वजनिक शिष्टाचार र नैतिकताको प्रतिकूल हुनेगरी विचार अभिव्यक्ति गर्ने छुट कुनै व्यक्तिलाई छैन। वादीहरूले आफ्नो सम्बन्धमा लिएको चासो र सरोकारलाई अन्देखा वा नजरअन्दाज गर्न सक्ने अवस्था छैन,’ जिल्ला अदालतको आदेशमा भनिएको छ, ‘तसर्थ वादीहरूले लिएको चासोलाई आत्मसात् गरी प्रस्तुत पुस्तकको आगामी संस्करणमा दाबीको शीर्षकमा प्रकाशित निबन्ध लेखमा रहेको वादी सञ्चार गृह र सम्पादकहरूका नामहरू हटाउन लगाउन न्यायोचित र उपयुक्त देखिएकाले प्रतिवादी लेखक एवं प्रकाशन गृहका नाममा यो न्यायिक टिप्पणी गरिएको छ, सोको सूचना प्रतिवादीहरूलाई दिनू।’

नागरिक र रिपब्लिका दैनिकमा प्रकाशित साझा प्रकाशनमा भएको भ्रष्टाचारको अनुसन्धानमूलक समाचारबाट आक्रोशित भएका शर्माले बदला लिने उद्देश्यले पुस्तक लेखी नागरिक प्रकाशक, सम्पादक र पत्रकारहरूविरुद्ध द्वेष ओकलेका थिए। पुस्तकको पहिलो संस्करणको पृष्ठ १८१ देखि १९१ सम्ममा मिडिया चमत्कार शीर्षकमा नागरिकमाथि पीत पत्रकारिता गरेको, पैसाको बार्गेनिङ गरेको, पत्रकारिताको नांगो नाच नाचेको, पत्रिकामा लेखेर लुतो कन्याइको मजा लिएकोलगायत तल्लो स्तरका शब्दहरूको प्रयोग गरी आफूहरूको बेइज्जती गरेको दाबीसहित दुई वर्षअघि मुद्दा दायर भएको थियो। शर्माको कार्यकालमा भ्रष्टाचार भएको विषयमा अध्ययन गरी सरकारले उनलाई हटाइसकेको छ।

प्रकाशित: १६ मंसिर २०७७ ०१:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App